भजनसंग्रह 119:18-27
भजनसंग्रह 119:18-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूँ। म त पृथ्वीमा एक प्रवासी हुँ, तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्। तपाईंका नियमहरू जान्नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्छ। तपाईं अहङ्कारीहरूलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्छन्। गिल्ला र लाञ्छना मबाट हटाइदिनुहोस्, किनकि म तपाईंका कानूनहरू पालन गर्दछु। शासकहरू बसेर मेरो विरुद्धमा कुरा गर्छन्, तापनि तपाईंको दासले तपाईंका विधिमाथि मनन गर्नेछ। तपाईंका कानूनहरू मेरो आनन्द हुन्, ती मेरा सल्लाहकार हुन्। मेरो प्राण धूलोमा मिलेको छ, आफ्नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्। मैले आफ्नो आचरण तपाईंलाई खुलस्त गरिदिएँ, र तपाईंले जवाफ दिनुभयो। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्। तपाईंका आदेशहरूका शिक्षा म बुझ्न सकूँ। तब तपाईंका उदेकका कामहरूमाथि म मनन गर्नेछु।
भजनसंग्रह 119:18-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा आँखाहरू खोलिदिनुहोस्, ताकि म तपाईंको व्यवस्थाबाट उदेकका कुराहरू देख्न सकूँ। यस पृथ्वीमा म एउटा परदेशी हुँ; तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्! हरपल तपाईंका नियमहरू जान्ने तिर्सनाले मेरो प्राण छटपटिन्छ। ती अहङ्कारीहरू, जो श्रापित छन्; र तपाईंका आज्ञाहरूबाट भड्किएर हिँड्छन्; तिनीहरूलाई तपाईंले हप्काउनुहुन्छ। मबाट तिनीहरूका गिल्ला र तिरस्कार हटाउनुहोस्; किनकि म तपाईंका कानुनहरू पालन गर्दछु। शासकहरू एकसाथ बसेर मेरो विरुद्धमा जाल रचे तापनि तपाईंको सेवकले तपाईंकै उर्दीहरूमा ध्यान दिनेछ। तपाईंका कानुनहरू मेरा आनन्द हुन्; ती मेरा सल्लाहकारहरू हुन्। म धुलोमा लम्पसार परेको छु; आफ्नो वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! मैले मेरा चालचलनहरू बताएँ, र तपाईंले मलाई जवाफ दिनुभयो; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! मलाई तपाईंका विधिहरूका अर्थ बुझ्ने बनाउनुहोस्; ताकि म तपाईंका अचम्मका कामहरूमा ध्यान दिन सकूँ।
भजनसंग्रह 119:18-27 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्, ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ। म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ। मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ। परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्। म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु। हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्, किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे। मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्। मैले तपाईंको करार पालन गरेको छु। अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे। तर म तपाईंको दास हुँ, हे परमप्रभु! अनि मैले तपाईंको नियमहरू पढेकोछु। तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ। म चाँडै मर्नेछु, हे परमप्रभु! तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्। मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ। अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो। अब, तपाईंका नियमहरू सिकाउनु होस्। हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्। तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्।
भजनसंग्रह 119:18-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा आँखा खोलिदिनुहोस् र मैले तपाईंको व्यवस्थामा उदेकका सत्यताहरू देख्न सकूँ। म थोरै समयको लागि यस पृथ्वीमा छु, तपाईंका आज्ञाहरू मदेखि नलुकाउनुहोस्। म सबै समय तपाईंका निसाफहरू जान्न चाहन्छु, ती जान्नलाई मेरो मन छट्पटाउँदछ। तपाईंले अहङ्कारीलाई हकार्नुहुन्छ, तपाईंको आज्ञा नमान्नेहरूले सराप पाउँछन्। तिनीहरूका मेरो अपमान र तिरस्कारबाट मलाई छुटाउनुहोस्। किनभने मैले तपाईंका व्यवस्थाहरू मानेको छु। शासकहरूले भेट-घाट गर्छन् र मेरा विरुद्धमा जाल गर्छन्, तर म तपाईंका शिक्षाहरूमा मनन गर्नेछु। तपाईंका अर्तीमा म आनन्द पाउँदछु, तिनमा मैले सल्लाहका कुरा पाउँदछु। म हारेर माटोमा लडिरहेको छु, तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार मलाई फेरि उठाउनुहोस्। मैले गरेका सबै कुराको लागि म कायल भएँ र तपाईंले मलाई जवाफ दिनुभयो; मलाई तपाईंका चालमा चल्न सिकाउनुहोस्। मलाई तपाईंका व्यवस्थाहरू बुझ्न सहायता गर्नुहोस् र म तपाईंका उदेकका शिक्षामा ध्यान दिनेछु।