भजनसंग्रह 104:24-31
भजनसंग्रह 104:24-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्, आफ्नो बुद्धिमा तपाईंले ती सबै रच्नुभयो। तपाईंले सृष्टि गर्नुभएका यावत् थोकले पृथ्वी परिपूर्ण छ। त्यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगिन्ती जलचरहरू छन्, ठूला-साना दुवै थरीका जीवित प्राणीहरू त्यहाँ छन्। त्यहाँ जहाजहरू यताउता जान्छन्। त्यहाँ लिव्यातन् जन्तु पनि छ, जसलाई तपाईंले त्यहाँ खेल्नलाई रच्नुभयो। तपाईंबाट आफ्ना आहारा ठीक-ठीक समयमा पाउनका निम्ति ती सबैले तपाईंतिरै हेरेर आशा राख्छन्। तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन्। तपाईंले आफ्नो मुट्ठी फुकाउनुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्त हुन्छन्। तपाईंले आफ्नो मुहार छोप्नुहुँदा तिनीहरू भयभीत हुन्छन्। तपाईंले तिनीहरूको सास लिनुहुँदा, ती मरिहाल्छन्, र फेरि धूलोमा नै फर्कन्छन्। तपाईंले आफ्ना आत्मा पठाउनुहुँदा, तिनीहरूको सृष्टि हुन्छ, र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ। परमप्रभुको महिमा सदा भइरहोस्, परमप्रभु आफ्ना कार्यहरूमा प्रसन्न होऊन्।
भजनसंग्रह 104:24-31 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो। पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ। हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं। समुद्रलाई हेर त्यो कति ठूलो छ। अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ। त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्। त्यस समुद्रमा जहाजहरू चल्दछ, लिब्यातान समुद्रमा खेल्छ। महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो। परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन् तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ। परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ। तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ, अनि तृप्त नहुन्जेलसम्म तिनीहरू खान्छन्। जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ, तिनीहरू भयभीत हुन्छन्। तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन् अनि तिनीहरूका शरीरहरू फेरि धूलोको कण नै बन्दछन्। तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ, अनि तिनीहरू स्वास्थ्य हुन्छन्। अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ। परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्! उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
भजनसंग्रह 104:24-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु, तपाईंले यति धेरै चीजहरू बनाउनुभएको छ, कस्तो महान् बुद्धिले तपाईंले ती सबै बनाउनुभयो, तपाईंको सृष्टिले यो पृथ्वी भरिएको छ। ठूला-साना, अनगन्ती जीवजन्तुहरू बास गर्नलाई ठूला र चौडा महासागर छन्। त्यसमा जहाजहरू चल्दछन् र तपाईंले बनाउनुभएको जल-जन्तु लिव्यातन् त्यहाँ खेल्दछ। आफूलाई चाहेका बेलामा आहार पाउन तिनीहरू सबै तपाईंमा भर पर्दछन्। तपाईंले आहार दिनुहुन्छ र तिनीहरूले खान्छन्, तपाईंले दिनुभएको आहारले तिनीहरू अघाउँदछन्। जब तपाईंले आफ्नो मुहार फर्काउनुहुन्छ, तिनीहरू डराउँछन्, जब तपाईंले तिनीहरूको सास रोक्नुहुन्छ, तिनीहरू मर्दछन् र जुन धुलोबाट तिनीहरू आएका थिए, त्यहीँ फर्किजान्छन्। तर जब तपाईंले तिनीहरूलाई सास दिनुहुन्छ, तिनीहरूको सृष्टि हुन्छ, तपाईं पृथ्वीलाई नयाँ जीवन दिनुहुन्छ। परमप्रभुको महिमा सदाकाल रहोस्! परमप्रभु आफ्ना सृष्टिसँग प्रसन्न रहून्!