YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 103:1-18

भजनसंग्रह 103:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, ए मेरो सारा अन्‍तस्‍करण, उहाँको पवित्र नाउँको स्‍तुति गर्‌। हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, र उहाँका सबै उपकारहरू नबिर्सी— जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ, जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्‍छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्‍छ, जसले, तेरा इच्‍छाहरू उत्तम कुराले तृप्‍त गर्नुहुन्‍छ, ताकि तेरो जवानी चीलको जस्‍तै फेरि नयाँ होस्‌। थिचोमिचोमा परेकाहरू सबैका निम्‍ति परमप्रभुले धार्मिकता र न्‍यायको काम गर्नुहुन्‍छ। उहाँले मोशालाई आफ्‍ना मार्ग, र इस्राएलीहरूलाई आफ्‍ना काम प्रकट गर्नुभयो। परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्‍छ। उहाँले सधैँ दोष लगाइरहनुहुन्‍न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्‍नुहुन्‍न। उहाँले हामीसँग हाम्रा पापअनुसारको व्‍यवहार गर्नुहुन्‍न, अनि हाम्रा अधर्मअनुसार हामीलाई दण्‍ड दिनुहुन्‍न। किनकि पृथ्‍वीबाट स्‍वर्ग जत्ति अग्‍लो छ, उहाँका भय मान्‍नेहरूमाथि उहाँको करुणा त्‍यत्तिकै महान्‌ छ। पश्‍चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्‍यत्तिकै टाढ़ा हटाइदिनुभएको छ। जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई टिठ्याउँछन्‌, त्‍यसरी नै उहाँका भय मान्‍नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्‍छ। किनभने उहाँ जान्‍नुहुन्‍छ, हाम्रो सृष्‍टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्‍झनुहुन्‍छ। मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्‍यो ढकमक्‍क फुल्‍दछ, अनि बतास त्‍यस फूलमाथि भएर जान्‍छ, र त्‍यो विलीन हुन्‍छ, र त्‍यसको ठाउँले पनि त्‍यसको याद गर्दैन। तर परमप्रभुको करुणा आफ्‍ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्‍तदेखि अनन्‍तसम्‍म रहन्‍छ— तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्‌, र उहाँका आदेशहरू पालन गर्न ख्‍याल गर्छन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 103 पढ्नुहोस्

भजनसंग्रह 103:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

ए मेरो प्राण, याहवेहको प्रशंसा गर्; ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नामको प्रशंसा गर्! ए मेरो प्राण, याहवेहको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी— जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ; र जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ; जसले तेरो जीवनलाई चिहानबाट छुटाउनुहुन्छ; र तँलाई प्रेम र करुणासहितको मुकुट लगाइदिनुहुन्छ; जसले तेरो जीवनलाई उत्तम कुराहरूले तृप्‍त गरिदिनुहुन्छ; ताकि तेरो जवानी चीलको जस्तै नयाँ होस्। थिचोमिचोमा परेकाहरू सबैका निम्ति याहवेहले धार्मिकता र न्यायको काम गर्नुहुन्छ। उहाँले आफ्नो मार्ग मोशालाई, आफ्नो काम इस्राएलीहरूलाई प्रकट गर्नुभयो: याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र प्रेमले भरिपूर्ण। उहाँले सधैँ दोष लगाइरहनुहुन्‍न, न त आफ्नो क्रोध सदासर्वदा लिइरहनुहुन्छ; उहाँले हामीसित हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्‍न, न त हाम्रा अधर्मअनुसार हामीलाई बदला लिनुहुन्छ। किनकि पृथ्वीबाट स्वर्ग जति उच्‍च छ, उहाँका डर मान्‍नेहरूमाथि उहाँको अचुक प्रेम त्यत्ति नै महान् छ। पश्‍चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनुभएको छ। जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै याहवेहले उहाँको भय मान्‍नेहरूलाई टिठ्याउनुभएको छ; किनकि उहाँले हाम्रो बनावट जान्‍नुहुन्छ, हामी धुलो मात्र हौँ भनी उहाँ सम्झनुहुन्छ। मानिसको आयु घाँसजस्तो छ, मैदानका फूलझैँ त्यो ढकमक्‍क फुल्दछ; अनि बतास त्यस फूलमाथि भएर जाँदा त्यो विलाएर जान्छ; र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। तर याहवेहको अचुक प्रेम, उहाँको भय मान्‍नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ— तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 103 पढ्नुहोस्

भजनसंग्रह 103:1-18 पवित्र बाइबल (NERV)

मेरो आत्मा, परमप्रभुको प्रशंसा गर! प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ। हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ। परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ। उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ। परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ। परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ। उहाँले हाम्रो जवानीलाई गरूड़ जस्तो नयाँ तुल्याउनुहुन्छा। परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ, जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ। परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो। परमेश्वरले उहाँको शक्तिशाली कामहरू इस्राएल का मानिसहरूलाई देखाउनु भयो। परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ। परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ। परमप्रभुले सधैँ आलोचना गर्नु हुन्न परमप्रभु सधैँ हामीसँग क्रोधित भएर बस्नु हुन्न। हामीले परमेश्वरको विरूद्ध पाप गर्यौं। तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन, जसको लागि हामी योग्य थियौं। परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ। अनि परमेश्वरले हाम्रो पापहरू पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो। परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ, जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ। परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ, हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ। हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं। जुन फूलहरू छिट्टै हुर्किन्छन्,। त्यसपछि तातो बतासको झोका आएर मर्छन। झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो। तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँको करार पालन गर्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँको आदेश पालन गर्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 103 पढ्नुहोस्

भजनसंग्रह 103:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे मेरो आत्‍मा, परमप्रभुको प्रशंसा गर्‌! हे मेरो प्राण, उहाँको पवित्र नामको प्रशंसा गर्‌! हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌ र उहाँ कस्‍तो दयालु हुनुहुन्‍छ, नबिर्सी। उहाँले मेरा सबै पाप क्षमा गर्नुहुन्‍छ र उहाँले मेरा सबै रोगहरू निको पार्नुहुन्‍छ। उहाँले मलाई मृत्‍युदेखि बचाउनुहुन्‍छ र प्रेम र दयामायाले आशिष् दिनुहुन्‍छ। उहाँले मेरो जीवन असल कुराहरूले भर्नुहुन्‍छ र मेरो जवानी चिलको जस्तै नयाँ हुन्छ। परमप्रभुले सताइएकाहरूका पक्षमा निसाफ दिनुहुन्‍छ र तिनीहरूलाई तिनीहरूको हक दिनुहुन्‍छ। उहाँले आफ्‍नो योजना मोशालाई देखाउनुभयो र इस्राएलका प्रजालाई आफ्‍ना सामर्थी कामहरू देखाउनुभयो। परमप्रभु दयालु र प्रेमिलो, रिस गर्नमा ढीला र अनन्‍त प्रेमले पूर्ण हुनुहुन्‍छ। उहाँले हकारिरहनुहुन्‍न, सधैँ रिसाउनुहुन्‍न। हामीले पाउनुपर्ने उचित दण्‍ड उहाँले हामीलाई दिनुहुन्‍न, हाम्रा पाप र अपराधअनुसार उहाँले हामीलाई दण्‍ड दिनुहुन्‍न। स्‍वर्ग पृथ्‍वीदेखि जति अग्‍लो छ, आफूलाई आदर गर्नेहरूप्रति उहाँको प्रेम त्‍यत्ति नै महान् छ। पूर्व दिशा पश्‍चिमदेखि जति टाढा छ, त्‍यति नै टाढा उहाँले हाम्रा पाप हामीदेखि हटाइदिनुहुन्‍छ। एउटा बुबा आफ्‍ना छोरा-छोरीहरूसँग जति दयालु हुन्‍छ, आफ्‍ना आदर गर्नेहरूसँग परमप्रभु त्‍यति नै दयालु हुनुहुन्‍छ। हामी केले बनिएका छौं, उहाँले जान्‍नुहुन्‍छ, हामी माटो मात्र हौं भनी उहाँलाई याद छ। हाम्रो बारेमा चाहिँ: हाम्रो जीवन घाँसजस्‍तै छ, जङ्गली फूलझैँ हामी फुल्‍दछौं र बढ्छौं; तब हावा त्‍योमाथि बहन्‍छ र त्‍यो उडि जाँदछ र त्‍यसलाई फेरि कसैले देख्‍दैनन्। तर परमप्रभुलाई आदर गर्नेहरूको लागि चाहिँ उहाँको प्रेम सदाकालको निम्‍ति रहनेछ। उहाँको करार साँचो प्रकारले मान्‍नेहरूमाथि र उहाँका आज्ञा विश्‍वासयोग्‍यसाथ पालन गर्नेहरूमाथि तिनीहरूका पुस्‍ता-पुस्‍तासम्‍म उहाँको भलाइ रहिरहनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 103 पढ्नुहोस्