फिलिप्पी 4:4-8
फिलिप्पी 4:4-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।
फिलिप्पी 4:4-8 नेपाली समकालीन संस्करण (NCV)
प्रभुमा सधैं आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर! तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्विन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गर। तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ। अन्त्यमा, दाजुभाइ-दिदीबहिनीहरूहो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो ठीक छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेमको योग्य छ, जे कुरो सराहनीय छ, यदि केही कुरा सर्वश्रेष्ठ र प्रशंसायोग्य छ भने, यी नै कुराहरूको विचार गर।
फिलिप्पी 4:4-8 पवित्र बाइबल (NERV)
सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ। मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ। कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं। दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर।
फिलिप्पी 4:4-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रभुमा सधैँ आनन्द मनाओ, फेरि भन्दछु, आनन्द मनाओ। तिमीहरूले सबैसँग राम्रो व्यवहार गर। प्रभु चाँडै आउनुहुन्छ। केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ। परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ। आखिरमा दाजुभाइहरू, तिमी सत्य, असल, ठीक, स्वच्छ, सुन्दर, आदरणीय र प्रशंसनीय कुरामा मन लगाओ।