भजनसंग्रह 4:1-8
भजनसंग्रह 4:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे धार्मिक परमेश्वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्! सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस्। ममाथि अनुग्रह गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस्। हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ र असत्य देवताहरूको पछि लाग्नेछौ? सेला तिमीहरूलाई थाहा होस्, परमप्रभुले भक्तजनहरूलाई आफ्नो निम्ति छुट्ट्याउनुभएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्नुहुन्छ। रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्नो हृदयभित्र तलाश गर र शान्त रहो। सेला उचित बलिदानहरू चढ़ाओ, र परमप्रभुमा भरोसा राख। धेरैले सोध्दैछन्, “हामीलाई कसले केही असल कुरा देखाउन सक्छ?” हे परमप्रभु, तपाईंका मुहारको ज्योति हामीमाथि प्रकाशित गर्नुहोस्! तिनीहरूका अन्न र नयाँ दाखमद्यको प्रशस्ततामा हुने आनन्दभन्दा बढ़ी आनन्दले तपाईंले मेरो हृदय भर्नुभएको छ। शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
भजनसंग्रह 4:1-8 पवित्र बाइबल (NERV)
हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्! हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ? मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ। त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ। तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ। यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ। यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ। परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ, र उहाँमा भरोसा राख। धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला?” हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्! हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो। तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो। जब हामीसँग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए। जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउँन दिनुहुन्छ।
भजनसंग्रह 4:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर, मेरा रक्षक! मैले प्रार्थना गर्दा मलाई उत्तर दिनुहोस्। म कष्टमा छँदा तपाईंले मलाई सहायता गर्नुभयो। अहिले ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। ए मानिसहरू! कहिलेसम्म तिमीहरूले मेरो बदनाम गर्छौ? कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र झूटा कुराहरूको पछि लाग्छौ? याद राख, परमप्रभुले धर्मीहरूलाई आफ्नै लागि चुन्नुभएको छ, उहाँलाई पुकार्दा उहाँले मेरो बिन्ती सुन्नुहुन्छ। डरले काँप र पाप गर्न छोड। ओछ्यानमा चुपचाप ढल्केको बेलामा यसबारे गहिरो विचार गर। परमप्रभुलाई उचित बलिदान चढाऊ र उहाँमा भरोसा राख। धेरैले यसरी प्रार्थना गर्छन्: “हे परमप्रभु! हामीलाई धेरै-धेरै आशिष् दिनुहोस्, हामीमाथि दयाको दृष्टि राख्नुहोस्!” तर तिनीहरूले आफ्ना अन्न र मद्यबाट पाउन सक्ने कुनै पनि आनन्दभन्दा तपाईंले मलाई दिनुभएको आनन्द धेरै नै बढी छ। ढल्कँदा म शान्तिसित निदाउँछु। हे परमप्रभु! तपाईंले मात्र मलाई पूरा सुरक्षा र कुशलसित राख्नुहुन्छ।