YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 45:1-9

भजनसंग्रह 45:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उत्तम विषयले मेरो हृदय उत्तेजित भएको छ, जसै म राजाको निम्‍ति गीत गाउँदछु। मेरो जिब्रो सिपालु लेखकको कलम बनेको छ। तपाईं पुरुषहरूमध्‍ये सर्वश्रेष्‍ठ हुनुहुन्‍छ, तपाईंका ओठ अनुग्रहले अभिषेक भएका छन्‌, किनकि परमेश्‍वरले तपाईंलाई सदाकालको निम्‍ति आशिष्‌ दिनुभएको छ। हे परमशक्तिशाली, आफ्‍नो कमरमा आफ्‍नो तरवार भिर्नुहोस्‌, अनि प्रताप र गौरव धारण गर्नुहोस्‌। आफ्‍नो गौरवमा विजयसाथ, सत्‍यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्‌। तपाईंको दाहिने बाहुलीले चमत्‍कारका कार्य प्रदर्शन गरोस्‌। तपाईंका तीक्ष्ण बाणहरूले राजाका शत्रुहरूका मुटु छेडून्‌। जाति-जातिहरू तपाईंका चरणमा झुकून्‌। हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हुनेछ। तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्‍छ, र अधर्मलाई घृणा गर्नुहुन्‍छ। यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‌ता गरेर हर्षको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ। तपाईंका सबै पोशाकहरू मूर्र, एलवा र तेजपातको बास्‍नाले सुगन्‍धित छन्‌। हस्‍ती हाड़ले सुसज्‍जित महलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई प्रसन्‍न तुल्‍याउँछ। राजकन्‍याहरू तपाईंका आदरणीय महिलाहरूमध्‍येका हुन्‌, तपाईंको दाहिनेपट्टि ओपीरको सुनका गहना पहिरेकी राजसी दुलही छिन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 45 पढ्नुहोस्

भजनसंग्रह 45:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब म राजाको निम्ति गीत गाउँदछु; सुन्दर विचारहरूले मेरो हृदय भरिन्छ; मेरो जिब्रो सिपालु लेखकको कलम हुन्छ। तपाईं पुरुषहरूमध्ये सर्वश्रेष्‍ठ हुनुहुन्छ; र तपाईंका ओठहरू अनुग्रहले अभिषिक्त छन्; किनकि परमेश्‍वरले तपाईंलाई सदाकालको निम्ति आशिष् दिनुभएको छ। हे परमवीर योद्धा, तपाईंको कम्मरमा आफ्नो तरवार भिर्नुहोस्; प्रताप र वैभव धारण गर्नुहोस्। तपाईंको वैभवमा विजयका साथ सवार हुनुहोस्; सत्यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्; तपाईंको दाहिने बाहुलीले अचम्मका कामहरू गरोस्। तपाईंका तीखा काँडहरूले राजाका शत्रुहरूका हृदय छेडिओस्; राष्ट्रहरू तपाईंको चरणमा झुकून्। हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हुनेछ। तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्‍टतालाई घृणा गर्नुहुन्छ; यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ। तपाईंका सबै कपडाहरू मूर्र, चन्दन, तेजपातको सुवास्‍नाले सुगन्धित छन्; हस्तीदन्तले सिँगारिएका राजमहलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई हर्षित तुल्याउँछ। तपाईंका सम्मानित स्त्रीहरूमा राजकुमारीहरू छन्; तपाईंको दाहिने हातपट्टि ओपीरका निखुर सुनले सुसज्जित भएकी राजकीय दुलही छिन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 45 पढ्नुहोस्

भजनसंग्रह 45:1-9 पवित्र बाइबल (NERV)

जब म यी कुराहरू राजाको निम्ति लेख्छु, सुन्दर शब्दहरूले मेरो मस्तिष्कमा भरिन्छन्। शब्दहरू मेरो जिब्रोबाट आउँछन्, मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्। तपाईं सबै भन्दा असल हुनुहुन्छ। तपाईं एकदम योग्य वक्ता हुनुहुन्छ। यसकारण परमेश्वरले सदा-सर्वदा तपाईंलाई आशिष दिऊन्! तिम्रो पटुकामा तरवार भिर। तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ। तिमी अचम्मको देखिन्छौ। धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित, तिम्रो शक्तिशाली दाहिने पाखुरा अद्भूत कार्यहरू गर्नलाई दक्ष थियो। तिम्रा काँडहरू तीखा छन्, तिम्रा शत्रुहरूका मुटुभित्रसम्म गाडिने छन्, जसले गर्दा मानिसहरू तिम्रै सम्मुख भूइँमा लड्ने छन्। हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ। धार्मिकता नै तपाईंको शाही राजदण्ड हो। तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर तपाईंका परमेश्वरले आफ्ना साथीहरू माथि राज गर्न चुन्नुभएको छ। तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ। यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ। लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्। तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निख्खुर सुनको मुकुट लगाएर उभिरहेकी छिन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 45 पढ्नुहोस्

भजनसंग्रह 45:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

राजाका निम्‍ति यो गीत लेख्‍दा सुन्‍दर शब्‍दहरू मेरो मनमा भरिंदछन्। कुनै असल लेखकको कलमजस्‍तै मेरो जिब्रोमा कविता तयार छ। तपाईं मानिसहरूमा सबैभन्दा सुन्‍दर हुनुहुन्‍छ, तपाईं बोल्‍नमा निपुण हुनुहुन्‍छ, परमेश्‍वरले तपाईंलाई सधैँ आशिष् दिनुभएको छ। हे सामर्थी राजा! कम्‍मरमा तरवार भिर्नुहोस्, तपाईं गौरव र प्रतापले पूर्ण हुनुहुन्‍छ। सत्‍य र न्‍याय जोगाइराख्‍नलाई, विजय गर्न महिमासाथ सवारी हुनुहोस्! तपाईंको शक्तिले ठूल्‍ठूला विजय हासिल गर्नेछ। तपाईंका काँड तीखा छन्, उनले तपाईंका शत्रुहरूका मुटु छेड्दछन्, जाति-जातिहरू तपाईंको पाउपर्नेछन्। परमेश्‍वरले तपाईंलाई दिनुभएको राज्‍य सदाकाल रहनेछ, न्‍यायसँग तपाईंले आफ्‍ना प्रजामाथि राज्‍य गर्नुहुन्‍छ। जे कुरा असल छ, त्‍यसलाई तपाईंले प्रेम गर्नुहुन्‍छ, जे कुरा खराब छ, त्‍यसलाई तपाईंले घृणा गर्नुहुन्‍छ। त्‍यसैले परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई चुन्‍नुभएको छ र अरू कुनै राजालाई भन्दा बढ्ता आनन्‍द तपाईंलाई दिनुभएको छ। तपाईंको पोशाकबाट मूर्र र तेजपातको जस्‍तो बासना निस्कन्छ, हात्तीका दाँतले सिङ्गारेका राजमहलमा बाजा बजाउनेहरूले तपाईंलाई खुसी पार्दछन्। तपाईंको महलमा मान पाएका स्‍त्रीहरूमध्‍ये राजकुमारीहरू छन्। तपाईंको सिंहासनको दाहिनेपट्टि सबैभन्दा असल सुनका गहना पहिरेर रानी खडा छिन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 45 पढ्नुहोस्