भजनसंग्रह 18:28-35
भजनसंग्रह 18:28-35 पवित्र बाइबल (NERV)
हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्। मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्! परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु। परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु। परमेश्वरको शक्ति पूर्ण छ। उहाँको वचन प्रमाणित भएको छ। उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ। त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन, त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन। परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ। परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ। उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ। परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ। यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ। परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।
भजनसंग्रह 18:28-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! तपाईंले मलाई ज्योति दिनुहुन्छ, तपाईंले मेरो अन्धकारलाई हटाइदिनुहुन्छ। मेरा शत्रुहरूमाथि आक्रमण गर्न र तिनीहरूमाथि विजय पाउन तपाईंले मलाई बल दिनुहुन्छ। परमेश्वरका यी काम कति सिद्ध छन्! उहाँका वचन कस्ता भर पर्न सकिने छन्! उहाँका रक्षा खोज्नेहरूका निम्ति उहाँ ढालझैँ हुनुहुन्छ। परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ, परमेश्वर मात्र हाम्रा रक्षक हुनुहुन्छ। उहाँ मलाई बलियो बनाउनुहुने र मेरो बाटो कुशल गराउनुहुने परमेश्वर हुनुहुन्छ। पहाडमा उहाँले मलाई कुशलसाथ राख्नुहुन्छ र मेरा खुट्टा मृगका जस्ता ठीक पाइला चाल्ने बनाउनुहुन्छ। मैले सबैभन्दा बलियो धनु चलाउन सकूँ भनेर उहाँले मलाई युद्ध-कला सिकाउनुहुन्छ। हे परमप्रभु! तपाईंले मलाई रक्षा गरेर बचाउनुहुन्छ, तपाईंको रेख-देखमा म महान् बनेको छु, र तपाईंको शक्तिले मलाई कुशल राखेको छ।
भजनसंग्रह 18:28-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्नुहुन्छ, मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु, र मेरा परमेश्वरको सहायताले म पर्खाल नाघ्न सक्छु। परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्छ। किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र? उनै परमेश्वर, जसले मलाई शक्तिशाली तुल्याउनुहुन्छ, र मेरो मार्गलाई सिद्ध तुल्याउनुहुन्छ। उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्तै तुल्याउनुहुन्छ, र उच्च स्थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्छ। उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालीम दिनुहुन्छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्छन्। तपाईंले मलाई आफ्नो विजयको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ। मलाई महान् बनाउन तपाईं स्वयम् झुक्नुहुन्छ।
भजनसंग्रह 18:28-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ; मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु। परमेश्वरको बारेमा भन्नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ। किनकि याहवेहबाहेक अर्को परमेश्वर को छ र? हाम्रा परमेश्वरबाहेक अर्को चट्टान को छ र? उनै परमेश्वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ, र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ। उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; उहाँले मलाई उच्च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ। उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्। तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ; तपाईंको सहायताले मलाई महान् बनाएको छ।