हितोपदेश 4:20-26
हितोपदेश 4:20-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; मेरा वचनहरू ध्यानसित सुन। ती तिम्रो दृष्टिदेखि अलग हुन नदेऊ; ती तिम्रो हृदयभित्र राख, किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्, र सारा शरीरको निम्ति स्वास्थ्य हो। यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; किनकि यो नै सारा जीवनको मूल हो। तिम्रो मुखबाट भ्रष्टता टाढै रहोस्, भ्रष्ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्। तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्। तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ!
हितोपदेश 4:20-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो छोरा, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन्। ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्। किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो। कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्। तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्तिर सोझै एक टक लाएर हेरोस्। तैंले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर्। र ती मार्गहरू मात्रै रोज् जुन निश्चित छन्।
हितोपदेश 4:20-26 पवित्र बाइबल (NERV)
हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्। ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामनेबाट टाढा नराख। मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दुरूस्ती दिन्छ। सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो। तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ झूटो नबोल। तिम्रा आँखाहरू अघि सधैँ मार्ग सोझो रहोस् र आँखाको पलकले सधैँ अघि नै ताकिरहेको होस्। तिमी हिँडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ।
हितोपदेश 4:20-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ए मेरो छोरो, मेरो कुरामा ध्यान दे। मेरा वचन सुन्। ती तँबाट उम्कन नदे, ती याद राख् र तेरो हृदयमा लिइराख्। मेरो कुरा बुझ्नेले जीवन र स्वास्थ्य प्राप्त गर्नेछ। आफ्ना सोचबारे होशियार बस्, तेरो सोचअनुसार तेरो जीवन बन्दछ। कहिले झूटा नबोल्, झूटा र छल-कपटका कुराहरूबाट अलग बस्। इमानदारी र विश्वासका साथ आफ्नो अघि सीधा हेर्, लाजले तेरो शिर निहुरिन नपरोस्। आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्यो ठीक हुनेछ।