हितोपदेश 12:13-28
हितोपदेश 12:13-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खराब मानिस आफ्नै पापी कुराले पासोमा पर्छ, तर धर्मी मानिस सङ्कष्टबाट उम्कन्छ। मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्छ, आफ्नो हातका कामको इनाम त्यसले निश्चय नै पाउनेछ। मूर्खको बाटो आफ्नो नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। मूर्खले आफ्नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्लिदिन्छ। एक सत्यवादी साक्षीले ईमानदार गवाही दिन्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ। असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ। सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ। खराब युक्ति रच्नेहरूको हृदय छली हुन्छ, तर शान्तिको बढौती गर्नेलाई रमाहट हुन्छ। धर्मीमाथि हानि आइपर्दैन, तर दुष्टहरू दु:ख-कष्टले भरिएका हुन्छन्। परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ। एक समझदार मानिसले आफ्नो ज्ञान आफूसँगै राख्छ, तर मूर्खको हृदयले आफ्नो मूर्खता झ्वाट्टै प्रकट गर्छ। लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्यचाहिँ कमारोपन हो। चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। धर्मी मानिस आफ्नो मित्रतामा सचेत रहन्छ, तर दुष्टको बाटोले तिनीहरूलाई बरालिदिन्छ। अल्छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्पत्ति पाउँछ। धार्मिकताको मार्गमा जीवन हुन्छ, त्यस मार्गको सँगसँगै अमरत्व छ।
हितोपदेश 12:13-28 पवित्र बाइबल (NERV)
दुष्ट मानिस आफ्नै खराब शब्दहरूका चंगुलमा फस्छ तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन। मानिसको व्याख्याले धेरै असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ। एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच्छ तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ। एकजना मूर्ख मानिस छिटो रिसाउँछ, तर एक समझदार मानिस उसको अपमान सहन्छ। एक सत्यवादी गवाहीले सत्य बयान दिन्छ तर एउटा झूटो साक्षीद्वारा दिएको बयान, झूटो हुन्छ। विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ। जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ। ती जसले दुष्ट योजना बनाउँछन् मनमा छलकपट लुकाउँछन् तर ती जो शान्ति मार्गको उपदेश दिन्छन् सुखी हन्छन। एकजना धर्मी व्याक्तिलाई हानी हुने छैन, दुष्टले धेरै दु:ख पाउँछ। परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ। एकजना समझदार तथा ज्ञानी मानिसले आफ्नो ज्ञान आफूसित राख्छ, तर मूर्खले भने आफ्नो मूर्खता पूर्ण कुराहरू लगत्तै बोली हाल्छ। मेहनती मानिस निरीक्षक बनाइन्छ, तर अल्छे मानिस सधैँ कमारो हुनेछ। चिन्ताले मानिसको सुखलाई लुटछ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ। धर्मी मानिसहरू सही काम गर्नुको निम्ति, एक साथ मिलेर काम गर्छन् तर दुष्ट मानिसहरूले बरालिने बाटो लिन्छन्। एकजना अल्छी मानिसले उसको शिकार भेट्दैन, तर परिश्रमी मानिसले धेरै सम्पत्ति प्रप्त गर्नेछ। धार्मीकताको मार्गले जीवनमा डोर्याउँछ तर अधर्मीको मार्गले मृत्युमा डोर्याउँछ।
हितोपदेश 12:13-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्ट मानिसलाई उसकै वचनले पासोमा फसाउँछ तर इमानदार मानिस दु:ख-कष्टबाट बाँच्दछ। तिम्रा वचन र कामअनुसार तिमीले इनाम पाउनेछौ। तिमी जे पाउन योग्य छौ, त्यही पाउनेछौ। मूर्खहरूले सधैँ आफैंलाई ठीक छौं भनी सम्झन्छन्। बुद्धिमान्हरूले सल्लाहका कुरा सुन्छन्। मूर्ख रिसाउँदा त्यसले झट्टै आफ्नो रिस पोखाउँदछ। समझदार मानिसहरूले अपमान भएकोमा ध्यान दिँदैनन्। सत्य वचन बोल्दा न्यायको जगेरा हुन्छ, झूटो वचनले अन्याय ल्याउँदछ। नसोची बोलेका शब्दले तरवारले झैँ गहिरो चोट लाउन सक्दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ। झूटो थोरै समयको निम्ति मात्र हो तर सत्य सदा रहिरहन्छ, दुष्ट उपाय निकाल्नेहरू आफूले नचिताएअनुसार धोकामा पर्नेछन् तर जसले भलाइ गर्छन्, तिनीहरू रमाउनेछन्। धर्मी मानिसलाई केही खराबी हुँदैन तर दुष्टमाथि दु:खै-दु:ख मात्र हुन्छ। झूटो बोल्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर आफ्ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्छ। समझदार मानिसहरूले आफूले जानेका कुरा प्रकट गरिहिँड्दैनन् तर मूर्खहरूले आफ्नो मूर्खता प्रचार गर्छन्। कठोर परिश्रमले शक्ति दिँदछ तर अल्छी बन्नाले कमारो होइन्छ। चिन्ताले तिम्रो आनन्द लुट्छ तर दयालु वचनले हर्षित तुल्याउँदछ। धर्मी मानिस आफ्ना साथीको असल अगुवा हुँन्छ तर दुष्टको बाटोले नजानुपर्ने दिशातिर लैजान्छ। अल्छीले चिताएको पुग्दैन तर मेहनतीले धेरै धन कमाउँछ। धार्मिकता नै जीवनको बाटो हो, दुष्ट्याइँचाहिँ मृत्युको बाटो हो।