भजनसंग्रह 27:7-14
भजनसंग्रह 27:7-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, जब म उच्च सोरले कराउँछु, तब सुन्नुहोस्, ममाथि कृपालु हुनुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु। तपाईंको मुहार मबाट नलुकाउनुहोस्, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्कार नगर्नुहोस्, मलाई नत्याग्नुहोस्, हे मेरा उद्धारकर्ता परमेश्वर! मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्, र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्याउनुहोस्। मेरा शत्रुहरूको इच्छामा मलाई नछोडिदिनुहोस्, किनकि झूटा गवाहहरू मेरो विरुद्धमा उठेका छन्, अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्छन्। मलाई अझ पनि विश्वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्नेछु। परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्, र परमप्रभुकै प्रतीक्षा गर।
भजनसंग्रह 27:7-14 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्। मलाई जवाफ दिनुहोस्। मलाई कृपादान गर्नुहोस्। हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु। म तपाईं समक्ष बोल्न आएँ। हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्, मलाई साथ दिनुहोस्। मलाई टाढा नधकेल्नुहोस्, मलाई नत्याग्नु होस्, मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ। मेरो माता-पिताले मलाई छोडी गए। तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो। हे परमप्रभु, मेरा शत्रुहरू छन्। यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्। मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्। मेरा शत्रुहरूले ममाथि आक्रमण गरे। मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्। परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्। मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु। परमप्रभुको सहयोगलाई पर्ख, बलियो र साहसी होऊ, अनि परमप्रभुको सहयोग पर्ख।
भजनसंग्रह 27:7-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! मैले तपाईंलाई पुकारेको बेलामा सुन्नुहोस्! मलाई दयामाया गरेर आफ्नो उत्तर दिनुहोस्! “आइज र मलाई दण्डवत् गर्,” तपाईंले भन्नुहुँदा, “म आउनेछु, हे परमप्रभु,” भनी मैले उत्तर दिएँ। मदेखि नलुक्नुहोस्! मसँग नरिसाउनुहोस्, आफ्नो दासलाई नफर्काउनुहोस्। तपाईं मेरो सहारा बन्नुभएको छ, मलाई नछोड्नुहोस्, मलाई नत्याग्नुहोस्, हे परमेश्वर, मेरो उद्धारक! मेरा आमा-बुबाले मलाई त्याग्न सक्लान्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ। मैले के गरेको तपाईं चाहनुहुन्छ, हे परमप्रभु, मलाई सिकाउनुहोस्। मलाई कुशल मार्गमा डोर्याउनुहोस् किनभने मेरा शत्रु धेरै छन्। मलाई मेरा शत्रुहरूका हातमा नछोड्नुहोस्, तिनीहरू ममाथि झूटा र धम्कीका कुरा लिएर आइहाल्छन्। म यो जान्दछु कि परमप्रभुको भलाइ यही जीवनमा म देख्न पाउनेछु। परमप्रभुमा भरोसा गर, उहाँमा विश्वास राख। हरेस नखाऊ, परमप्रभुमा भरोसा गर।