भजनसंग्रह 119:1-16

भजनसंग्रह 119:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

धन्‍यका हुन्‌ तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्‍यवस्‍थामा चल्‍दछन्‌। धन्‍यका हुन्‌ तिनीहरू, जसले उहाँका कानून पालन गर्दछन्‌, र उहाँलाई सम्‍पूर्ण हृदयले खोज्‍दछन्‌। तिनीहरूले कुनै अधर्म गर्दैनन्‌, उहाँका मार्गमा तिनीहरू हिँड्‌दछन्‌। तपाईंले आदेशहरू यस हेतुले दिनुभयो, कि हामी तिनलाई पूरा-पूरा पालन गरौं। तपाईंका विधिहरू पालन गर्नलाई, मेरो आचरण दृढ़ भइदिए कति असल हुनेथियो! तब तपाईंका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्नेथिइनँ। जब म तपाईंका धार्मिक नियमहरू सिक्‍तछु, तब म सोझो मनले तपाईंको प्रशंसा गर्नेछु। म तपाईंका विधिहरू पालन गर्नेछु, मलाई पूर्ण रूपले नत्‍याग्‍नुहोस्‌। जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो। म आफ्‍नो सम्‍पूर्ण हृदयले तपाईंलाई खोज्‍छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्‌। तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। हे परमप्रभु, तपाईंको प्रशंसा होस्‌, तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌। मैले मेरा ओठले तपाईंको मुखबाट निस्‍केका सबै नियमहरूको वर्णन गरेको छु। धेरै धन-सम्‍पत्तिमा आनन्‍दित हुने मानिसजस्‍तै, म तपाईंका कानूनहरू पालन गर्नमा हर्षित हुन्‍छु। तपाईंका आदेशहरूमाथि म मनन गर्छु, र तपाईंका शिक्षामा म ध्‍यान दिनेछु। म तपाईंका विधिहरूमा आनन्‍द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरू धन्यका हुन्, जो निर्दोष जीवन जिउँछन्, जो याहवेहका व्यवस्थाअनुसार हिँड्छन्। तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्, र आफ्ना सारा हृदयले उहाँलाई खोज्दछन्। तिनीहरूले केही खराबी गर्दैनन्; तर उहाँका मार्गलाई पछ्याउँछन्। तपाईंका विधिहरू होशियारपूर्वक पालन गरौँ भनी तपाईंले हामीलाई आज्ञा दिनुभयो। अहो, तपाईंका उर्दीहरू पालन गर्नलाई, मेरा मार्गहरू दृढ भइदिए कति असल हुनेथियो! तब तपाईंका सम्पूर्ण आज्ञाहरू पालन गरेर म शर्ममा पर्नेथिइनँ। जब म तपाईंका धार्मिक नियमहरू सिक्दछु, तब म साँचो हृदयले तपाईंको प्रशंसा गर्नेछु। म तपाईंका उर्दीहरू पालन गर्नेछु; मलाई कहिल्यै नत्याग्नुहोस्! जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ? तपाईंको वचनअनुसार जीवन बिताएर नै हो। मेरो सारा हृदयले तपाईंलाई खोज्दछु; तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्! तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु। हे याहवेह, तपाईंको प्रशंसा होस्; तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्! तपाईंका मुखबाट निस्केका सम्पूर्ण नियमहरू मैले मेरा ओठले वर्णन गरेको छु। कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ, म तपाईंका कानुनहरू पालन गर्नमा नै आनन्दित हुन्छु। म तपाईंका विधिहरूमा मनन गर्छु, र तपाईंका मार्गहरूमा ध्यान दिन्छु। म तपाईंका उर्दीहरूमा रमाउनेछु; म तपाईंको वचन बिर्सनेछैनँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:1-16 पवित्र बाइबल (NERV)

शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ। परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्। तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्। ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्, तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्। परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो। परमप्रभु, यदि सधैँ तपाईंको विधिहरू पालन गरें भने, तब म कहिल्यै पनि लज्जित हुने छैन जब म तपाईंको आज्ञाहरू पालन गर्छु। जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु म साँच्चो रूपमा तपाईंको सम्मान गर्नेछु। परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु, कृपया मलाई नत्याग्नु होस्! तपाईंको विधिहरू अपनाएर कसरी एउटा युवा मानिस साँच्चो जीवन जिउन सक्छ? म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु। परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्। मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ। हे परमप्रभु, तपाईंको प्रशंसा होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्। म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु। म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा आनन्द पाउँछु। म तपाईंको विधि विषयमा चर्चा गर्नेछु। म तपाईंको जिउने पथको अनुशरण गर्नेछु। म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

निर्दोष जीवन बिताउनेहरू, जसले परमप्रभुको व्‍यवस्‍थाअनुसार आफ्‍नो जीवन बिताउँदछन्, तिनीहरू खुसी रहन्‍छन्। उहाँका आज्ञाअनुसार हिँड्‍नेहरू खुसी रहन्‍छन्, जसले आफ्‍ना पूरा हृदयले उहाँको आज्ञापालन गर्दछन्। तिनीहरूले कहिल्‍यै गल्‍ती गर्दैनन्, तिनीहरू परमप्रभुका मार्गमा हिँड्दछन्। परमप्रभु, तपाईंले हामीलाई आफ्‍ना व्‍यवस्‍था दिनुभएको छ, र तिनलाई विश्‍वासयोग्‍यतासाथ मान्‍न आज्ञा गर्नुभएको छ। तपाईंका शिक्षाहरू विश्‍वासयोग्‍यतासाथ पालन गर्न सकूँला भन्‍ने मेरो ठूलो आशा छ। तपाईंका सबै आज्ञाहरूमा मैले ध्‍यान दिएँ भने मलाई लाज हुनेछैन। तपाईंका उचित धार्मिक न्‍यायको विषयमा मैले सिक्‍दा म तपाईंलाई चोखो हृदयले प्रशंसा गर्नेछु। म तपाईंका व्‍यवस्‍थाहरू मान्‍नेछु; मलाई कहिल्‍यै नत्‍याग्‍नुहोस्! युवाहरूले आफ्‍नो जीवन कसरी पवित्र राख्‍न सक्‍छन्‌? तपाईंका आज्ञाहरू मानेर नै। मेरा सारा हृदयले म तपाईंको सेवा गर्ने कोसिस गर्दछु, मलाई तपाईंका आज्ञाहरू उल्लङ्‌घन गर्नदेखि बचाउनुहोस्। तपाईंको विरुद्धमा पाप नगरूँ भनी म तपाईंको वचन आफ्‍नो हृदयमा राख्‍दछु। हे परमप्रभु, म तपाईंको प्रशंसा गर्दछु, मलाई तपाईंका चालमा चल्‍न सिकाउनुहोस्। तपाईंले दिनुभएका सारा व्‍यवस्‍थाहरू दोहोर्‍याएर जोडले भन्‍नेछु। ठूलो सम्‍पत्ति पाउनुभन्दा तपाईंको आज्ञा मान्‍न म आनन्‍द पाउँछु। म तपाईंको अर्ती मनन गर्दछु र तपाईंको शिक्षाको जाँच गर्दछु। म तपाईंका नियममा आनन्‍द पाउँदछु, म तपाईंका आज्ञाहरू भुल्‍नेछैनँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:1-16

भजनसंग्रह 119:1-16 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्