भजनसंग्रह 115:1-18
भजनसंग्रह 115:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करुणा र विश्वसनीयताको खातिर तपाईंको आफ्नै नाउँको महिमा होस्। जातिहरूले किन यसो भन्छन्, “तिनीहरूका परमेश्वर कहाँ छन्?” हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ। तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुँदिएका, सुन र चाँदीका कलाहरू मात्र हुन्। तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन्। आँखा छन्, तर देख्न सक्दैनन्। कान छन्, तर सुन्न सक्दैनन्। नाक छन्, तर सुँघ्न सक्दैनन्। हात छन्, तर छाम्न सक्दैनन्। खुट्टा छन्, तर हिँड्न सक्दैनन्। तिनीहरू आफ्ना गलाबाट कुनै आवाजै निकाल्न सक्दैनन्। तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्। र तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्। हे इस्राएलको घराना, तिमीले परमप्रभुमा भरोसा राख— तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे हारूनको वंश, परमेश्वरमा भरोसा राख्— तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। तिमीहरू, जो परमप्रभुको भय मान्छौ, उहाँमा भरोसा राख: तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। परमप्रभुले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशीर्वाद दिनुहुनेछ। उहाँले इस्राएलको घरानालाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनको वंशलाई आशीर्वाद दिनुहुनेछ। ठूला र साना दुवै परमप्रभुका भय मान्नेहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ। परमप्रभुले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानलाई। स्वर्ग र पृथ्वी सृजनुहुने परमप्रभुबाट तिमीहरूलाई आशिष् मिलोस्। सर्वोच्च स्वर्ग त परमप्रभुकै हो, तर पृथ्वीचाहिँ उहाँले मानिस-जातिलाई प्रदान गर्नुभएको छ। मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, मृत-लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्। तर हामी त अहिले र सदासर्वदा परमप्रभुको स्तुति गर्दछौं। परमप्रभुको प्रशंसा गर!
भजनसंग्रह 115:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रो होइन, हे याहवेह, हाम्रो होइन, तर तपाईंको अचुक प्रेम र विश्वसनीयताको कारण, तपाईंकै नामको महिमा होस्! राष्ट्रहरूले किन यसो भन्छन्, “तिनीहरूका परमेश्वर कहाँ छन्?” हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ; उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, जसलाई मानिसहरूका हातहरूले बनाएका हुन्। तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्; तिनीहरूका कान त छन्, तर सुन्न सक्दैनन्; नाक त छन्, तर सुँघ्न सक्दैनन्; हात त छन्, तर स्पर्श गर्न सक्दैनन्; खुट्टा त छन्, तर हिँड्न सक्दैनन्; न त तिनीहरू आफ्ना गलाबाट कुनै आवाज नै निकाल्न सक्दछन्। मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्। हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ। हे हारूनका घराना हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ। याहवेहसँग डराउनेहरू हो, उहाँमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ। याहवेहले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशिष् दिनुहुनेछ; उहाँले आफ्ना प्रजा इस्राएललाई आशिष् दिनुहुनेछ; उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ। उहाँको डर मान्ने साना र ठूला सबैलाई याहवेहले आशिष् दिनुहुनेछ। याहवेहले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानहरूलाई। याहवेहले तिमीहरूलाई आशिष् देऊन्, जो आकाश र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ। स्वर्ग याहवेहकै हो, तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ। मृतकहरूले याहवेहको प्रशंसा गर्दैनन्; चिर निन्द्रामा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्; तर हामी त अहिले र सदासर्वदा नै याहवेहको स्तुति गर्दछौँ।
भजनसंग्रह 115:1-18 पवित्र बाइबल (NERV)
हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन। तपाईंको प्रेम र विश्वासले गर्दा सम्मान तपाईंको मात्र हो। किन ती जातिहरू “हाम्रा परमप्रभु कहाँ छन्?” भनेर छक्क पर्दछन्। परमप्रभु स्वर्गमा हुनुहुन्छ। अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ। ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्। तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्। ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्। तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्। तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्। तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन् तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन् तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन् अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्। ती मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन्, तिनीहरू त्यस्तै हुन्छन्! हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर! परमप्रभु तिनीहरूका बल र ढाल हुन्। हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख! परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ। हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर! परमप्रभु तिनीहरूका बल र ढाल हुन्। परमप्रभुले हामीलाई सम्झनुहुन्छ। परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ। परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ। परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ। महान् र क्षुद्र दुवैलाई आशीर्वाद दिनुहुनेछ। परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ। परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई धेरै भन्दा धेरै नै आशिर्वाद दिऊन्। परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, तिमीहरूलाई आशीर्वाद दिऊन्! स्वर्ग परमप्रभुको अधिकारमा छ। तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो। मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्। चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्। तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं, अनि हामी उहाँको प्रशंसा सदा-सर्वदा गर्छौं।
भजनसंग्रह 115:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंलाई मात्र, हे परमप्रभु, तपाईं एक्लैलाई, हामीलाई होइन, महिमा होस्, तपाईंको अन्नत प्रेम र विश्वासयोग्यताको कारण! किन जातिहरूले हामीलाई सोध्छन्, “तिम्रा परमेश्वर कहाँ हुनुहुन्छ?” हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। तिनीहरूका देवताहरू मानिसका हातले सुन र चाँदीबाट बनाएका हुन्। तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन्, आँखा छन् तर देख्न सक्दैनन्। तिनीहरूका कान छन् तर सुन्न सक्दैनन्; नाक छन् तर सुन्न सक्दैनन्, तिनीहरूका हात छन् तर छाम्न सक्दैनन्; खुट्टा छन् तर हिँड्न सक्दैनन्। तिनीहरूले अलिकति आवाज पनि निकाल्न सक्दैनन्। ज-जसले ती मूर्तिहरू बनाए र तिनमा भरोसा राख्छन्, तिनीहरू ती मूर्तिहरूजस्तै हुनेछन्। हे इस्राएलका प्रजा, परमप्रभुमाथि भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्छ। परमेश्वरका पूजाहारीहरू हो, तिमीहरू परमप्रभुमा भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्छ। उहाँलाई पुज्नेहरू सबै परमप्रभुमा भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्छ। परमप्रभुले हामीलाई याद गर्नुहुन्छ र आशिष् दिनुहुन्छ। उहाँले इस्राएलका प्रजा र परमेश्वरका सबै पूजाहारीहरूलाई आशिष् दिनुहुन्छ। उहाँलाई आदर गर्ने साना-ठूला सबैलाई उहाँले आशिष् दिनुहुन्छ। परमप्रभुले सन्तानहरू देऊन्; तिमी र तिम्रा छोरा-नातिहरूलाई पनि। स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्! स्वर्ग परमप्रभुको मात्र हो, तर पृथ्वीचाहिँ उहाँले मानिसलाई दिनुभयो। मरेकाहरू, जो मृत्यु-लोकमा पुगेका छन्, तिनीहरूले परमप्रभुको प्रशंसा गर्दैनन्। तर हामी जिउँदाहरूले अहिले र सदाकालको लागि उहाँलाई धन्यवाद चढाउनेछौं।