भजनसंग्रह 40:1-8
भजनसंग्रह 40:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्टि गर्नुभयो र मेरो पुकारा सुन्नुभयो। उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो, र मलाई उभिन दृढ़ स्थान दिनुभयो। उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्नेछन् र डराउनेछन्, र परमप्रभुमा भरोसा राख्नेछन्। त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा आफ्नो भरोसा राख्तछ, जसले अभिमानीहरूतिर हेर्दैन, न त तिनीहरूतिर, जो झूटा देवहरूपट्टि लाग्छन्। हे परमप्रभु मेरा परमेश्वर, तपाईंले गर्नुभएका अचम्मका कामहरू धेरै छन्। तपाईंले हाम्रा निम्ति गर्नुभएका योजनाहरू तपाईंको अगि कसैले वर्णन गर्न सक्दैन। मैले तिनका बारेमा वर्णन गर्न चाहें भने पनि ती घोषणा गर्न सक्नेभन्दा धेरै हुन्छन्। बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ। होमबलि र पापबलिको माग तपाईंले गर्नुभएन। तब मैले भनें, “म यहीँ छु, म आएको छु— धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ। हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म चाहन्छु, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”
भजनसंग्रह 40:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ; उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्नुभयो। उहाँले मलाई खाडलबाट, दलदले हिलोबाट तानेर निकाल्नुभयो; उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो; र मलाई उभिन स्थिर स्थान दिनुभयो। उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो; हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्नेछन्, र उहाँमाथि भरोसा राख्नेछन्। धन्य हो त्यो मानिस, जसले याहवेहमा आफ्नो भरोसा राख्दछ, जसले घमण्डीहरूमा भरोसा राख्दैनन्, जो झूटो देवहरूपट्टि लाग्दैनन्। हे याहवेह, मेरा परमेश्वर, तपाईंले गर्नुभएका अद्भुत कार्यहरू धेरै छन्; तपाईंले हाम्रो निम्ति गर्नुभएका योजनाहरू धेरै छन्। तपाईंको तुलना कसैसँग गर्न सकिँदैन; मैले तपाईंका कामहरूका बारेमा वर्णन गर्नुपर्यो भने, ती घोषणा गर्न असंख्य हुनेछन्। तपाईंले बलिदान र भेटी चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ, तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन। तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु, धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ। म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्वर; तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”
भजनसंग्रह 40:1-8 पवित्र बाइबल (NERV)
मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो। उहाँले मेरा विलापहरू सुन्नुभयो। परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो। उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो। उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो। परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।” धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्, अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्। तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्। त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ। यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ। हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ! तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्। कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्! म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्। परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न। तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न। यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु, जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ। हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु। म तपाईंको व्यवस्था जान्दछु।
भजनसंग्रह 40:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले परमप्रभुको सहायता धैर्यसित पर्खिरहें, तब उहाँले कान थाप्नुभयो र मेरो पुकार सुन्नुभयो। मलाई डरलाग्दो खाडलदेखि, नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्नुभयो। उहाँले मलाई चट्टानमाथि राख्नुभयो र सुरक्षित पार्नुभयो। उहाँले मलाई एउटा नयाँ गीत, हाम्रा परमेश्वरलाई प्रशंसाको स्तुतिगान गाउन सिकाउनुभयो। यो कुरा देख्ने धेरै जनाले चेतावनी पाउनेछन् र तिनीहरू परमप्रभुमा भरोसा राख्नेछन्। जसले परमप्रभुमा भरोसा राख्दछन्, जसले मूर्तिपूजा गर्दैनन् वा जो झूटा देवता पुज्नेहरूको साथ लाग्दैनन्, तिनीहरू खुसी रहन्छन्। हे परमप्रभु! हाम्रा परमेश्वर! तपाईंले हाम्रा निम्ति धेरै काम गर्नुभएको छ, तपाईंजस्तो अरू कोही पनि छैनन्। तपाईंले हाम्रा निम्ति धेरै अचम्मका योजनाहरू बनाउनुभएको छ। ती यति धेरै छन् कि म ती सबैका बारेमा बताउन सक्दिनँ। तपाईंले भेटी र बलिदान चाहनुहुन्न, वेदीमाथि पशुहरू सिङ्गै डढाएको चाहनुहुन्न वा पाप बलि पनि चाहनुहुन्न। बरु तिनका सट्टामा तपाईंको कुरा सुन्नलाई मलाई कान दिनुभएको छ। यसैले मैले जवाफ दिँदैभन्छु। “म यहाँ छु, मेरा लागि तपाईंका शिक्षाहरू व्यवस्थाको पुस्तकमा छन्। मेरो परमेश्वर! म तपाईंको इच्छा पालन गर्न कति मन पराउँछु! तपाईंको शिक्षा मेरो मनमा राख्छु।”