YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 18:31-42

भजनसंग्रह 18:31-42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र? उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ, र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ। उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्‍तै तुल्‍याउनुहुन्‍छ, र उच्‍च स्‍थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्‍छ। उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌। तपाईंले मलाई आफ्‍नो विजयको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ। मलाई महान्‌ बनाउन तपाईं स्‍वयम्‌ झुक्‍नुहुन्‍छ। मेरा पाइलाहरूका निम्‍ति तपाईं फराकिलो बाटो बनाउनुहुन्‍छ, र मेरा गोडा चिप्‍लनेछैनन्‌। मेरा शत्रुहरूलाई खेदेर मैले तिनीहरूलाई भेट्टाएँ, तिनीहरू संहार नहोउञ्‍जेल म फर्किनँ। तिनीहरू उठ्‌न नसक्‍ने गरी मैले तिनीहरूलाई हिर्काएँ, तिनीहरू मेरा पाउमुनि लोटे। तपाईंले मलाई लड़ाइँको निम्‍ति शक्तिशाली तुल्‍याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो। तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्‍न विवश पार्नुभयो, र मेरा शत्रुहरूलाई मैले संहार पारें। मदतको निम्‍ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन। बतासमा उड्‌ने धूलोजस्‍तो मैले तिनीहरूलाई धूलोपीठो पारें, गल्‍लीको हिलोझैँ मैले तिनीहरूलाई फालें।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्

भजनसंग्रह 18:31-42 पवित्र बाइबल (NERV)

त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन, त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन। परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ। परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ। उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ। परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ। यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ। परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो। मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्। यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु। त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन! म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्। सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्। हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो, युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो। तपाईंले मलाई मेरा शत्रुहरूका घिंच्रोमा हिर्काउने र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो। मेरा शत्रुहरूले सहयोगको लागि गुहारे, तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन। तिनीहरूले परमप्रभुलाई समेत गुहारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन। मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें। तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए। मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्

भजनसंग्रह 18:31-42 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्‍छ, परमेश्‍वर मात्र हाम्रा रक्षक हुनुहुन्‍छ। उहाँ मलाई बलियो बनाउनुहुने र मेरो बाटो कुशल गराउनुहुने परमेश्‍वर हुनुहुन्‍छ। पहाडमा उहाँले मलाई कुशलसाथ राख्‍नुहुन्‍छ र मेरा खुट्टा मृगका जस्‍ता ठीक पाइला चाल्‍ने बनाउनुहुन्‍छ। मैले सबैभन्दा बलियो धनु चलाउन सकूँ भनेर उहाँले मलाई युद्ध-कला सिकाउनुहुन्‍छ। हे परमप्रभु! तपाईंले मलाई रक्षा गरेर बचाउनुहुन्‍छ, तपाईंको रेख-देखमा म महान् बनेको छु, र तपाईंको शक्तिले मलाई कुशल राखेको छ। तपाईंले मलाई कैदी बन्‍नदेखि बचाउनुभएको छ, म कहिल्‍यै लडेको छैनँ। म शत्रुलाई खेदेर पक्रन्‍छु, तिनीहरूलाई नाश नपारुञ्‍जेलसम्‍म म थामिन्‍नँ। म तिनीहरूलाई तरवारले हान्‍छु र तिनीहरू उठ्‍न सक्‍दैनन्। मेरा सामु तिनीहरू हारेर लडेका छन्। तपाईंले मलाई युद्ध गर्ने शक्ति र शत्रुहरूमाथि विजय दिनुहुन्‍छ। मेरा शत्रुहरूलाई मेरो सामुदेखि तपाईंले भगाउनुहुन्‍छ, मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु। तिनीहरू मद्दतको लागि चिच्‍याउँछन्, तर कसैले तिनीहरूलाई बचाउँदैनन्, तिनीहरूले परमप्रभुलाई पुकार्छन्, तर उहाँले उत्तर दिनुहुन्‍न। म तिनीहरूलाई चुर पार्दछु र तिनीहरू बतासले उडाइलैजाने धुलाजस्‍ता हुन्‍छन्, म तिनीहरूलाई बाटोको हिलोझैँ कुल्‍चन्‍छु।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्