YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 21:1-13

भजनसंग्रह 21:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, तपाईंकै सामर्थ्‍यमा राजा आनन्‍दित छन्‌, र तपाईंले दिनुभएका विजयहरूमा उनी अति उल्‍लसित छन्‌। तपाईंले उनको मनोरथ पूर्ण गरिदिनुभएको छ, र उनका मुखको बिन्‍ती तपाईंले इन्‍कार गर्नुभएको छैन। सेला तपाईंले उत्तम आशिष्‌ लिएर उनलाई स्‍वागत गर्नुभयो। तपाईंले निखुर सुनको शिरपेच उनको शिरमा लगाइदिनुभयो। उनले तपाईंसँग जीवन मागे, अनि तपाईंले उनलाई सदासर्वदाको आयु दिनुभयो। तपाईंले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान्‌ छ। तपाईंले उनलाई वैभव र ऐश्‍वर्य प्रदान गर्नुभएको छ। साँच्‍चै तपाईंले उनलाई अनन्‍तको आशिष्‌ दिनुहुन्‍छ, अनि आफ्‍नो उपस्‍थितिको आनन्‍दले उनलाई हर्षित बनाउनुहुन्‍छ। किनभने राजाले परमप्रभुमा भरोसा राख्‍छन्‌, र सर्वोच्‍च परमेश्‍वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्‍नेछैनन्‌। तपाईंकै बाहुलीले आफ्‍ना सारा शत्रुहरूलाई खोजिनिकाल्‍नेछ, र तपाईंका शत्रुहरू जतिलाई तपाईंको दाहिने बाहुलीले पक्रनेछ। तपाईं प्रकट हुने समयमा तपाईंले तिनीहरूलाई दन्‍कने भट्टीझैँ तुल्‍याउनुहुनेछ। आफ्‍नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्‍नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्‍म पार्नेछ। तपाईंले तिनीहरूका सन्‍तानलाई पृथ्‍वीबाट मेटाइदिनुहुनेछ, र तिनीहरूका वंशलाई मानव-जातिको बीचबाट। तिनीहरूले तपाईंको विरुद्धमा खराबी चिताए भने, र तिनीहरूले दुष्‍ट युक्ति रचे तापनि तिनीहरू सफल हुनेछैनन्‌। किनभने तपाईंले तिनीहरूलाई भाग्‍न विवश पार्नुहुनेछ, जब तपाईं ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्‍नुहुनेछ। हे परमप्रभु, आफ्‍नो सामर्थ्‍यमा तपाईं उच्‍च हुनुहोस्‌। हामी तपाईंका पराक्रमको भजन र स्‍तुति गाउनेछौं।

शेयर गर्नुहोस्
भजनसंग्रह 21 पढ्नुहोस्

भजनसंग्रह 21:1-13 पवित्र बाइबल (NERV)

हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ। जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ। तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए। हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे र मागेका थोकहरू सबै तपाईंले दिनुभयो। हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो। तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो। हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो। तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा-सर्वदाको निम्ति जारी रहनेछ। तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो। तपाईंले उसलाई इज्जत र आदर दिनुभयो। हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो। जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दित पार्छ। राजाले परमप्रभुमाथि भरोसा राख्छ। सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन। हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ। जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्। तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ। हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ, उनी तातो चूल्हा जस्तो हुन्छन्। जसले प्रत्येक कुरा दिंदछन्। आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ। शत्रुहरूका सन्तानहरू समेत नष्ट भए। तिनीहरू यस पृथ्वीबाट लोप भएर गए। किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु। तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्। हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो। तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो। तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो, तिनीहरूलाई दासहरूले जस्तै शिर झुकाएर बस्ने पार्नु भयो। हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ! हामी तपाईंको महा-शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौं।

शेयर गर्नुहोस्
भजनसंग्रह 21 पढ्नुहोस्

भजनसंग्रह 21:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! तपाईंले शक्ति दिनुभएको हुनाले राजा प्रसन्‍न छन्, उनले आनन्‍द गर्छन् किनभने तपाईंले उनलाई विजयी बनाउनुभयो। तपाईंले उनको हृदयको इच्‍छा पूरा गरिदिनुभयो र उनको बिन्‍तीको उत्तर दिनुभयो। ठूलो आशिष् लिएर तपाईं उनीकहाँ आउनुभयो र उनको टाउकोमा सुनको मुकुट लगाइदिनुभयो। उनले जीवन मागे र त्‍यो उनलाई तपाईंले दिनुभयो, तपाईंले उनलाई लामो आयु र चिरस्‍थायी जीवन दिनुभयो। तपाईंको सहायताले गर्दा उनको गौरव महान् भएको छ, तपाईंले उनलाई सुनाम र राजकीय सम्‍मान दिनुभएको छ। उनीसँग सदा तपाईंका आशिष् छन् र तपाईंको उपस्‍थितिद्वारा उनी आनन्‍दले भरिन्‍छन्। राजाले सर्वशक्तिमान्‌ परमप्रभुमा भरोसा राख्‍दछन् र परमप्रभुको अनन्‍त प्रेमले गर्दा उनी सधैँ सुरक्षित रहन्‍छन्। राजाले आफ्‍ना सबै शत्रुहरूलाई कैद गर्नेछन्, आफूलाई घृणा गर्ने सबैलाई उनले कैद गर्नेछन्। उनी देखा पर्दा दन्‍केको आगाले झैँ उनले तिनीहरूलाई नाश गर्नेछन्। आफ्‍नो रिसमा परमप्रभुले तिनीहरूलाई स्‍वाहा पार्नुहुनेछ र आगोले तिनीहरूलाई भस्‍म पार्नेछ। तिनीहरूका साखा-सन्‍तान कोही पनि बाँच्‍नेछैन, राजाले तिनीहरू सबैलाई मार्नेछन्। तिनीहरूले आफ्‍ना युक्ति निकाल्‍छन् र उनको विरुद्धमा जाल रच्‍छन्, तर तिनीहरू सफल हुनेछैनन्। उहाँले तिनीहरूलाई काँडले हान्‍नुहुनेछ र तिनीहरू फर्केर भागिजानेछन्। हे परमप्रभु! तपाईंको महान् सामर्थ्‍यको लागि हामी तपाईंको प्रशंसा गर्छौं! हामी तपाईंको शक्तिको प्रशंसा गर्दै गीत गाउँछौं।

शेयर गर्नुहोस्
भजनसंग्रह 21 पढ्नुहोस्