भजनसंग्रह 5:3-8
भजनसंग्रह 5:3-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ। सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु, र आशामा पर्खन्छु। तपाईं दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न। खराबी तपाईंमा वास गर्न सक्दैन। घमण्डी मानिस तपाईंको सामु टिक्नै सक्दैन। दुष्ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ। झूट बोल्नेहरूलाई तपाईं नाश गर्नुहुन्छ। परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ। तर मचाहिँ तपाईंको अपार कृपाको कारणद्वारा, तपाईंको भवनभित्र पस्नेछु। भक्तिसाथ तपाईंको पवित्र मन्दिरतिर फर्की दण्डवत् गर्नेछु। हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईंको धार्मिकतामा मलाई डोर्याउनुहोस्। तपाईंको मार्ग मेरो सामुन्ने सोझो पारिदिनुहोस्।
भजनसंग्रह 5:3-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ; सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु, र आशामा प्रतीक्षा गर्दछु। तपाईं दुष्टतासँग प्रसन्न हुनुहुने परमेश्वर हुनुहुन्न; दुष्ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्। घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्। दुष्ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ। झूटो बोल्नेहरूलाई तपाईंले नष्ट पार्नुहुन्छ; रक्तपात गर्ने र छलीहरूलाई तपाईं याहवेहले घृणा गर्नुहुन्छ। तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा तपाईंको भवनभित्र आउनेछु; तपाईंको पवित्र मन्दिरतिर म श्रद्धासाथ दण्डवत् गर्नेछु। हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्याउनुहोस्; मेरा शत्रुहरूका कारण, तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।
भजनसंग्रह 5:3-8 पवित्र बाइबल (NERV)
हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु, र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ। हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न। तिनीहरू तपाईंको आदर गर्दैनन्। मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्। तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ। जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ। तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्। तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु। हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्। यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
भजनसंग्रह 5:3-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंले बिहान मेरो सोर सुन्नुहुन्छ, सूर्य उदाउँदा म तपाईंसँग प्रार्थना गर्छु र उत्तर पर्खन्छु। तपाईं दुष्ट काम गर्नेहरूसित खुसी हुने परमेश्वर हुनुहुन्न, तपाईंको सामु कुनै दुष्ट कुरा रहन सक्दैन। घमण्डी मानिसलाई तपाईंले हेर्न सक्नुहुन्न; सबै दुष्ट मानिसहरूलाई तपाईंले घृणा गर्नुहुन्छ। तपाईंले झूटो बोल्ने सबैलाई नाश गर्नुहुन्छ अनि झगडालु र छल गर्नेहरूलाई तपाईंले घृणा गर्नुहुन्छ। तर तपाईंको महान् प्रेमले गर्दा म तपाईंको घरमा पस्न सक्छु, तपाईंको पवित्र मन्दिरमा उपासना गर्न सक्छु र आदरभक्तिसाथ तपाईंलाई दण्डवत् गर्न सक्छु। हे परमप्रभु! मेरा यति धेरै शत्रुहरू छन्। मलाई तपाईंको इच्छाअनुसार चल्न अगुवाइ गर्नुहोस्। म हिँड्नलाई तपाईंको बाटो सोझो पार्नुहोस्।