भजनसंग्रह 119:33-48
भजनसंग्रह 119:33-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्, र अन्त्यसम्म म ती पालन गर्नेछु। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्थाअनुसार चल्नेछु, अनि सम्पूर्ण हृदयले त्यो पालन गर्नेछु। तपाईंका आज्ञाहरूको मार्गमा मलाई चलाउनुहोस्, किनकि त्यसैमा म हर्षित हुन्छु। मेरो हृदयलाई तपाईंका कानूनतिर फर्काउनुहोस्, स्वार्थपूर्ण लाभतिर होइन। व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। तपाईंका दासलाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्, र तपाईंको भय मानिओस्। जुन अपमानबाट म डराउँछु, त्यो मबाट हटाइदिनुहोस्, किनकि तपाईंका नियमहरू उत्तम छन्। हेर्नुहोस्, म तपाईंका आदेशहरूको कत्ति अभिलाषी छु, तपाईंको धार्मिकतामा मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। हे परमप्रभु, तपाईंको अचूक कृपा मलाई मिलोस्, र तपाईंले प्रतिज्ञा गर्नुभएको उद्धार मकहाँ आओस्। तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्नेछु, किनकि म तपाईंको वचनमा भरोसा राख्तछु। सत्यको वचन मेरो मुखबाट नखोसिदिनुहोस्, किनकि मैले तपाईंका नियमहरूमा आशा राखेको छु। म तपाईंको व्यवस्था सदासर्वदा पालन गर्नेछु। म स्वतन्त्र भएर हिँड्नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु। म राजाहरूका समक्ष तपाईंका कानूनहरूका विषयमा बोल्नेछु, अनि म लाजमा पर्नेछैनँ। म तपाईंका आज्ञाहरूमा आनन्दमग्न हुन्छु, किनकि म तिनलाई प्रेम गर्दछु। मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पसार्छु, र तपाईंका विधिहरूमाथि मनन गर्दछु।
भजनसंग्रह 119:33-48 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्, अनि म होशियारीसित तिनीहरूको अनुशरण गर्नेछु। मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु। हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्। म साँच्चो रूपले त्यो जीवन शैली अपनाउने छु। मलाई धनाढ्य हुनुको सट्टामा तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्। परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्। त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्। हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्। हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्। हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले देखाउनु होस्, अनि तपाईंले प्रतिज्ञा दिए झैं, मलाई बचाउनु होस्। जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु। म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु। हे परमप्रभु! म सधैँ तपाईंको साँच्चो उपदेशहरू बोल्न पाऊँ। म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु। हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुशरण गर्नेछु। यसकारण म स्वतन्त्र हुने छु। किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें। म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु, अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्। म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु। परमप्रभु म ती आज्ञाहरू मन पराउँछु। हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु। म तिनीहरूलाई मन पराउँछु अनि म तिनीहरूलाई अध्ययन गर्छु।
भजनसंग्रह 119:33-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु, मलाई तपाईंका व्यवस्थाको अर्थ सिकाउनुहोस् र म सधैँभरि त्यो पालन गर्नेछु। तपाईंको व्यवस्थाको अर्थ बुझाउनुहोस् र म त्यो मान्नेछु, मैले आफ्नो पूरा हृदयले त्यसको पालन गर्नेछु। मलाई तपाईंका आदेशहरू मान्न आज्ञाकारी बनाउनुहोस् किनभने मैले त्यसमा आनन्द पाउँदछु। धनी हुनुभन्दा तपाईंका व्यवस्था पालन गर्ने इच्छा मलाई दिनुहोस्। बेकामका कुरामा ध्यान दिनदेखि मलाई बचाउनुहोस्। तपाईंको प्रतिज्ञाअनुसार मेरो भलाइ गर्नुहोस्। म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञा, जुन प्रतिज्ञा तपाईंले आफ्ना आज्ञा मान्नेहरूसित गर्नुहुन्छ, त्यो मसँग पूरा गर्नुहोस्। मैले डर मानेको अपमानदेखि मलाई बचाउनुहोस्, तपाईंका न्याय कति अचम्मका छन्! म तपाईंका आदेशहरू मान्न चाहन्छु, मलाई नयाँ जीवन दिनुहोस् किनभने तपाईं धर्मी हुनुहुन्छ। तपाईंले मलाई कति प्रेम गर्नुहुन्छ, मलाई देखाउनुहोस्, परमप्रभु! आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्। तब मलाई अपमान गर्नेहरूलाई जवाफ दिन सक्छु किनभने म तपाईंको वचनमा भरोसा गर्दछु। सबै समय सत्य बोल्न शक्ति मलाई दिनुहोस् किनभने तपाईंका न्यायहरूमा मेरो आशा छ। म सदासर्वदै तपाईंको नियम मान्नेछु। म पूरा स्वतन्त्र भएर जिउनेछु किनभने म तपाईंका शिक्षाहरू मान्ने कोसिसमा रहँदछु। मैले राजाहरूलाई तपाईंका आज्ञाहरू सुनाउनेछु र म लाजमापर्नेछैनँ। म तपाईंका आज्ञाहरू मान्दा खुसी हुन्छु किनभने मैले ती आज्ञालाई प्रेम गर्दछु। म तपाईंका आज्ञाहरूको प्रेम र कदर गर्दछु, म तपाईंका अर्तीहरूमा ध्यान दिनेछु।