YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 6:2-9

भजनसंग्रह 6:2-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

ममाथि दया गर्नुहोस्‌, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्‌, किनकि मेरा हाड़हरूमा पीडा छ। मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्‍म, हे परमप्रभु, कहिलेसम्‍म पर्खनु? मतिर फर्कनुहोस्‌, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्‌। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्‌। मृत्‍युमा तपाईंको सम्‍झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्‍छ र? आफ्‍नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्‌। हे सबै कुकर्मी हो, मबाट दूर होओ! किनकि म रोएको परमप्रभुले सुन्‍नुभएको छ। परमप्रभुले कृपाको निम्‍ति मेरो पुकार सुन्‍नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 6 पढ्नुहोस्

भजनसंग्रह 6:2-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु; हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ। मेरो प्राण गहिरो वेदनामा छ; कहिलेसम्म, हे याहवेह, कहिलेसम्म? हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्। मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्, चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र? मेरो पीडाले गर्दा म थाकिसकेको छु। रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ। र मेरो आँसुले सिरानी डुबाउँछ। मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्; मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्। हे सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा जाओ; किनकि याहवेहले मेरो रुवाइ सुन्‍नुभएको छ। याहवेहले दयाको निम्ति मेरो पुकार सुन्‍नुभएको छ; याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 6 पढ्नुहोस्

भजनसंग्रह 6:2-9 पवित्र बाइबल (NERV)

हे परमप्रभु, ममाथि दया राख्नुहोस् कारण म रोगी र कमजोर छु। मलाई निको पार्नुहोस्! मेरो हड्डीहरू दुःखीरहेका छन्। मेरो सम्पूर्ण शरीर कामि रहेकोछ, परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ? परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस! तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्। मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने छैनन्। मसान घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। यसैले मलाई निको पार्नुहोस्! हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ। आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें। मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्। दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ। परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 6 पढ्नुहोस्

भजनसंग्रह 6:2-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म गलिसकेको छु, हे परमप्रभु, ममाथि दया गर्नुहोस्! मलाई शक्ति दिनुहोस्, म पूरा थाकिसकेको छु, मेरो प्राण ठूलो कष्‍टमा छ। हे परमप्रभु! कहिलेसम्‍म मेरो सहायता गर्न तपाईंले ढिलो गर्नुहुनेछ? परमप्रभु! आउनुहोस् र मलाई बचाउनुहोस्। आफ्‍नो करुणाले मलाई मृत्‍युबाट बचाउनुहोस्। मृत्‍यु-लोकमा कसैले तपाईंलाई स्‍मरण गर्दैन त्‍यहाँ कसैले तपाईंको प्रशंसा गर्न सक्‍दैन। म अफसोसले गलिसकें, प्रत्‍येक रात मेरो ओछ्यान मेरो आँसुले भिज्‍दछ, आँसुले मेरो सिरानी भिजेको छ। म आँखा देख्‍न सक्‍दिनँ, मेरा शत्रुहरूले गर्दा रुनुपरेकोले मेरो आँखा सुन्‍निएका छन्। हे दुष्‍ट मानिसहरू हो! मदेखि टाढा होओ! म रोएको परमप्रभुले सुन्‍नुहुन्‍छ। मैले सहायताको लागि पुकारेको उहाँले सुन्‍नुहुन्‍छ, उहाँले मेरो बिन्‍तीको उत्तर दिनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 6 पढ्नुहोस्