भजनसंग्रह 40:10-13
भजनसंग्रह 40:10-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्वस्तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्दछु। तपाईंको प्रेम र तपाईंको सत्यता म ठूलो सभाबाट लुकाउँदिनँ। हे परमप्रभु, आफ्नो कृपा मदेखि नरोक्नुहोस्। तपाईंको प्रेम र तपाईंको सत्यताले मलाई निरन्तर रक्षा गरोस्। किनकि अनगन्ती कष्टहरूले मलाई घेरेका छन्, मेरा अपराधहरूले मलाई यतिसम्म दबाएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढ़ी छन्, अनि मेरो हृदय हताश भएको छ। हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्। हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्
भजनसंग्रह 40:10-13 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ, मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ। परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्। मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ। यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्! तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।” दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्। तिनीहरू अनगन्ती छन्! मेरा पापहरूले मलाई पक्रियो, अनि म तिनीहरूबाट भाग्न सक्तिन। तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्। मैले मेरो आँट हराएको छु। हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्! हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्!
भजनसंग्रह 40:10-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मुक्तिको शुभ-खबर मैले आफैंले मात्र लुकाइराखेको छैनँ, तपाईंको विश्वासयोग्यता र सहायताबारे मैले सधैँ बोलेको छु। तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंका विश्वासयोग्यता र अटुट प्रेमको बारेमा भन्नलाई मैले मुख खोलेको छु। परमप्रभु! म जान्दछु कि तपाईंले मलाई दयामाया गर्न कहिल्यै छोड्नुहुन्न, तपाईंको प्रेम र विश्वासयोग्यताले मलाई कुशलसाथ सधैँ राख्नेछन्। मलाई धेरै कष्टहरूले घेरेका छन्, ती गन्न नसकिनेछन्! मेरा पापले मलाई पक्रेका छन् र म अब देख्न सक्दिनँ, ती पाप मेरा टाउकोको केशभन्दा धेरै छन् र मैले साहस हराएको छु। मलाई बचाउनुहोस्, परमप्रभु! अहिले मेरो मद्दत गर्नुहोस्!