YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 37:12-29

भजनसंग्रह 37:12-29 पवित्र बाइबल (NERV)

दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्। ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्। तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ। उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ। दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्। ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्। ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्। तर तिनीहरूको धनुहरू भाँचिने छन् र तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ। दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा, कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्। किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्, तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ। परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ, तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ। जब सङ्कटहरू आउँछन्, धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्। अनिकालको समयमा पनि धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ। तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्, अनि तिनीहरू नष्ट हुने नै छन्। तिनीहरूका घाँटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्। तिनीहरू सबै नाश हुनेछन्। दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्। यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्। तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्। सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ। परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ। यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ, र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ। म जावन थिएँ तर अब वृद्ध भएको छु, तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन। मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन। धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन् अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्। यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने तिमी सँघै बाँच्ने छौ। परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ। धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्। तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्

भजनसंग्रह 37:12-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्‌यन्‍त्र रच्‍तछन्‌, र उनीहरूमाथि दाह्रा किट्‌दछन्‌, तर प्रभुले तिनीहरूलाई हाँसोमा उड़ाइदिनुहुन्‍छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्‍नुहुन्‍छ। दु:खी र कङ्गालीहरूलाई ढाल्‍न, र सत्‍यको बाटोमा हिँड्‌नेहरूलाई मार्न, दुष्‍टहरूले तरवार थुत्‍छन्‌, र धनुमा ताँदो चढ़ाउँछन्‌। तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेड्‌नेछन्‌, र तिनीहरूका धनु भाँचिनेछन्‌। धेरै दुष्‍टहरूका सम्‍पत्तिको प्रचुरताभन्‍दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो। किनकि दुष्‍टहरूका पाखुरा भाँचिनेछन्‌, तर धर्मीहरूलाई परमप्रभुले थामिराख्‍नुहुन्‍छ। परमप्रभुले निर्दोष मानिसहरूको वास्‍ता गर्नुहुन्‍छ, र तिनीहरूको अधिकार सधैँभरि रहनेछ। आपत्‌का दिनमा तिनीहरू लाजमा पर्नेछैनन्‌, र अनिकालका दिनमा तिनीहरूसँग प्रशस्‍त हुनेछ। तर दुष्‍टहरू त नष्‍ट हुनेछन्‌, परमप्रभुका शत्रुहरूचाहिँ चउरको हरियालीजस्‍तै छन्‌, तिनीहरू लोप भइजानेछन्‌, धूवाँजस्‍तै तिनीहरू लोप हुनेछन्‌। दुष्‍टहरूले ऋण लिन्‍छन्‌, र तिर्दैनन्‌, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्‍छन्‌। परमप्रभुबाट आशिष्‌ पाउनेहरूले देशमाथि अधिकार गर्छन्‌, तर उहाँबाट श्राप पाउनेहरूचाहिँ पन्‍साइनेछन्‌। यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्‍यो भने उहाँले त्‍यसका पाइला दह्रिला पार्नुहुन्‍छ। त्‍यसलाई ठेस लाग्‍यो भने पनि त्‍यो लोट्‌दैन, किनकि परमप्रभुले आफ्‍नो हातले समातेर त्‍यसलाई थाम्‍नुहुन्‍छ। म जवान थिएँ, अब म वृद्ध भएको छु, तर धर्मी जनहरू त्‍यागिएका वा तिनका सन्‍तानले मागेर खानुपरेको मैले कहिल्‍यै देखेको छैनँ। तिनको मुट्ठी सधैँ उदार रहन्‍छ, र तिनले खुला रूपले पैँचो दिन्‍छन्‌, र तिनका सन्‍तानले आशिष्‌ पाउनेछन्‌। खराबीदेखि फर्केर अलग्‍ग बस र भलाइ गर, र तिमी सदासर्वदा देशमा बस्‍नेछौ। किनकि परमप्रभु न्‍यायीलाई प्रेम गर्नुहुन्‍छ, र आफ्‍नो विश्‍वाशयोग्यहरूलाई उहाँले त्‍याग्‍नुहुन्‍न। तिनीहरू सधैँ सुरक्षित राखिनेछन्‌, तर दुष्‍टका सन्‍तान भने बहिष्‍कृत हुनेछन्‌। धर्मीहरूले देश अधिकार गर्नेछन्‌, र त्‍यहाँ सधैँभरि वास गर्नेछन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्

भजनसंग्रह 37:12-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दुष्‍ट मानिसले भलो मानिसको विरुद्धमा जाल रच्‍दछ र घृणाले उसलाई हेर्दछ। तर परमप्रभुले दुष्‍ट मानिसहरूको हाँसो उडाउनुहुन्‍छ किनभने तिनीहरूचाहिँ नाश हुनेछन् भनी उहाँले जान्‍नुहुन्‍छ। दरिद्र र अभावमा परेका मानिसहरू मार्नलाई र असल काम गर्नेहरूलाई नाश पार्नलाई दुष्‍टहरूले आफ्‍ना तरवारहरू निकाल्‍दछन् र धनु-काँड ताक्‍दछन्। तिनीहरू आफ्‍ना तरवारहरूले आफ्‍नै मुटु छेडिएर मर्नेछन्, तिनीहरूका धनु-काँड चकनाचुर हुनेछन्। भलो मानिससँग भएको थोरै थोक सबै दुष्‍टहरूले जम्‍मा गरेका धेरै धनभन्दा बढी हो किनभने परमप्रभुले दुष्‍टको बल खोस्‍नुहुनेछ; तर असल मानिसहरूलाई रक्षा गर्नुहुनेछ। परमप्रभुले आफ्‍ना आज्ञा मान्‍नेहरूको वास्‍ता राख्‍नुहुनेछ र देश सधैँभरि तिनीहरूको अधिकारमा रहनेछ। तिनीहरूले दिन र काल खराब हुँदा कष्‍ट पाउनेछैनन्, अनिकालको बेलामा तिनीहरूसँग पुग्‍दो चीजबीज रहनेछन्। तर दुष्‍टहरू मरिजानेछन्, जङ्गलका फूलहरूझैँ परमप्रभुका शत्रुहरू हराउनेछन् र धुवाँझैँ तिनीहरू बिलाएर जानेछन्। दुष्‍ट मानिसले ऋण लिएर कहिल्‍यै फिर्ता दिँदैन, तर भलो मान्‍छेले मुट्ठी खोलेर दान दिँदछ। परमप्रभुबाट आशिष् पाएकाहरूले देशमाथि अधिकार गर्नेछन्, तर सराप पाएकाहरू भने धपाइनेछन्। परमप्रभुले मानिसलाई ऊ जानुपर्ने बाटोमा डोर्‍याउनुहुन्‍छ र जसले उहाँलाई खुसी पार्दछ, उसलाई रक्षा गर्नुहुन्‍छ। तिनीहरू लडे भने पनि त्‍यत्तिकै लडिरहनेछैनन् किनभने परमप्रभुले तिनीहरूलाई मद्दत गरेर उठाउनुहुनेछ। म अब बुढो भएको छु, म धेरै दिन बाँचिसकें, तर कहिल्‍यै पनि कुनै भलो मानिसलाई परमप्रभुले फ्‍याँक्‍नुभएको वा तिनका सन्‍तानले भिख मागेको मैले देखेको छैनँ। भलो मानिसले सबै समय खुला हातले बाँड्छ र ऋण दिन्‍छ र तिनीहरूका सन्‍तान आशिषित हुनेछन्। खराबी गर्न छोड र भलाइ गर र तिम्रा सन्‍तानले सधैँभरि देशमा बास गर्नेछन् किनभने ठीक कुरालाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ र आफ्‍ना विश्‍वासयोग्‍य प्रजालाई त्‍याग्‍नुहुन्‍न, उहाँले सधैँ तिनीहरूको रक्षा गर्नुहुन्‍छ र दुष्‍टका सन्‍तानचाहिँ भाग्‍नुपर्नेछ। धर्मी मानिसले देशमाथि अधिकार गर्नेछ र त्‍यहाँ सदा बास गर्नेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्