हितोपदेश 8:1-11
हितोपदेश 8:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सुन! बुद्धि चिच्च्याइरहेको छ, चेतनाले सोर उचालिरहेको छ; बाटाको छेउ, डाँडा-डाँडा र चौबाटामा त्यो खड़ा हुन्छ। सहरको मूल-ढोका र प्रवेशद्वारमा चर्को सोरले त्यो यसरी कराउँदछ: “हे मानिसहरू हो! म तिमीहरूलाई उजुर गर्दछु, पृथ्वीका हरेक मानिसलाई पुकार्दछु। के तिमीहरू बालक नै छौ? पाको हुन सिक। के मूर्ख छौ? ज्ञानी हुन सिक। मेरा उत्तम वचनहरू सुन, मैले बोलेका सबै कुरा ठीक छन्। मैले भनेको कुरा साँचो छ, म झूटो कुरा घृणा गर्दछु। मैले भनेको हरेक कुरा सत्य छ, झूटो वा धोका दिने कुनै कुरा छैन, जसले बुझ्न सक्छ, त्यसको लागि सबै स्पष्ट छ, जसको अन्तर्दृष्टि छ, त्यसको लागि सबै सरल छ। चाँदीको सट्टामा मेरो अर्ती लेऊ, निखुर सुन होइन, ज्ञान रोज। “म बुद्धि हुँ, म हीरा-मोतीभन्दा असल छु, तिमीहरूले चाहेका कुनै कुराको मसित तुलना हुन सक्दैन।
हितोपदेश 8:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्नो आवाज उच्च पार्दैन र? बाटोका उच्च ठाउँहरूमा, चौबाटोमा त्यो खड़ा हुन्छ, सहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, त्यो चर्को स्वरले यसरी कराउँछ: “हे मानिसहरू हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव-जातिलाई मेरो आवाज सुनाउँछु। हे निर्बुद्धि हो, बुद्धि प्राप्त गर। हे मूर्ख हो, समझशक्ति प्राप्त गर। सुन, तिमीहरूलाई बताउनुपर्ने आदरणीय कुराहरू मसँग छन्, ठीक कुरा बोल्न म मेरो मुख खोल्छु। मेरो मुखले साँचो कुरा बोल्दछ, किनभने मेरा ओठले दुष्टता घृणा गर्छन्। मेरो मुखका सबै वचनहरू न्यायपूर्ण छन्, तिनीहरूमध्ये कुनै पनि बाङ्गोटिङ्गो छैन। विवेकशील व्यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्ति ती खोटरहित छन्। चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्दा त बरु ज्ञान नै खोज, किनभने बुद्धि मानिकभन्दा बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन।
हितोपदेश 8:1-11 पवित्र बाइबल (NERV)
के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र? ऊ अग्लो ठाउँहरू माथि उभिन्छे, जहाँबाट दोबाटो देखिन्छन्। ऊ शहरको प्रवेशद्वार नजिक छे, उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे। ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सबै मानिसहरूलाई बोलाउँदैछु। तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक। हे मूर्खहरू हो, बुझ्न सिक। तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु। मेरा वचनहरू सत्य हुन। किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्। मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन् अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्। यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल छन्। मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो। ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”