YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 18:25-36

भजनसंग्रह 18:25-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ। शुद्धसँग तपाईं आफै शुद्धै देखा पर्नुहुन्‍छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्‍छ। दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्‍छ, तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुनेछ। हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्‍नुहुन्‍छ, मेरा परमेश्‍वरले मेरो अन्‍धकारलाई उज्‍यालोमा परिवर्तन गर्नुहुन्‍छ। तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्‍छु, र मेरा परमेश्‍वरको सहायताले म पर्खाल नाघ्‍‌न सक्‍छु। परमेश्‍वरको विषयमा भन्‍ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्‍चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्‍छ। किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र? उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ, र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ। उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्‍तै तुल्‍याउनुहुन्‍छ, र उच्‍च स्‍थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्‍छ। उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌। तपाईंले मलाई आफ्‍नो विजयको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ। मलाई महान्‌ बनाउन तपाईं स्‍वयम्‌ झुक्‍नुहुन्‍छ। मेरा पाइलाहरूका निम्‍ति तपाईं फराकिलो बाटो बनाउनुहुन्‍छ, र मेरा गोडा चिप्‍लनेछैनन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्

भजनसंग्रह 18:25-36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

विश्‍वासयोग्यसँग तपाईं आफूलाई विश्‍वासयोग्य रूपमा देखाउनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ; शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ, तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ। तपाईं नम्रहरूलाई बचाउनुहुन्छ, तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ। हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ; मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्‍वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु। परमेश्‍वरको बारेमा भन्‍नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ। किनकि याहवेहबाहेक अर्को परमेश्‍वर को छ र? हाम्रा परमेश्‍वरबाहेक अर्को चट्टान को छ र? उनै परमेश्‍वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ, र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ। उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; उहाँले मलाई उच्‍च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ। उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्। तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ; तपाईंको सहायताले मलाई महान् बनाएको छ। तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ, ताकि मेरा गोडा नचिप्लून्।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्

भजनसंग्रह 18:25-36 पवित्र बाइबल (NERV)

हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्। यदि कुनै मानिस तपाईं प्रति साँच्चो छ भने तपाईं पनि ऊ प्रति साँच्चो हुनुहुनेछ। हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ। तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ। हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्। मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्! परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु। परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु। परमेश्वरको शक्ति पूर्ण छ। उहाँको वचन प्रमाणित भएको छ। उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ। त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन, त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन। परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ। परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ। उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ। परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ। यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ। परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो। मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्। यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्

भजनसंग्रह 18:25-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! तपाईंसँग विश्‍वासयोग्‍य रहनेहरूसँग तपाईं पनि विश्‍वासी रहनुहुन्‍छ, जो सिद्ध छन्, तिनीहरूप्रति तपाईं सम्‍पूर्णरूपले भलो हुनुहुन्‍छ। जो शुद्ध छन्, तिनीहरूप्रति तपाईं शुद्ध हुनुहुन्‍छ, तर विरोधीहरूप्रति भने तपाईं विरोधी हुनुहुन्‍छ। नम्रहरूलाई तपाईंले बचाउनुहुन्‍छ, तर अहङ्कारीहरूलाई होच्‍याउनुहुन्‍छ। हे परमप्रभु! तपाईंले मलाई ज्‍योति दिनुहुन्‍छ, तपाईंले मेरो अन्‍धकारलाई हटाइदिनुहुन्‍छ। मेरा शत्रुहरूमाथि आक्रमण गर्न र तिनीहरूमाथि विजय पाउन तपाईंले मलाई बल दिनुहुन्‍छ। परमेश्‍वरका यी काम कति सिद्ध छन्! उहाँका वचन कस्‍ता भर पर्न सकिने छन्! उहाँका रक्षा खोज्‍नेहरूका निम्‍ति उहाँ ढालझैँ हुनुहुन्‍छ। परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्‍छ, परमेश्‍वर मात्र हाम्रा रक्षक हुनुहुन्‍छ। उहाँ मलाई बलियो बनाउनुहुने र मेरो बाटो कुशल गराउनुहुने परमेश्‍वर हुनुहुन्‍छ। पहाडमा उहाँले मलाई कुशलसाथ राख्‍नुहुन्‍छ र मेरा खुट्टा मृगका जस्‍ता ठीक पाइला चाल्‍ने बनाउनुहुन्‍छ। मैले सबैभन्दा बलियो धनु चलाउन सकूँ भनेर उहाँले मलाई युद्ध-कला सिकाउनुहुन्‍छ। हे परमप्रभु! तपाईंले मलाई रक्षा गरेर बचाउनुहुन्‍छ, तपाईंको रेख-देखमा म महान् बनेको छु, र तपाईंको शक्तिले मलाई कुशल राखेको छ। तपाईंले मलाई कैदी बन्‍नदेखि बचाउनुभएको छ, म कहिल्‍यै लडेको छैनँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्