हितोपदेश 1:1-7
हितोपदेश 1:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश: जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्, सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्। बुद्धिमान्ले सुनून् र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्, जसद्वारा हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान्को आहान र रहस्यका कुराहरू तिनीहरूले बुझून्। परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।
हितोपदेश 1:1-7 पवित्र बाइबल (NERV)
यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए। मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहण गर्न सिकाउँछन्। यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, ईमान्दार हुन सही मार्गदर्शन गर्छन्। यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्। बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्। तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन्। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्। परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।
हितोपदेश 1:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊदका छोरा इस्राएलका राजा सोलोमनका उखानहरू: बुद्धि र शिक्षाका कुरा चिन्न र गहिरो अर्थ भएका उक्तिहरू बुझ्न सिकाउने उखानहरू यहाँ छन्। उखानहरूले जीवनमा कसरी बुद्धिमानीसित चल्ने र इमानदार, न्यायी र सोझो हुने भनी सिकाउँछन्। अनजान मानिसलाई चतुर र जवान व्यक्तिलाई समझदार बनाउँछन्। यी उखानहरूले ज्ञानी मानिसहरूको ज्ञान भण्डार बढाउँछन् र पढे-लेखेकाहरूलाई बाटो देखाउँछन्। त्यसरी तिनीहरूले उखानभित्रका गहिरो अर्थ र बुद्धिमान् मानिसहरूका अड्को बुझ्न सक्नेछन्। ज्ञान प्राप्त गर्न पहिले परमप्रभुको भय राख्नुपर्छ। मूर्खहरूले बुद्धिको कदर गर्दैनन् र शिक्षा लिने मन गर्दैनन्।