भजनसंग्रह 119:29-40
भजनसंग्रह 119:29-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
छलपूर्ण मार्गबाट मलाई अलग्ग राखिदिनुहोस्, तपाईंको व्यवस्थाद्वारा ममाथि अनुग्रही हुनुहोस्। मैले त सत्यताको मार्ग छानेको छु, तपाईंका नियमहरू मैले मेरो सामुन्ने राखेको छु। तपाईंका कानूनहरूमा म स्थिर रहन्छु, हे परमप्रभु, मलाई शर्ममा पर्न नदिनुहोस्। म तपाईंका आज्ञाहरूको मार्गमा दौड़न्छु, किनकि तपाईंले मेरो हृदयलाई स्वतन्त्र पारिदिनुभएको छ। हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्, र अन्त्यसम्म म ती पालन गर्नेछु। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्थाअनुसार चल्नेछु, अनि सम्पूर्ण हृदयले त्यो पालन गर्नेछु। तपाईंका आज्ञाहरूको मार्गमा मलाई चलाउनुहोस्, किनकि त्यसैमा म हर्षित हुन्छु। मेरो हृदयलाई तपाईंका कानूनतिर फर्काउनुहोस्, स्वार्थपूर्ण लाभतिर होइन। व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। तपाईंका दासलाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्, र तपाईंको भय मानिओस्। जुन अपमानबाट म डराउँछु, त्यो मबाट हटाइदिनुहोस्, किनकि तपाईंका नियमहरू उत्तम छन्। हेर्नुहोस्, म तपाईंका आदेशहरूको कत्ति अभिलाषी छु, तपाईंको धार्मिकतामा मेरो प्राणलाई सुरक्षित राख्नुहोस्।
भजनसंग्रह 119:29-40 पवित्र बाइबल (NERV)
हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्। तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्। हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौं भनेर रोजेको छु। मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु। म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु। मलाई असन्तुष्ट नबनाउनु होस्। म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु। परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ। हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्, अनि म होशियारीसित तिनीहरूको अनुशरण गर्नेछु। मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु। हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्। म साँच्चो रूपले त्यो जीवन शैली अपनाउने छु। मलाई धनाढ्य हुनुको सट्टामा तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्। परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्। त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्। हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्। हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।
भजनसंग्रह 119:29-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मलाई कुबाटोमा जानदेखि बचाउनुहोस्, तपाईं असल हुनुहुन्छ र मलाई आफ्ना व्यवस्था सिकाउनुहोस्। मैले आज्ञाकारी बन्न रोजेको छु; मैले तपाईंको न्यायमा ध्यान दिएको छु। परमप्रभु, मैले तपाईंको अर्ती मानेको छु, मलाई लाजमा पर्न नदिनुहोस्। म उत्सुक भएर तपाईंका आज्ञाहरू मान्नेछु किनभने तपाईंले मलाई अझ बढ्ता समझशक्ति दिनुहुन्छ। परमप्रभु, मलाई तपाईंका व्यवस्थाको अर्थ सिकाउनुहोस् र म सधैँभरि त्यो पालन गर्नेछु। तपाईंको व्यवस्थाको अर्थ बुझाउनुहोस् र म त्यो मान्नेछु, मैले आफ्नो पूरा हृदयले त्यसको पालन गर्नेछु। मलाई तपाईंका आदेशहरू मान्न आज्ञाकारी बनाउनुहोस् किनभने मैले त्यसमा आनन्द पाउँदछु। धनी हुनुभन्दा तपाईंका व्यवस्था पालन गर्ने इच्छा मलाई दिनुहोस्। बेकामका कुरामा ध्यान दिनदेखि मलाई बचाउनुहोस्। तपाईंको प्रतिज्ञाअनुसार मेरो भलाइ गर्नुहोस्। म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञा, जुन प्रतिज्ञा तपाईंले आफ्ना आज्ञा मान्नेहरूसित गर्नुहुन्छ, त्यो मसँग पूरा गर्नुहोस्। मैले डर मानेको अपमानदेखि मलाई बचाउनुहोस्, तपाईंका न्याय कति अचम्मका छन्! म तपाईंका आदेशहरू मान्न चाहन्छु, मलाई नयाँ जीवन दिनुहोस् किनभने तपाईं धर्मी हुनुहुन्छ।