YouVersion लोगो
खोज आइकन

हितोपदेश 8:14-26

हितोपदेश 8:14-26 पवित्र बाइबल (NERV)

मसँग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसँग समझशक्ति अनि सामर्थ्य छन्। मेरै सहायतामा राजाहरूले राज गर्छन्, अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ। राजकुमारहरू, राजकीय मानिसहरू, निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्। म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्। धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु। मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन् औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्। म मानिसहरूलाई सही मार्गमा डोर्याउँछु, म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याउँछु। मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु, हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु। “परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो। यो संसार सृजना गरिनु भन्दा पहिला अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो। जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ। पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए। पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि, पहाडहरू हुनु भन्दा अघि म जन्मिएको थिएँ। परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै, पृथ्वीमा पहिलो धूलो बनाउँनु भन्दा अघि नै, म त्यहाँ थिएँ।

शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्

हितोपदेश 8:14-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म योजना बनाउँदछु र त्‍यसअनुसार काम गर्दछु, मसित समझशक्ति र सामर्थ्‍य छ। राजाहरूलाई राज-काज चलाउन र शासकहरूलाई असल कानुन बनाउन म सहायता दिँदछु। मेरो मद्दतले हरेक शासकले पृथ्‍वीमा शासन गर्दछ, राजनीतिज्ञहरू र कुलिन व्‍यक्तिहरूले पनि त्‍यसै गर्छन्। मलाई प्रेम गर्नेलाई म प्रेम गर्दछु, मलाई खोज्‍नेले मलाई भेट्टाउँदछ। धन, इज्‍जत, उन्‍नति र सफलता मसँग छन्। तैँले जे मबाट प्राप्‍त गर्छस्; त्‍यो निखुर सुन र शुद्ध चाँदीभन्दा असल हुन्‍छ। म धार्मिकताको बाटो र न्‍यायको मार्गमा हिँड्दछु। मलाई प्रेम गर्नेहरूलाई धन-सम्‍पत्ति दिँदछु र तिनीहरूका घरका भण्‍डार दामी कुराहरूले भरिदिन्‍छु। “परमप्रभुले सृष्‍टिको सुरुमा नै उहाँका सबै कामहरूभन्दा पहिले मलाई सृष्‍टि गर्नुभयो। आदिमा नै, संसारको उत्‍पत्तिभन्दा अघि, सबैभन्दा पहिले मलाई नै बनाउनुभयो। महासागरहरू बनिनुअघि, पानीको मूलहरू फुट्‍नुअघि मेरो जन्‍म भएको थियो। पहाड-पर्वत र डाँडा-काँडाहरू स्‍थापित हुनुभन्दा अघि नै म जन्‍मेको थिएँ, अँ, परमेश्‍वरले पृथ्‍वी, जमिन र माटो बनाउनुभन्दा अघि नै।

शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्

हितोपदेश 8:14-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सरसल्‍लाह र उचित फैसला मबाटै हुन्‍छन्, मसँग समझशक्ति र सामर्थ्‍य छन्‌। मद्वारा नै राजाहरू राज्‍य गर्छन्, र शासकहरू उचित कानून बनाउँछन्, मद्वारा नै राजकुमारहरू राज्‍यव्‍यवस्‍था चलाउँछन्, र सबै उच्‍च अख्‍तियारवालहरू पृथ्‍वीभरि शासन गर्दछन्‌। मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्‍नेहरूले मलाई भेट्टाउँछन्‌। मसँग वैभव र आदर, टिक्‍ने धन-सम्पत्ति र समृद्धि छन्‌। मेरो फल निखुर सुनभन्‍दा उच्‍च छ। जे म उत्‍पादन गर्छु, त्‍यसले असल चाँदीलाई उछिनिदिन्‍छ। म धार्मिकताको बाटो र न्‍यायको मार्गमा हिँड्‌छु। मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तीले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्‍डार भरिदिनेछु। “परमप्रभुले सृष्‍टिको प्रारम्‍भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्‍दा पहिले नै। अनन्‍तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्‍दा पहिले, संसार सुरु हुनुभन्‍दा पनि पहिले नै। महासागर नहुँदै मेरो जन्‍म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्‍दा अघि नै। पर्वतहरू आ-आफ्‍नो स्‍थानमा स्‍थापित हुनुभन्‍दा पहिले नै, पहाड़हरूभन्‍दा अघि नै मेरो जन्‍म भएको थियो। उहाँले पृथ्‍वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्‍दा अघि नै म सृजिएको थिएँ।

शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्