भजनसंग्रह 21:1-7
भजनसंग्रह 21:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंकै सामर्थ्यमा राजा आनन्दित छन्, र तपाईंले दिनुभएका विजयहरूमा उनी अति उल्लसित छन्। तपाईंले उनको मनोरथ पूर्ण गरिदिनुभएको छ, र उनका मुखको बिन्ती तपाईंले इन्कार गर्नुभएको छैन। सेला तपाईंले उत्तम आशिष् लिएर उनलाई स्वागत गर्नुभयो। तपाईंले निखुर सुनको शिरपेच उनको शिरमा लगाइदिनुभयो। उनले तपाईंसँग जीवन मागे, अनि तपाईंले उनलाई सदासर्वदाको आयु दिनुभयो। तपाईंले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान् छ। तपाईंले उनलाई वैभव र ऐश्वर्य प्रदान गर्नुभएको छ। साँच्चै तपाईंले उनलाई अनन्तको आशिष् दिनुहुन्छ, अनि आफ्नो उपस्थितिको आनन्दले उनलाई हर्षित बनाउनुहुन्छ। किनभने राजाले परमप्रभुमा भरोसा राख्छन्, र सर्वोच्च परमेश्वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्नेछैनन्।
भजनसंग्रह 21:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्, तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्। तपाईंले उनको हृदयका इच्छा पूरा गर्नुभएको छ, र उनको ओठको बिन्ती इन्कार गर्नुभएको छैन। सेला तपाईंले उनलाई उत्तम आशिष् लिएर स्वागत गर्नुभयो। तपाईंले उनको शिरमा निखुर सुनको मुकुट पहिर्याइदिनुभयो। उनले तपाईंबाट जीवन मागे, र तपाईंले उनलाई दिनुभयो अर्थात्, उनलाई सदाकालको निम्ति लामो आयु दिनुभएको छ। तपाईंले दिनुभएका विजयहरूद्वारा उनको आदर र महिमा बढेको छ; तपाईंले उनलाई वैभव र ऐश्वर्य प्रदान गरिदिनुभएको छ। निश्चय नै तपाईंले उनलाई अनन्त आशिष् प्रदान गर्नुभएको छ; र तपाईंको उपस्थितिको आनन्दले उनलाई हर्षित तुल्याउनुभएको छ; किनकि राजाले याहवेहमा भरोसा राख्दछन्; सर्वोच्च परमेश्वरको अचुक प्रेमको कारण उनी अटल रहनेछन्।
भजनसंग्रह 21:1-7 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ। जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ। तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए। हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे र मागेका थोकहरू सबै तपाईंले दिनुभयो। हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो। तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो। हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो। तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा-सर्वदाको निम्ति जारी रहनेछ। तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो। तपाईंले उसलाई इज्जत र आदर दिनुभयो। हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो। जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दित पार्छ। राजाले परमप्रभुमाथि भरोसा राख्छ। सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।
भजनसंग्रह 21:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! तपाईंले शक्ति दिनुभएको हुनाले राजा प्रसन्न छन्, उनले आनन्द गर्छन् किनभने तपाईंले उनलाई विजयी बनाउनुभयो। तपाईंले उनको हृदयको इच्छा पूरा गरिदिनुभयो र उनको बिन्तीको उत्तर दिनुभयो। ठूलो आशिष् लिएर तपाईं उनीकहाँ आउनुभयो र उनको टाउकोमा सुनको मुकुट लगाइदिनुभयो। उनले जीवन मागे र त्यो उनलाई तपाईंले दिनुभयो, तपाईंले उनलाई लामो आयु र चिरस्थायी जीवन दिनुभयो। तपाईंको सहायताले गर्दा उनको गौरव महान् भएको छ, तपाईंले उनलाई सुनाम र राजकीय सम्मान दिनुभएको छ। उनीसँग सदा तपाईंका आशिष् छन् र तपाईंको उपस्थितिद्वारा उनी आनन्दले भरिन्छन्। राजाले सर्वशक्तिमान् परमप्रभुमा भरोसा राख्दछन् र परमप्रभुको अनन्त प्रेमले गर्दा उनी सधैँ सुरक्षित रहन्छन्।