फिलेमोन 1:1-25
फिलेमोन 1:1-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस, र तिम्रो घरका मण्डलीलाई: तिमीहरूलाई अनुग्रह र हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट शान्ति! मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु। म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रीष्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्। मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्। तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्टमा मलाई साहस भए तापनि, प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्छु, म वृद्ध पावल, अनि अहिले ख्रीष्ट येशूको एक कैदी मेरा छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु। तिनी अगाडि तिम्रो निम्ति बेकम्मा थिए, तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्। म तिनलाई, जो मेरो आफ्नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु। तिनलाई मसँगै राख्न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्तथिए, तर तिम्रो अनुमतिविना म केही गर्न चाहन्नँ, ताकि तिम्रो भलाइ करकापले गरिएको नहोस्, तर तिम्रो आफ्नै स्वइच्छाले गरिएको होस्। शायद तिमीबाट केही समयको निम्ति तिनी अलग्ग भएका थिए, ताकि तिनी सधैँको निम्ति तिमीसँग बस्न सकून्— अब उसो कमाराजस्तो होइन, तर कमाराभन्दा बढ़ी, प्रिय भाइजस्तै, विशेष गरी मेरो निम्ति, तर झन् बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्ति। यसैले यदि तिमीले मलाई आफ्नै साझेदार सम्झन्छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन् भने, सो मेरो हिसाबमा राखिदेऊ। म पावल, आफ्नै हातले यो लेख्तछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ। प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्ने म चाहन्छु। ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। तिम्रो आज्ञापालनमा भरोसा राखी मैले मागेको भन्दा झन् बढ़ी गर्नेछौ भन्ठानेर म तिमीलाई लेख्दैछु। साथै मेरो निम्ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्ने आशा गर्दछु। येशू ख्रीष्टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। त्यसै गरी सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि। प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्।
फिलेमोन 1:1-25 नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्ट येशूको सुसमाचार प्रचार गरेको कारण कैदी पावल, र हाम्रा भाइ तिमोथीबाट, हामीहरूका प्रिय मित्र अनि सहकर्मी फिलेमोनलाई, हाम्री बहिनी अफियालाई, हाम्रा सङ्गी-सिपाही अर्खिप्पसलाई र तिम्रो घरमा भेट हुने मण्डलीलाई: तिमीहरूलाई हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति होस्। जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्वरलाई सधैं धन्यवाद चढाउँछु; किनकि म प्रभु येशूमा भएको तिम्रो विश्वास र सबै सन्तहरूप्रति भएको तिम्रो प्रेमको विषयमा सुन्दछु। ख्रीष्टमा भएका हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु। तिम्रो प्रेमले मलाई धेरै आनन्द र उत्साह दिएको छ; साथै हे मेरा भाइ, तिमीले सन्तहरूका हृदयलाई पनि यही प्रेमले ताजा बनाएका छौ। यसकारण तिमीले जे गर्नुपर्नेथियो, सो गर्नू भनी ख्रीष्टमा साहसी भएर मैले तिमीलाई आज्ञा गर्न सक्नेथिएँ; तापनि म प्रेमको आधारमा तिमीलाई विन्ती मात्र गर्दछु। त्यसो भए म वृद्ध मानिस पावल, जो अहिले ख्रीष्ट येशूको कारण कैदी हुँ। म तिमीलाई मेरो छोरो ओनेसिमसको लागि विन्ती गर्दछु, जो म कैदमा हुँदा मेरो छोरा भयो। जो कुनै समय तिनी तिम्रो लागि बेकम्मा थियो, तर अब त तिनी तिम्रो र मेरो निम्ति कामलाग्दो भएको छ। म उसलाई, जो मेरो मुटु नै हो, तिमीकहाँ पठाउँदैछु। सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई तिनले तिम्रो स्थान लिऊन् भनेर म तिनलाई मसँग राख्न रुचाउने थिएँ; तर तिमीले देखाएको कुनै पनि भलाइ करमा परेर होइन, तर स्वेच्छापूर्वक होस् भनेर मैले तिम्रो अनुमतिविना केही पनि गर्न चाहिनँ। शायद तिनी केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले तिनलाई सधैंको लागि फेरि भेट्टाउनलाई होला। सेवकजस्तै गरी होइन, तर सेवकभन्दा पनि अझ बढ्ता, तर एकजना प्रिय भाइजस्तै, तिनी मेरो निम्ति अति प्रिय छन्, तर तिम्रो निम्ति तिनी एक मानिस अनि प्रभुमा एक भाइभन्दा पनि अझ प्रिय छन्। यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने, तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उनलाई पनि स्वागत गर। यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने, त्यो मेरो हिसाबमा राखिदेऊ। म पावल आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। यो भनिरहनु नपर्ला, कि तिमी स्वयम् पनि मप्रति ऋणी छौ। प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ। तिम्रो आज्ञाकारीताको कारण निश्चिन्त भएर मैले भनेको भन्दा बढी तिमीले गर्नेछौ भनी जानेर म यो लेख्दैछु। अनि अझ अर्को कुरा, मेरो निम्ति एउटा पाहुना कोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा म तिमीकहाँ आइपुग्ने आशा राखेको छु। ख्रीष्ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्। प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासँग रहोस्।
फिलेमोन 1:1-25 पवित्र बाइबल (NERV)
ख्रीष्ट येशूको एक कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय बन्धु तथा सहकर्मी फिलेमोनलाई अभिवादन। साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिम्रो घरमा भेला हुने मण्डलीलाई, पनि! हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्। आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैँ मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु। परमेश्वरका पवित्र मानिसहरू प्रति तिम्रो प्रेम र प्रभु येशूमा तिम्रो विश्वासको कुरा म सुन्दछु। म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ। मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ। तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु। तर मैले तिमीलाई आदेश दिएको होइन, केवल प्रेमको शक्तिमा म तिमीलाई निवेदन गर्दछु। म पावल हुँ अनि अहिले म वृद्ध मानिस हुँ अनि ख्रीष्ट येशूको लागि बन्दी छु। म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा ऊ मेरो छोरो बनियो। बितेका दिनहरूमा ऊ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ। म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु। म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफैं उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो। तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन। ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ। अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ। यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर। ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ। म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन। हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ। तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ। दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु। मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँदैछ। अनि मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस्। आमिन।
फिलेमोन 1:1-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू ख्रीष्टको निम्ति म कैदी पावल र तिमोथी भाइबाट यो पत्र हाम्रा प्यारा सहकर्मी फिलेमोन, हाम्री बहिनी अप्फिया, हाम्रो सह-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेट हुने झुण्डलाई हो। परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। फिलेमोन भाइ, मैले प्रार्थना गर्दा तिमीलाई सम्झेर मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु। तिम्रो प्रेम र विश्वास प्रभु येशूमा र परमेश्वरका भक्तहरूमा भएको सुन्दछु। तिम्रो विश्वासको संगतिले हामी ख्रीष्टमा रहँदा हामीमा हुने सबै असल कुरालाई गहिरोसँग बुझ्ने शक्ति देओस् भनी प्रार्थना गर्छु। प्यारो भाइ, तिम्रो मायाले मलाई ठूलो आनन्द र धेरै उत्साह दिएको छ। तिमीले परमेश्वरका भक्तहरूको हृदय आनन्दित पारेका छौ। यसैकारण ख्रीष्टमा तिम्रो साहसी दाजु भएर तिमीले के गर्नुपर्छ भनी आज्ञा गर्न सक्थें, तर प्रेमको कारणले तिमीलाई बिन्ती गर्दछु। अब म बुढो मानिस र हालमा येशू ख्रीष्टकै लागि कैदी भएको पावल आफ्नो बालकको लागि तिमीसँग बिन्ती गर्छु। म झ्यालखानमा हुँदा ख्रीष्टमा ओनेसिमसको बुबा भएको छु। उनी तिम्रो लागि काम नलाग्ने थिए, तर अहिले तिमी र म दुवैको लागि काम लाग्ने भएका छन्। म उनलाई फेरि तिमीकहाँ पठाउँदै छु। उनी मेरो हृदयका टुक्रा नै हुन्। सुसमाचारको कारण झ्यालखानमा भएको बेला तिम्रो साटो उनलाई नै मेरो हेर-विचार गर्न राख्नेथिएँ। तर तिम्रो मन्जुरीबिना यसो गर्न ठीक लागेन। मलाई दया गर्न तिमीलाई कर नलागोस्, तर तिम्रो खुसीले होस् भन्ने चाहन्छु। सायद सधैँको लागि फेरि तिमीसँग रहून् भनी केही समयको लागि ओनेसिमस छुट्टिएका थिए। अब उनी कमारा होइनन् तर कमाराभन्दा बढी प्यारा विश्वासी भाइ हुन्। उनी मेरा लागि कति प्यारा छन्। शारीरिकरूपमा र प्रभुमा उनी झन् कति धेरै तिम्रो लागि प्यारा होलान्। त्यसो हुँदा मलाई साझेदार सम्झन्छौ भने मलाई झैँ उनलाई स्वागत गर। यदि उनले केही बिराएका छन् भने या केही तिर्नुपर्ने कुरा छ भने मेरो नाउँमा राखिदिनू। म पावल, आफ्नै हातले लेखेर भन्छु, त्यो मै तिर्नेछु। तिमीले आफ्नो जीवन पनि मबाटै लिएको मैले भनिरहनुपर्दैन। यसकारण भाइ, प्रभुमा मेरो लागि पनि यो गरिदेओ। ख्रीष्टमा मेरो हृदय आनन्दले भरिओस्। लेख्दालेख्दै पनि मलाई पूरा विश्वास छ, तिमीले मैले भनेको गरिदिन्छौ र अझ बढी पनि गरिदिन्छौ। यसको साथसाथै अर्को कुरो, तिमीहरूको प्रार्थनाले म पनि तिमीकहाँ आउन पाऊँला भन्ने आशा राखेको छु र मेरो लागि पनि बस्ने ठाउँ मिलाइदेओ। येशू ख्रीष्टको लागि मसँग कैदी भएका इपाफ्रासबाट तिमीहरूलाई अभिवादन छ। मसँगै काम गर्ने मर्कूस अनि अरिस्तार्खस, डेमास र लूकाको पनि अभिवादन छ। प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूका आत्मामा रहोस्।