भजनसंग्रह 138:1-8
भजनसंग्रह 138:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, म आफ्नो सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, “देवताहरू” का सामुन्ने म त तपाईंको प्रशंसा गर्नेछु। म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु, र तपाईंको करुणा र विश्वसनीयताको निम्ति तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनभने तपाईंले आफ्नो नाउँ र आफ्नो वचन सबै कुरामाथि उच्च पार्नुभएको छ। जब मैले तपाईंलाई पुकारें, तपाईंले मलाई जवाफ दिनुभयो। तपाईंले मलाई साहसी र आँटिलो पार्नुभयो। तपाईंको मुखका वचन सुन्दा, हे परमप्रभु, पृथ्वीका समस्त राजाहरूले तपाईंको प्रशंसा गरून्। तिनीहरूले परमप्रभुका मार्गहरूको जयजयकार गरून्, किनकि परमप्रभुको महिमा महान् छ। परमप्रभु अति उच्चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई उहाँले टाढ़ैबाट चिन्नुहुन्छ। म सङ्कटमय मार्गमा हिँड़े तापनि तपाईंले मेरो प्राणको सुरक्षा गरिदिनुहुन्छ। मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढ़ाउनुहुन्छ, आफ्नो दाहिने बाहुलीले मलाई बचाउनुहुन्छ। परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्ति रहिरहन्छ— तपाईंका हातको रचनालाई नत्याग्नुहोस्।
भजनसंग्रह 138:1-8 पवित्र बाइबल (NERV)
हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु। सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु। हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु। म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो। हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें। अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो। हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्। तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्, किनभने परमप्रभुको महिमा महान् छ। परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ, तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ, तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ। परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला। यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्। परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो। परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ। परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!
भजनसंग्रह 138:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! म आफ्नो पूरा हृदयले तपाईंलाई धन्यवाद दिन्छु, देवताहरूको अघि म तपाईंको प्रशंसाको भजन गाउँछु। तपाईंको अटुट प्रेम र विश्वासयोग्यताको कारण म तपाईंको पवित्र मन्दिरपट्टि फर्कन्छु। तपाईंलाई दण्डवत् गर्दछु र तपाईंको नामको प्रशंसा गर्दछु किनभने तपाईंले आफ्ना नाम र आज्ञाहरू सर्वोच्च छन् भनी देखाउनुभएको छ। मैले तपाईंलाई पुकार्दा तपाईंले मलाई उत्तर दिनुभयो। आफ्नो बलले तपाईंले मलाई बलवान बनाउनुभयो। हे परमप्रभु, संसारका सबै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन् किनभने तिनीहरूले तपाईंका प्रतिज्ञाहरू सुनेका छन्। तपाईंले गर्नुभएको काम र तपाईंको महान् गौरवबारे तिनीहरूले गीत गाउनेछन्। तपाईं यति उच्च हुनुहुन्छ र पनि तपाईंले साना-तिनाहरूको वास्ता गर्नुहुन्छ र घमण्डीहरू तपाईंदेखि लुक्न सक्दैनन्। कष्टले मलाई घेरिराखेको बेलामा तपाईंले मलाई कुशल राख्नुहुन्छ, तपाईंले मेरा रिसाएका शत्रुहरूको विरोध गर्नुहुन्छ र आफ्नो शक्तिले मलाई बचाउनुहुन्छ। आफूले प्रतिज्ञा गर्नुभएको सबै थोक तपाईंले पूरा गर्नुहुनेछ, परमप्रभु, तपाईंको प्रेम अमर छ। आफूले सुरु गर्नुभएको काम पूरा गर्नुहोस्।