भजनसंग्रह 37:34-40
भजनसंग्रह 37:34-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड़। प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्टको विनाश तिम्रै आँखाले देख्नेछ। मैले एक जना दुष्ट र अत्याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्तो थियो। तर त्यो चाँड़ै मर्यो र रहेन। मैले खोजें, तर त्यो पाउन सकिएन। निर्दोष मानिसलाई विचार गर, र सत्यनिष्ठ जनलाई हेर, किनभने शान्तिप्रिय मानिसको सन्तान हुन्छ। तर अपराधीहरूचाहिँ सखापै हुनेछन्, दुष्टका सन्तानचाहिँ बहिष्कृत हुनेछन्। धर्मी जनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्छ, दु:खको समयमा उहाँ नै तिनीहरूको शरणस्थान हुनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मदत गर्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ, उहाँले तिनीहरूलाई दुष्टबाट छुटाएर तिनीहरूलाई बचाउनुहुन्छ, किनभने तिनीहरूले उहाँको शरण लिन्छन्।
भजनसंग्रह 37:34-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहमा आशा गर र उहाँकै मार्गमा हिँड; प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्टको विनाश तिम्रै आँखाले देख्नेछौ। मैले एक जना दुष्ट र निर्दयी मानिसलाई आफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु, तर त्यो चाँडै मर्यो, र यसको ठाउँमा केही पनि रहेन; यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ। निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर; किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्। तर सबै पापीहरू नष्ट हुनेछन्; दुष्टहरूका निम्ति कुनै सन्तति हुनेछैन। धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ; सङ्कष्टको समयमा उहाँ नै तिनीहरूको किल्ला हुनुहुन्छ। याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ; उहाँले तिनीहरूलाई दुष्टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ; किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।
भजनसंग्रह 37:34-40 पवित्र बाइबल (NERV)
परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख। परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ, उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ। मैले एक बलवान कपटी मान्छे देखें। ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो। तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिनँ। शुद्ध र ईमान्दार बन। शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्। तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्। अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्। धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ। जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ। परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ। धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्, अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।
भजनसंग्रह 37:34-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीले परमप्रभुमा आशा राख र उहाँका आज्ञा पालन गर। त्यस देशमाथि तिमीलाई अधिकार दिएर उहाँले तिम्रो आदर गर्नुहुनेछ र दुष्टहरू भागेको तिमीले देख्नेछौ। एकपल्ट म एक जना दुष्ट मानिसलाई चिन्दथें, जसले अरूलाई खुबै सताउँथ्यो, लेबनानको देवदारुजस्तै त्यो सबैभन्दा उच्च भएको थियो। तर पछि म त्यहाँबाट भएर जाँदा त्यो त्यहाँ थिएन, मैले त्यसलाई खोजें तर भेट्टाउन सकिनँ। भलो मानिसलाई हेर, धर्मी मानिसलाई ध्यानसित हेर, शान्तिप्रिय मानिसका आफ्ना साखा-सन्तान हुन्छन्। तर पापीहरू नाश भएर जान्छन्। अनि तिनका साखा-सन्तानको नाउँ-निशाना हराएर जान्छ। परमप्रभुले धर्मी मानिसलाई बचाउनुहुन्छ र आपत्को बेलामा तिनीहरूको रक्षा गर्नुहुन्छ। उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ। दुष्ट मानिसदेखि तिनीहरूलाई बचाउनुहुन्छ किनभने रक्षाको लागि तिनीहरू उहाँको शरण पर्छन्।