भजनसंग्रह 139:1-6
भजनसंग्रह 139:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्नुहुन्छ। तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ, टाढ़ैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्पष्टसँग जान्नुहुन्छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्छ। मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ। तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ, र आफ्नो बाहुली ममाथि राख्नुभएको छ। यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, यो प्राप्त गर्न मेरो निम्ति अति गाह्रो छ।
भजनसंग्रह 139:1-6 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ। म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ। परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ। मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ। हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ। हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर। तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ। तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें, मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।
भजनसंग्रह 139:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र चिन्नुहुन्छ। मैले गरेका सबै काम तपाईंले जान्नुहुन्छ, टाढैबाट तपाईंले मेरा सबै विचारहरू बुझ्नुहुन्छ। म काम गर्दा वा विश्राम लिंदा तपाईंले मलाई देख्नुहुन्छ, तपाईंले मेरा सबै काम जान्नुहुन्छ। मेरो ओठ खोलिनुभन्दा अघि नै मैले के भन्न लागेको छु, सो तपाईंले जानिसक्नुभएको हुन्छ। मेरा चारैपट्टि, हरेक दिशामा तपाईं हुनुहुन्छ, आफ्नो बलले तपाईंले मेरो रक्षा गर्नुहुन्छ। मेरा बारेमा तपाईंको ज्ञान अति गहिरो छ, त्यो मेरा समझशक्तिले म बुझ्न सक्दिनँ।