भजनसंग्रह 32:1-11
भजनसंग्रह 32:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धन्य त्यो व्यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन्। त्यो मानिस धन्य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, र जसको मनमा छलकपट छैन। जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्दनले मेरा हाड़हरू खिइएर गए। किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भएझैँ सुकिसकेको थियो। सेला तब मैले आफ्नो पाप तपाईंको सामुन्ने स्वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला यसकारण हरेक भक्तजनले, जबसम्म तपाईंलाई प्राप्त गर्न सकिन्छ, तपाईंमा प्रार्थना गरोस्। अनि दु:ख-कष्ट र उर्लेको भेलले त्यसलाई छुनेछैन। तपाईं मेरो आश्रय हुनुहुन्छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। सेला म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु। समझै नभएको घोडा अथवा खच्चरजस्ता तिमी नहोऊ, जसलाई रोक्न लगाम र डोकरि चाहिन्छन्, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्। दुष्टहरूले धेरै कष्ट भोग्नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने अचूक कृपाले घेर्नेछ। हे धर्मात्मा हो, परमप्रभुमा आनन्दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्दसाथ जयजयकार गर!
भजनसंग्रह 32:1-11 पवित्र बाइबल (NERV)
त्यो मानिस खुशी हुन्छ, जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्। त्यो मानिस खुशी हुन्छ, जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ। त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन। परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ। परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ। तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ। परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ। अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो! यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ। हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ। तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ। यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु। परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु। म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु। यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ। ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ। ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।” दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्। तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ, जसले परमप्रभुमाथि भरोसा गर्छन्। हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
भजनसंग्रह 32:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ज-जसको पाप क्षमा गरिएका छन् र दुष्कर्म माफ भएका छन्, तिनीहरू कति खुसी छन्। जुन मानिसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, र जुन मानिसमा केही छलकपट छैन, ऊ कति खुसी हुन्छ। मैले पाप स्वीकार नगरेको बेलामा दिनभरि रोएकोले म थाकिसकेको थिएँ। हे परमप्रभु! रात-दिन तपाईंले मलाई दण्ड दिनुभयो। गर्मीको दिनमा पानी सुकेझैँ मेरो बल पूरा सुकिगएको छ। तब तपाईंको सामु मैले मेरो पाप मानिलिएँ, मेरो दुष्ट कर्महरू लुकाइनँ, तर ती तपाईंअघि स्वीकार गर्ने निश्चय गरें र तपाईंले मेरा सारा पाप क्षमा गर्नुभयो। तपाईंका सारा भक्त जनले खाँचो पर्दा तपाईंलाई प्रार्थना गर्नुपर्छ। कष्टको ठूलो भल बगिआउँदा, त्यसले तिनीहरूलाई छुन सक्दैन। तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईंले मलाई कष्टदेखि बचाउनुहुन्छ। तपाईंले मलाई रक्षा गर्नुभएको हुनाले म तपाईंको मुक्तिबारे जोडसँग गाउँछु। परमप्रभु भन्नुहुन्छ, “तँ जानुपर्ने बाटो म तँलाई सिकाउँछु, म तँलाई शिक्षा र सल्लाह दिनेछु, घोडा वा खच्चरजस्तो निर्बुद्धि नबन्, जसलाई लगाम र डोरी लाएर वशमा राखी भनेकोअनुसार गर्न लाउनुपर्छ?” दुष्टले कष्ट भोग्नुपर्नेछ तर ज-जसले परमप्रभुको भरोसा गर्छन्, तिनीहरूलाई उहाँको अटुट प्रेमले रक्षा गर्दछ। हे धर्मीहरू हो! परमप्रभुले जे गर्नुभयो, त्यसको कारणले तिमीहरू खुसी भएर आनन्द गर। उहाँका आज्ञा मान्नेहरू तिमीहरू हर्षले कराओ!