हितोपदेश 4:1-8
हितोपदेश 4:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्त गर। म तिमीहरूलाई उचित कुरा सिकाउँछु, यसकारण मेरो शिक्षालाई नत्याग! किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, मेरी आमाको कोमल र प्यारो छोरो थिएँ। मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो, “तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख, मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ। बुद्धि प्राप्त गर, समझशक्ति प्राप्त गर; मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ। बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ। बुद्धि सर्वोच्च हो, यसकारण बुद्धि प्राप्त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्त गर। बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्च पार्नेछ, यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ।
हितोपदेश 4:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरा छोराहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान देओ र समझशक्ति प्राप्त गर। किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु, यसैकारण मेरो अर्तीलाई नत्याग। जब म आफ्ना बुबाको घरमा एक ठिटो थिएँ, कलिलै अवस्थाको, र मेरी आमाको एकमात्र छोरा, उहाँले मलाई शिक्षा दिनुभयो र भन्नुभयो, “तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्, मेरा आज्ञाहरू पालन गर् र तँ जिउनेछस्। बुद्धि प्राप्त गर्, समझशक्ति प्राप्त गर्, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा। बुद्धिलाई नत्याग्, र त्यसले तँलाई सुरक्षित राख्नेछ। त्यसलाई प्रेम गर्, र त्यसले तँमाथि हेरचाह गर्नेछ। बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर्। तँसँग भएका सबै कुराले मूल्य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्त गर्। त्यसलाई कदर गर्, र त्यसले तँलाई उच्च पार्नेछ। त्यसलाई अँगाल्, र त्यसले तँलाई आदर दिनेछ।
हितोपदेश 4:1-8 पवित्र बाइबल (NERV)
हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ। म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग। एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो। अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ। ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु। ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिम्रो रक्षा गर्नेछ। “सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच। ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अङ्गाल यसले तिमी मा सम्मान ल्याउनेछ।
हितोपदेश 4:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ए मेरा छोराहरू हो! आफ्ना बुबाको अर्ती सुन, तिनमा ध्यान देओ र तिमीहरूलाई समझशक्ति प्राप्त हुनेछ। म तिमीहरूलाई जे सिकाउँछु, त्यो उत्तम छ यसकारण त्यसलाई नत्याग। म बालक छँदा आमाको एक्लो छोरो थिएँ। मेरा बुबाले मलाई शिक्षा दिनुहुन्थ्यो। उनले यसो भन्थे, “मेरा कुरा याद राख् र कहिल्यै नभुल्। मैले भनेजस्तो गर् र जीवन पाउनेछस्। बुद्धि र अन्तर्दृष्टि प्राप्त गर्! मैले भनेका कुरा नभुल वा नसुनेजस्तो नगर्। बुद्धिलाई नत्याग्, त्यसले तेरो रक्षा गर्नेछ, त्यसलाई प्रेम गर्, त्यसले तँलाई कुशलसाथ राख्नेछ। बुद्धि प्राप्त गर्नु तेरो सबैभन्दा ठूलो काम हो। अरू जे-जति पाउन सके पनि अन्तर्दृष्टि प्राप्त गर्। बुद्धिलाई प्रेम गर्, त्यसले तँलाई महान् बनाउनेछ। त्यसलाई अँगालो हाल् र त्यसले तँलाई इज्जत दिनेछ।