भजनसंग्रह 119:1-24
भजनसंग्रह 119:1-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धन्यका हुन् तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछन्। धन्यका हुन् तिनीहरू, जसले उहाँका कानून पालन गर्दछन्, र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्। तिनीहरूले कुनै अधर्म गर्दैनन्, उहाँका मार्गमा तिनीहरू हिँड्दछन्। तपाईंले आदेशहरू यस हेतुले दिनुभयो, कि हामी तिनलाई पूरा-पूरा पालन गरौं। तपाईंका विधिहरू पालन गर्नलाई, मेरो आचरण दृढ़ भइदिए कति असल हुनेथियो! तब तपाईंका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्नेथिइनँ। जब म तपाईंका धार्मिक नियमहरू सिक्तछु, तब म सोझो मनले तपाईंको प्रशंसा गर्नेछु। म तपाईंका विधिहरू पालन गर्नेछु, मलाई पूर्ण रूपले नत्याग्नुहोस्। जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो। म आफ्नो सम्पूर्ण हृदयले तपाईंलाई खोज्छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्। तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। हे परमप्रभु, तपाईंको प्रशंसा होस्, तपाईंका विधिहरू मलाई सिकाउनुहोस्। मैले मेरा ओठले तपाईंको मुखबाट निस्केका सबै नियमहरूको वर्णन गरेको छु। धेरै धन-सम्पत्तिमा आनन्दित हुने मानिसजस्तै, म तपाईंका कानूनहरू पालन गर्नमा हर्षित हुन्छु। तपाईंका आदेशहरूमाथि म मनन गर्छु, र तपाईंका शिक्षामा म ध्यान दिनेछु। म तपाईंका विधिहरूमा आनन्द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ। आफ्नो दासको उपकार गर्नुहोस्, र म जीवित रहनेछु, र तपाईंको वचन पालन गर्नेछु। मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूँ। म त पृथ्वीमा एक प्रवासी हुँ, तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्। तपाईंका नियमहरू जान्नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्छ। तपाईं अहङ्कारीहरूलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्छन्। गिल्ला र लाञ्छना मबाट हटाइदिनुहोस्, किनकि म तपाईंका कानूनहरू पालन गर्दछु। शासकहरू बसेर मेरो विरुद्धमा कुरा गर्छन्, तापनि तपाईंको दासले तपाईंका विधिमाथि मनन गर्नेछ। तपाईंका कानूनहरू मेरो आनन्द हुन्, ती मेरा सल्लाहकार हुन्।
भजनसंग्रह 119:1-24 पवित्र बाइबल (NERV)
शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ। परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्। तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्। ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्, तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्। परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो। परमप्रभु, यदि सधैँ तपाईंको विधिहरू पालन गरें भने, तब म कहिल्यै पनि लज्जित हुने छैन जब म तपाईंको आज्ञाहरू पालन गर्छु। जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु म साँच्चो रूपमा तपाईंको सम्मान गर्नेछु। परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु, कृपया मलाई नत्याग्नु होस्! तपाईंको विधिहरू अपनाएर कसरी एउटा युवा मानिस साँच्चो जीवन जिउन सक्छ? म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु। परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्। मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ। हे परमप्रभु, तपाईंको प्रशंसा होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्। म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु। म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा आनन्द पाउँछु। म तपाईंको विधि विषयमा चर्चा गर्नेछु। म तपाईंको जिउने पथको अनुशरण गर्नेछु। म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन। मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं अनि तपाईंको आज्ञा पालन गर्नसकौं। हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्, ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ। म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ। मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ। परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्। म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु। हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्, किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे। मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्। मैले तपाईंको करार पालन गरेको छु। अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे। तर म तपाईंको दास हुँ, हे परमप्रभु! अनि मैले तपाईंको नियमहरू पढेकोछु। तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ।
भजनसंग्रह 119:1-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
निर्दोष जीवन बिताउनेहरू, जसले परमप्रभुको व्यवस्थाअनुसार आफ्नो जीवन बिताउँदछन्, तिनीहरू खुसी रहन्छन्। उहाँका आज्ञाअनुसार हिँड्नेहरू खुसी रहन्छन्, जसले आफ्ना पूरा हृदयले उहाँको आज्ञापालन गर्दछन्। तिनीहरूले कहिल्यै गल्ती गर्दैनन्, तिनीहरू परमप्रभुका मार्गमा हिँड्दछन्। परमप्रभु, तपाईंले हामीलाई आफ्ना व्यवस्था दिनुभएको छ, र तिनलाई विश्वासयोग्यतासाथ मान्न आज्ञा गर्नुभएको छ। तपाईंका शिक्षाहरू विश्वासयोग्यतासाथ पालन गर्न सकूँला भन्ने मेरो ठूलो आशा छ। तपाईंका सबै आज्ञाहरूमा मैले ध्यान दिएँ भने मलाई लाज हुनेछैन। तपाईंका उचित धार्मिक न्यायको विषयमा मैले सिक्दा म तपाईंलाई चोखो हृदयले प्रशंसा गर्नेछु। म तपाईंका व्यवस्थाहरू मान्नेछु; मलाई कहिल्यै नत्याग्नुहोस्! युवाहरूले आफ्नो जीवन कसरी पवित्र राख्न सक्छन्? तपाईंका आज्ञाहरू मानेर नै। मेरा सारा हृदयले म तपाईंको सेवा गर्ने कोसिस गर्दछु, मलाई तपाईंका आज्ञाहरू उल्लङ्घन गर्नदेखि बचाउनुहोस्। तपाईंको विरुद्धमा पाप नगरूँ भनी म तपाईंको वचन आफ्नो हृदयमा राख्दछु। हे परमप्रभु, म तपाईंको प्रशंसा गर्दछु, मलाई तपाईंका चालमा चल्न सिकाउनुहोस्। तपाईंले दिनुभएका सारा व्यवस्थाहरू दोहोर्याएर जोडले भन्नेछु। ठूलो सम्पत्ति पाउनुभन्दा तपाईंको आज्ञा मान्न म आनन्द पाउँछु। म तपाईंको अर्ती मनन गर्दछु र तपाईंको शिक्षाको जाँच गर्दछु। म तपाईंका नियममा आनन्द पाउँदछु, म तपाईंका आज्ञाहरू भुल्नेछैनँ। आफ्नो दासको उपकार गर्नुहोस् र मैले जीवित रहेर तपाईंका शिक्षाहरू मान्नेछु। मेरा आँखा खोलिदिनुहोस् र मैले तपाईंको व्यवस्थामा उदेकका सत्यताहरू देख्न सकूँ। म थोरै समयको लागि यस पृथ्वीमा छु, तपाईंका आज्ञाहरू मदेखि नलुकाउनुहोस्। म सबै समय तपाईंका निसाफहरू जान्न चाहन्छु, ती जान्नलाई मेरो मन छट्पटाउँदछ। तपाईंले अहङ्कारीलाई हकार्नुहुन्छ, तपाईंको आज्ञा नमान्नेहरूले सराप पाउँछन्। तिनीहरूका मेरो अपमान र तिरस्कारबाट मलाई छुटाउनुहोस्। किनभने मैले तपाईंका व्यवस्थाहरू मानेको छु। शासकहरूले भेट-घाट गर्छन् र मेरा विरुद्धमा जाल गर्छन्, तर म तपाईंका शिक्षाहरूमा मनन गर्नेछु। तपाईंका अर्तीमा म आनन्द पाउँदछु, तिनमा मैले सल्लाहका कुरा पाउँदछु।