भजनसंग्रह 39:1-13
भजनसंग्रह 39:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले भनें, “म आफ्नो चालचलनमा सावधान रहनेछु, र आफ्नो जिब्रोलाई पापबाट रोक्नेछु। दुष्टहरू मेरो सामुन्ने रहुञ्जेल म आफ्नो मुखमा महला लाएर बस्नेछु।” तर जब म मौन र शान्त बसें, अनि असल कुरा पनि बोलिनँ, मेरो पीडा झन् बढ़ेर आयो। मभित्र मेरो हृदय सन्तापित भयो, जति सोचे त्यति नै मभित्र आगो दन्कियो। तब मैले मुख खोलेर भनें: हे परमप्रभु, मेरो जीवनको अन्त देखाउनुहोस्। मेरो जीवनका अब कति दिन बाँकी छन्, र मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस्। तपाईंले मेरो जीवनकाल बित्ताभरको बनाउनुभएको छ, र मेरो आयु तपाईंको दृष्टिमा केही पनि होइन। मानिसको जीवन एक मुट्ठी सासमा मात्र अड़ेको छ। सेला मानिस छायाजस्तै मात्र हिँड्डुल गर्छ, त्यसले व्यर्थमा हलचल गर्दछ, त्यसले धन-सम्पत्ति थुपार्छ, तर त्यो बटुल्ने को हुन्छ, त्यसले जान्दैन। अब हे परमप्रभु, म केको निम्ति प्रतीक्षा गर्दछु? मेरो आशा त तपाईंमा नै छ। मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्, मूर्खहरूका तिरस्कारको पात्र मलाई नबनाउनुहोस्। म मौन थिएँ, मैले आफ्नो मुख खोलिनँ, किनभने त्यो गर्ने तपाईं नै हुनुहुन्छ। तपाईंको प्रहार मबाट हटाउनुहोस्, तपाईंको हातको मुक्काबाट म पराजित भएको छु। तपाईंले मानिसलाई त्यसका पापको निम्ति हप्काउनुहुन्छ र ताड़ना दिनुहुन्छ, कीराले खाएझैँ त्यसको सम्पत्तिलाई सखाप पारिदिनुहुन्छ। प्रत्येक मानिस एक मुट्ठी सास मात्र हो। सेला “हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मदतको लागि मैले गरेको क्रन्दन सुनिदिनुहोस्, मेरो आँसु त्यसै नटारिदिनुहोस्, किनकि मेरा सबै पुर्खाहरूजस्तै म एक प्रवासी हुँ, एउटा विदेशीझैँ म तपाईंसित वास गर्दछु। म बिदा हुन अघि र मेरो नाम मेटिन अघि नै मबाट क्रोधको दृष्टि हटाउनुहोस्, र म फेरि हर्षित हुन सकूँ।”
भजनसंग्रह 39:1-13 पवित्र बाइबल (NERV)
मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।” यसैले मैले केही भनिनँ। मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ। तर मेरो मनोव्याथा अझ बढ्यो। म एकदमै रिसाएको थिएँ अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ, यसैले मैले केही भनें। हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ? भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु? मेरो आयु कति छोटो छ, म जान्न पाऊँ! परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो। तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन! हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं, तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ। यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ? तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ। हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्। मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्। म केही पनि भन्ने छैन। म आफ्नो मुख खोल्ने छैन, म आफ्नो मुख खोल्ने छैन। परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्। तर परमेश्वर, मलाई सजाय दिन रोक्नु होस्, यदि तपाईं रोकिनु भएन भने मलाई नष्ट पार्नुहुनेछ! हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्। जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ। हो, हाम्रो जीवन चाँडै नै हराएर जाने बादल जस्तो छ। हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्! मेरा ती विलापका शब्दहरू सुन्नुहोस्, मेरा आँसुहरू हेर्नुहोस्। तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ। मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु। हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस् अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।
भजनसंग्रह 39:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले भनें, “म जे काम गर्छु, त्यसमा होशियार रहनेछु; मेरो जिब्रोद्वारा म पाप गर्नेछैनँ, दुष्ट मानिसका कानमा पर्नेगरी म केही भन्नेछैनँ।” म चुप लागें, एक शब्द बोलिनँ, असल कुराको बारेमा पनि केही भनिनँ, तर मेरो कष्ट अझै बढेर गयो। अनि फिक्रीले मलाई विवश पार्यो। म जति सोच्थें, उति कष्टित हुन्थें, मैले यसरी नसोधी भएन, “परमप्रभु! म कहिलेसम्म बाँच्नेछु? म कहिले मर्नेछु? मेरो जीवन कहिले अन्त हुन्छ, सो मलाई भन्नुहोस्।” तपाईंले मेरो जीवन कति छोटो बनाउनुभएको छ। तपाईंको दृष्टिमा मेरो जीवनकाल केही होइन। साँच्चै, हरेक मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन। छायाँजस्तो मात्र हो! उसले गरेको काम केही मूल्यको छैन। उसले धन बटुल्छ तर त्यो कसले बटुल्छ, सो जान्दैन। प्रभु, म के कुराको आशा राख्न सक्छु र? तपाईंमा म आशा राख्छु। मलाई मेरो सारा पापदेखि बचाउनुहोस्। मूर्खहरूले मेरो हाँसो गर्न नपाऊन्। म चुप लाग्नेछु, एक शब्द बोल्नेछैनँ किनभने मलाई यस्तो कष्ट दिने तपाईं हुनुहुन्छ। मलाई अरू दण्ड नदिनुहोस्। तपाईंको प्रहारले म मर्न आँटेको छु। तपाईंले आफ्ना हप्काइद्वारा मानिसलाई उसका पापको दण्ड दिनुहोस्, अनि उसले मन पराएका कुरालाई किराले जस्तै नष्ट पारिदिनुहुन्छ। साँच्चै, मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन! हे परमप्रभु! मेरो प्रार्थना सुन्नुहोस्। मेरो पुकार कान थापेर सुन्नुहोस्। म रुँदा मेरो सहायता गर्न आउनुहोस्। मेरा सबै पुर्खाहरूजस्ता म पनि केही दिनको लागि मात्र तपाईंको पाहुना हुँ। मलाई छोडिदिनुहोस् र मर्नुभन्दा अघि, मेरो अन्त हुनुभन्दा अघि मैले केही आनन्द पाउन सकूँ।