YouVersion लोगो
खोज आइकन

फिलिप्पी 1:20-27

फिलिप्पी 1:20-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरो उत्‍कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित्‌ लज्‍जित हुनेछैनँ, तर ममा प्रशस्‍त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्‍ट सम्‍मानित हुनुहुनेछ, चाहे मृत्‍युद्वारा होस्, अथवा जीवनद्वारा। किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्‍ति त्‍यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्‍नुपर्ने हो, त्‍यो म भन्‍न सक्‍दिनँ। म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्‍छा छ, किनभने यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूका खातिर झन्‌ आवश्‍यक छ। यस कुरामा निश्‍चित भएर म जान्‍दछु कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्‍दको निम्‍ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्‍नेछु, यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्‍त कारण होस्‌। केवल तिमीहरूका जीवनको चाल ख्रीष्‍टका सुसमाचारको योग्‍य होस्‌। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्‍थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्‍न चाहन्‍छु, कि तिमीहरू एउटै आत्‍मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्‍वासको निम्‍ति मिलेर परिश्रम गर्दछौ

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:20-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्‍ट उच्‍च पारिनुहुनेछ। किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो र मर्नुचाहिँ लाभ हो। यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ! म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ। तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। म निश्‍चित भएको छु; यसकारण तिमीहरू सबैको उन्‍नति र विश्‍वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु; यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्। जेसुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रीष्‍टको सुसमाचारको योग्य होस्। तब चाहे म आएर तिमीहरूलाई देखूँ, अथवा अनुपस्थित रहेर तिमीहरूका बारेमा सुनूँ, म यही कुरा थाहा पाउन चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ, र सुसमाचारको विश्‍वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:20-27 पवित्र बाइबल (NERV)

मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म सधैँ आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठूलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहुँ यो काम गरि रहनेछु। मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो। यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ। जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो। तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। जब यो म जान्दछु म यहीं बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु। जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ। होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढ़दैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:20-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मेरो कर्तव्‍यबाट नचुकूँ तर जुनै समय पनि विशेषगरी अहिले म आँटिलो बनेर मरे पनि, बाँचे पनि मेरा सम्‍पूर्ण जीवनले ख्रीष्‍टको आदर होस् भन्‍ने मेरो ठूलो इच्‍छा र आशा छ किनभने मैले जिउनु नै ख्रीष्‍ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्‍ने, सो छान्‍न मलाई गाह्रो पर्‍यो। म दोधारमा परेको छु। यो संसार छोडेर ख्रीष्‍टकै साथमा रहन पनि मलाई ठूलो इच्‍छा छ। जुनचाहिँ एकदमै राम्रो कुरो हो। तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। मलाई यो पक्‍का थाहा छ। यसकारण तिमीहरूलाई विश्‍वासमा उन्‍नति गराउन र तिमीहरूको आनन्‍द अझ बढाउन म बाँच्‍नेछु। म तिमीहरूकहाँ फेरि आउँदा मेरो कारणले तिमीहरूले ख्रीष्‍ट येशूको अझ बढी जय-जयकार गर्न सक्‍नेछौ। मुख्‍य कुराचाहिँ यही नै हो, ख्रीष्‍टको सुसमाचारलाई सुहाउने तिमीहरूको चालचलन होस्। यसकारण मैले तिमीहरूलाई भेटे पनि, नभेटे पनि तिमीहरू एउटै उद्देश्‍य लिई स्‍थिर भएर एउटै इच्‍छामा सुसमाचारको विश्‍वासको निम्‍ति लड्दै छौ भन्‍ने मैले सुन्‍न पाँऊ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्