फिलेमोन 1:17-25
फिलेमोन 1:17-25 नेपाली समकालीन संस्करण (NCV)
यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने, तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उनलाई पनि स्वागत गर। यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने, त्यो मेरो हिसाबमा राखिदेऊ। म पावल आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। यो भनिरहनु नपर्ला, कि तिमी स्वयम् पनि मप्रति ऋणी छौ। प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ। तिम्रो आज्ञाकारीताको कारण निश्चिन्त भएर मैले भनेको भन्दा बढी तिमीले गर्नेछौ भनी जानेर म यो लेख्दैछु। अनि अझ अर्को कुरा, मेरो निम्ति एउटा पाहुना कोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा म तिमीकहाँ आइपुग्ने आशा राखेको छु। ख्रीष्ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्। प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासँग रहोस्।
फिलेमोन 1:17-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले यदि तिमीले मलाई आफ्नै साझेदार सम्झन्छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन् भने, सो मेरो हिसाबमा राखिदेऊ। म पावल, आफ्नै हातले यो लेख्तछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ। प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्ने म चाहन्छु। ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। तिम्रो आज्ञापालनमा भरोसा राखी मैले मागेको भन्दा झन् बढ़ी गर्नेछौ भन्ठानेर म तिमीलाई लेख्दैछु। साथै मेरो निम्ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्ने आशा गर्दछु। येशू ख्रीष्टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। त्यसै गरी सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि। प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्।
फिलेमोन 1:17-25 पवित्र बाइबल (NERV)
यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर। ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ। म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन। हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ। तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ। दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु। मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँदैछ। अनि मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस्। आमिन।
फिलेमोन 1:17-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो हुँदा मलाई साझेदार सम्झन्छौ भने मलाई झैँ उनलाई स्वागत गर। यदि उनले केही बिराएका छन् भने या केही तिर्नुपर्ने कुरा छ भने मेरो नाउँमा राखिदिनू। म पावल, आफ्नै हातले लेखेर भन्छु, त्यो मै तिर्नेछु। तिमीले आफ्नो जीवन पनि मबाटै लिएको मैले भनिरहनुपर्दैन। यसकारण भाइ, प्रभुमा मेरो लागि पनि यो गरिदेओ। ख्रीष्टमा मेरो हृदय आनन्दले भरिओस्। लेख्दालेख्दै पनि मलाई पूरा विश्वास छ, तिमीले मैले भनेको गरिदिन्छौ र अझ बढी पनि गरिदिन्छौ। यसको साथसाथै अर्को कुरो, तिमीहरूको प्रार्थनाले म पनि तिमीकहाँ आउन पाऊँला भन्ने आशा राखेको छु र मेरो लागि पनि बस्ने ठाउँ मिलाइदेओ। येशू ख्रीष्टको लागि मसँग कैदी भएका इपाफ्रासबाट तिमीहरूलाई अभिवादन छ। मसँगै काम गर्ने मर्कूस अनि अरिस्तार्खस, डेमास र लूकाको पनि अभिवादन छ। प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूका आत्मामा रहोस्।