YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 35:1-16

भजनसंग्रह 35:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्‌, मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्‌। कवच पहिरनुहोस्‌ र ढाल लिनुहोस्‌, र मेरो सहायतामा खड़ा हुनुहोस्‌। मलाई खेद्‌नेहरूका विरुद्धमा भाला र बर्छा उठाउनुहोस्‌, मेरो प्राणलाई भन्‍नुहोस्‌, “म तेरो उद्धार हुँ।” मेरो ज्‍यानको खेदो गर्नेहरू शर्ममा परून्‌, र तिनीहरू अपमानित होऊन्‌। मेरो विरुद्धमा उपाय रच्‍नेहरू लखेटिऊन्‌ र अलमल्‍ल परून्‌। तिनीहरू बतासले उड़ाएको भुसजस्‍ता होऊन्‌, र परमप्रभुका स्‍वर्गदूतले तिनीहरूलाई लखेटून्‌। तिनीहरूको बाटो अँध्‍यारो र चिप्‍लो होस्‌, र परमप्रभुका दूतले तिनीहरूलाई लखेटी नै रहून्‌। किनकि विनाकारण तिनीहरूले मलाई फसाउनलाई जाल बिछाए, र विनाकारण मेरो प्राण लिन तिनीहरूले खाड़ल खने। अकस्‍मात्‌ तिनीहरूमाथि सर्वनाश आइपरोस्‌, तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफै परून्‌, तिनीहरू आफै त्‍यस खाड़लमा परेर नष्‍ट होऊन्‌। तब मेरो प्राणचाहिँ परमप्रभुमा हर्षित हुनेछ, र उहाँबाटै भएको उद्धारमा उल्‍लसित हुनेछ। मेरा समस्‍त जीवनले भन्‍नेछ, “हे परमप्रभु, तपाईंजस्‍तो को छ र? निर्बललाई आफूभन्‍दा शक्तिशाली मानिसबाट तपाईं बचाउनुहुन्‍छ, अनि निर्बल र दरिद्रलाई अत्‍याचारीबाट उद्धार गर्नुहुन्‍छ।” निर्दयी साक्षीहरू अगि आउँछन्‌। मैले जान्‍दै नजानेका कुरा तिनीहरू मलाई सोध्‍छन्‌। तिनीहरू भलाइको बदला मलाई खराबी गर्छन्‌, र मेरो प्राणलाई अत्‍यन्‍त निराश छोड्‌छन्‌। तापनि तिनीहरू बिरामी हुँदा, मैले भाङ्‌ग्राको वस्‍त्र लगाएँ, र उपवास बसेर आफूलाई दीन बनाएँ। जब मेरा प्रार्थना उत्तरविनै फर्केर आए, मेरा मित्र र मेरो भाइको निम्‍ति शोक गरेझैँ म शोक गर्दै हिँडें। आफ्‍नी आमाको निम्‍ति विलाप गरेझैँ शिर झुकाएर मैले शोक मनाएँ। तर जब मैले ठेस खाएँ, हाँसो गर्दै तिनीहरू मेरो विरुद्धमा एकत्र भए। मैले थाहै नपाएको बेलामा आक्रमणकारीहरू मेरो विरुद्धमा जम्‍मा भए। तिनीहरूले लगातार मेरो निन्‍दा गरे। अधर्मीझैँ तिनीहरूले वैमनस्‍यपूर्वक निन्‍दा गरे, तिनीहरूले ममाथि दाह्रा किटे।

शेयर गर्नुहोस्
भजनसंग्रह 35 पढ्नुहोस्

भजनसंग्रह 35:1-16 पवित्र बाइबल (NERV)

हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्। मेरा लडाईँहरू लडिदिनु होस्! हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्। उठ्नु होस् र मलाई सहायता गर्नुहोस्। भाला र बर्छा लिनुहोस् अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लड्नु होस्। परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।” कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्। तिनीहरूलाई हावाले उडाउने भूस जस्तो बनाउनु होस्। तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्। तिनीहरूका बाटोहरू अँध्यारो चिप्ला हुन्। परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्। मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे। यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्। तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्। तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्। तब म परमप्रभुमा हर्षित रहनेछु। जब उहाँले मलाई बचाउनु हुनेछ म हर्षित हुनेछु। मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ, “हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ, तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस् तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।” झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्, म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्। मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्। हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्। जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे। मैले उपवास बसेर आफ्नो शोक प्रकट गरें। (हुनसक्छ मैले तिनीहरूका निम्ति गर्को प्रार्थनाको उत्तर पाईंन।) मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें। कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ। मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ। म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें। तर जब मैले भूल गरें ती मानिसहरू ममाथि हाँसे। तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्, म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ। तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे। तिनीहरूले गाली गरे र मेरो खिसी गरे। तिनीहरूले मतर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।

शेयर गर्नुहोस्
भजनसंग्रह 35 पढ्नुहोस्

भजनसंग्रह 35:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु, मेरा विरोधीहरूलाई तपाईंले विरोध गर्नुहोस्, मसँग लड्‍नेहरूसँग तपाईं लड्‍नुहोस्! तपाईंका ढाल, झिलम भिर्नुहोस् र मेरो मद्दतको निम्‍ति आउनुहोस्। मलाई खेद्‌नेहरूको विरुद्धमा तपाईंले आफ्‍नो भाला र बन्‍चरो उठाउनुहोस्। तपाईंले मलाई बचाउनुहुन्‍छ भनी प्रतिज्ञा गर्नुहोस्। मलाई मार्न खोज्‍नेहरूको हार र अपमान होस्। मलाई जाल गर्नेहरू पिठ फर्काएर भाग्‍नुपरोस् र तिनीहरू अन्‍योलमा परून्! परमप्रभुका दूतले खेद्दा तिनीहरू बतासले उडाएका परालझैँ होऊन्! परमप्रभुका दूतले तिनीहरूलाई हिर्काएको बेलामा तिनीहरू हिँड्‍ने बाटो अँध्‍यारो र चिप्‍लो होस्! बिनाकारण तिनीहरूले मलाई पासो थापे, मलाई पक्रनलाई एउटा गहिरो खाडल खने। तर तिनीहरूले थाहा पाउनुअघि नै तिनीहरू नाश पारिनेछन्, आफूले थापेका पासोमा आफैं पर्छन् र आफैं नाशको खाडलमा ओइरिनेछन्! परमप्रभुको कारणले म खुसी हुनेछु, उहाँले मलाई बचाउनुभएकोले म हर्षित हुनेछु। आफ्‍नो पूरा हृदयले म परमप्रभुलाई भन्‍नेछु, “तपाईंजस्‍तो अरू कोही छैन। तपाईंले निर्धालाई बलियोबाट र दरिद्रलाई सताउनेहरूबाट रक्षा गर्नुहुन्‍छ।” दुष्‍ट मानिसहरूले मेरो विरुद्धमा गवाही दिन्‍छन्। मैले नजानेका अपराधको दोष ममाथि ल्‍याउँछन्। तिनीहरूले मलाई भलाइको साटोमा खराबी गर्छन् र म मनको पीडामा डुब्‍दछु। तर तिनीहरू बिरामी हुँदा मैले शोक गरें, मैले खान छोडें, आफ्‍नो शिर निहुराएर मैले प्रार्थना गरें। जसरी कुनै भाइ वा मित्रको लागि प्रार्थना गर्थें, त्‍यसरी नै मैले प्रार्थना गरें। आमाको निम्‍ति शोक गर्नेले जस्‍तै मैले शोक गर्दै निहुरेर हिँडें। तर म कष्‍टमा पर्दा तिनीहरू खुसी हुन्‍थे र खिसी गर्न मेरो चारैपट्टि भेला हुन्‍थे, नचिनेका मानिसहरूले मलाई कुटे अनि कुटिरहे। कुनै हात खुट्टा नचल्‍ने मानिसलाई खिसी गरेझैँ तिनीहरूले मलाई घृणाको दृष्‍टिले हेरे।

शेयर गर्नुहोस्
भजनसंग्रह 35 पढ्नुहोस्