भजनसंग्रह 32:3-7
भजनसंग्रह 32:3-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्दनले मेरा हाड़हरू खिइएर गए। किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भएझैँ सुकिसकेको थियो। सेला तब मैले आफ्नो पाप तपाईंको सामुन्ने स्वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला यसकारण हरेक भक्तजनले, जबसम्म तपाईंलाई प्राप्त गर्न सकिन्छ, तपाईंमा प्रार्थना गरोस्। अनि दु:ख-कष्ट र उर्लेको भेलले त्यसलाई छुनेछैन। तपाईं मेरो आश्रय हुनुहुन्छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। सेला
भजनसंग्रह 32:3-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ, तब मेरो दिनभरिको विलौनाले गर्दा मेरा हाडहरू मक्किए। किनकि दिनरात तपाईंको बाहुलीको भार ममाथि रह्यो; मेरो शरीरको शक्ति गर्मीको तापलेझैँ सुकिगएको छ। सेला तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ, र मेरो अधर्म लुकाइ राखिनँ। मैले भनेँ, “म याहवेहको सामु मेरो अपराधहरू स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ, सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्; निश्चय नै उर्लेको डरलाग्दो भेलले तिनीहरूलाई छुनेछैन। तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ; तपाईंले मलाई सङ्कष्टबाट रक्षा गर्नुहुन्छ; तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला
भजनसंग्रह 32:3-7 पवित्र बाइबल (NERV)
परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ। परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ। तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ। परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ। अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो! यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ। हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ। तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ। यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
भजनसंग्रह 32:3-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले पाप स्वीकार नगरेको बेलामा दिनभरि रोएकोले म थाकिसकेको थिएँ। हे परमप्रभु! रात-दिन तपाईंले मलाई दण्ड दिनुभयो। गर्मीको दिनमा पानी सुकेझैँ मेरो बल पूरा सुकिगएको छ। तब तपाईंको सामु मैले मेरो पाप मानिलिएँ, मेरो दुष्ट कर्महरू लुकाइनँ, तर ती तपाईंअघि स्वीकार गर्ने निश्चय गरें र तपाईंले मेरा सारा पाप क्षमा गर्नुभयो। तपाईंका सारा भक्त जनले खाँचो पर्दा तपाईंलाई प्रार्थना गर्नुपर्छ। कष्टको ठूलो भल बगिआउँदा, त्यसले तिनीहरूलाई छुन सक्दैन। तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईंले मलाई कष्टदेखि बचाउनुहुन्छ। तपाईंले मलाई रक्षा गर्नुभएको हुनाले म तपाईंको मुक्तिबारे जोडसँग गाउँछु।