भजनसंग्रह 143:1-12
भजनसंग्रह 143:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनुहोस्, दयाको लागि मैले गरेको पुकारा सुनिदिनुहोस्। तपाईंको विश्वसनीयता र धार्मिकतामा मलाई सहायता दिनुहोस्। आफ्नो दासलाई इन्साफमा नल्याउनुहोस्, किनकि तपाईंको सामुन्ने कुनै पनि जीवित मानिस धर्मी ठहरिँदैन। शत्रुले मेरो खेदो गर्दछ, त्यसले मलाई जमिनमा लड़ाएर कुल्चन्छ। धेरै अघि मारिसकेकाहरूजस्तै गरी त्यसले मलाई अन्धकारमा बस्न बाध्य पार्दछ। यसकारण मेरो आत्मा मभित्र शिथिल हुन्छ, र मेरो हृदय मभित्रै त्रसित भएको छ। म अतीतका दिनहरू स्मरण गर्दछु, र तपाईंका सबै कार्यहरूमा मनन गर्दछु, अनि तपाईंका हातले गरेका काममाथि विचार गर्दछु। म मेरा हात तपाईंतिर पसार्दछु, बाँझो जमिनझैँ मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ। सेला हे परमप्रभु, मलाई छिटो जवाफ दिनुहोस्, मेरो आत्मा शिथिल हुन्छ। आफ्नो मुहार मबाट नलुकाउनुहोस् नत्रता म मृत-लोकमा पर्नेहरूझैँ हुनेछु। प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्याओस्, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्नुपर्ने हो त्यो मलाई सिकाउनुहोस्, किनकि मेरो आत्मा म तपाईंतिर उचाल्दछु। हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्, किनकि मैले आफैलाई तपाईंमा लुकाएको छु। तपाईंको इच्छा पूर्ण गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंका भलो आत्माले मलाई सोझो बाटोमा डोर्याऊन्। हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो प्राणको सुरक्षा गरिदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई विपद्बाट मुक्त गरिदिनुहोस्। तपाईंको अचूक कृपामा मेरा शत्रुहरूलाई सर्वनाश पार्नुहोस्, र मेरा सबै शत्रुहरूलाई नाश गरिदिनुहोस्, किनकि म तपाईंको दास हुँ।
भजनसंग्रह 143:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्; दयाको लागि मेरो अन्तर्बिन्तीलाई ध्यान दिनुहोस्; तपाईंको विश्वसनीयता र धार्मिकताअनुसार मलाई जवाफ दिनुहोस्! आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्; किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन। शत्रुले मलाई लखेट्छ; त्यसले मलाई जमिनमा लडाएर कुल्चन्छ; धेरै अगि नै मरिसकेकाहरूजस्तै गरी, त्यसले मलाई अन्धकारमा बस्न बाध्य पार्दछ। यसर्थ मेरो आत्मा मभित्र खिन्न हुन्छ; मेरो हृदय मभित्रै विचलित भएको छ। म अतीतका ती दिनहरू सम्झना गर्दछु; तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु, र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु। म मेरा हात तपाईंतिर फैलाउँछु; सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु। सेला हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्; मेरो आत्मा क्षीण हुँदछ। तपाईंको मुहार मबाट नलुकाउनुहोस्; नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु। हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्; किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु; म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्; किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु। हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; किनकि म आफूलाई तपाईंमा लुकाउँछु। मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्; किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको असल आत्माले मलाई समतल जमिनमा डोर्याऊन्! हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्; तपाईंको धार्मिकतामा मलाई कष्टबाट छुटाउनुहोस्। तपाईंको अचुक प्रेममा, मेरा शत्रुहरूलाई चुप गराइदिनुहोस्; मेरा सबै वैरीहरूलाई नाश पार्नुहोस्; किनकि म तपाईंको सेवक हुँ।
भजनसंग्रह 143:1-12 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्। मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्। तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्। मलाई कुनै मामिला नलगाउनु होस्। म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन। तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्। तिनीहरूले मेरो जीवन मैला-फोहर झैं अभिशप्त पारे। धेरै बर्ष अघी मरेको मानिस सरह, तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले। म छोड्न तयार छु, म आफ्ना आँट हराई रहेछु। तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै बर्ष अगाडि घटेको थियो। म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु। म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु, जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो! परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु। बाँझो धर्तीले बर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,। परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्। मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्। परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु, मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस्। तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें। हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु। मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्। तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्। हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्, यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्। तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस्, अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्। हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस्, अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्, जसले मलाई मार्ने प्रयास गरिरहेका छन्। किनभने म तपाईंको दास हुँ।
भजनसंग्रह 143:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्! आफ्नो धार्मिकतामा मेरो बिन्ती सुन्नुहोस् र आफ्नो विश्वासयोग्यतामा मलाई उत्तर दिनुहोस्! म तपाईंको दासको परीक्षा नगर्नुहोस्, तपाईंको दृष्टिमा कोही पनि निर्दोष छैन। मेरा शत्रुले खेदेर मलाई भेटेको छ र मलाई पूरा जितेको छ। त्यसले मलाई अँध्यारो कोठामा कैद गरेको छ र म धेरै दिनको लाशजस्तै भएको छु। यसैले म शिथिल हुन लागेको छु। मेरो मनमा गहिरो पीडा छ। म बितेका दिनलाई सम्झँदछु, तपाईंले गर्नुभएको सबै कामहरूबारे सोच्दछु, तपाईंका सबै कामहरू म मनमा गुन्दछु। म प्रार्थनामा तपाईंतिर आफ्ना हात उचाल्दछु, सुखा जमिनजस्तै मेरो प्राण तपाईंको निम्ति तिर्खाएको छ। परमप्रभु, अहिले मलाई उत्तर दिनुहोस्! मैले सबै आशा हराएको छु। मदेखि आफैंलाई नलुकाउनुहोस्, नत्रता मृत्यु-लोकमा गएको जस्तै म हुनेछु। हरेक बिहान मलाई तपाईंको अटुट प्रेमको याद दिलाउनुहोस् किनभने म तपाईंमाथि भरोसा राख्दछु। मेरो प्रार्थना तपाईंकहाँ पुग्दछ, मैले हिँड्नुपर्ने बाटो मलाई देखाइदिनुहोस्। हे परमप्रभु, म आफ्नो सुरक्षाको लागि तपाईंकहाँ आउँछु, मलाई मेरा शत्रुहरूदेखि बचाउनुहोस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मलाई तपाईंको इच्छाअनुसार चल्न सिकाउनुहोस्, ममाथि भलाइ गर्नुहोस् र कुशलको बाटोमा मलाई डोर्याउनुहोस्। आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्, हे परमप्रभु, तपाईं भलो हुनुभएको हुनाले मेरो दु:ख-कष्टदेखि मलाई बचाउनुहोस्। मप्रति भएको तपाईंको प्रेमको खातिर मेरा शत्रुहरूलाई मार्नुहोस् र मलाई सताउनेहरू सबैलाई नाश पार्नुहोस् किनभने म तपाईंको दास हुँ।