YouVersion लोगो
खोज आइकन

गन्ती 15:30-36

गन्ती 15:30-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“‘तर स्‍वदेशी वा परदेशी कुनै व्‍यक्तिले अटेरीसाथ पाप गर्‍यो भने, त्‍यसले निन्‍दा गर्छ, र त्‍यो व्‍यक्ति आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत होस्‌। किनभने त्‍यसले परमप्रभुको वचनलाई तिरस्‍कार गरेको छ, र उहाँका आज्ञा भङ्ग गरेको छ। त्‍यो व्‍यक्ति बिलकुलै बहिष्‍कार गरिओस्‌। त्‍यसले आफ्‍नो अधर्मको फल भोगोस्‌’।” इस्राएलीहरू उजाड़-स्‍थानमा हुँदा तिनीहरूले एक जना मानिसलाई शबाथ-दिनमा दाउरा बटुलिरहेको फेला पारे। दाउरा बटुल्‍नेलाई तिनीहरूले मोशा, हारून र सारा समुदायकहाँ ल्‍याए। त्‍यसलाई गर्नुपर्ने कारवाही थाहा नभएकोले तिनीहरूले त्‍यसलाई थुनामा राखे। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यो मानिस मारिनैपर्छ। सारा समुदायले त्‍यसलाई छाउनीबाहिर ढुङ्गा हानेर मारून्‌।” अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सारा समुदायले त्‍यसलाई छाउनीबाहिर ल्‍याए, र त्‍यसलाई मारे।

शेयर गर्नुहोस्
गन्ती 15 पढ्नुहोस्

गन्ती 15:30-36 पवित्र बाइबल (NERV)

“तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ। किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडेर परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।” जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे। ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए। तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्। तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।” यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।

शेयर गर्नुहोस्
गन्ती 15 पढ्नुहोस्

गन्ती 15:30-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर इस्राएली होस् वा विदेशी, जसले जानी-जानी पाप गर्छ, त्‍यसमाथि परमप्रभुलाई अपमान गरेको दोष लाग्‍नेछ र त्‍यसलाई मार्नुपर्छ किनभने त्‍यसले परमप्रभुको वचनलाई लत्‍यायो र उहाँको आज्ञा जानी-जानी तोड्यो। त्‍यसको मृत्‍युको लागि त्‍यो आफैं जिम्‍मेवार छ। इस्राएलीहरू उजाड-भूमिमा नै हुँदा एकचोटि एउटा मान्‍छेले विश्रामको दिनमा दाउरा बटुलिरहेको भेटियो। त्‍यसलाई तिनीहरूले मोशा, हारून र सारा समाजको अघि पुर्‍याए। त्‍यसलाई के गर्नुपर्ने हो, त्‍यो पक्‍का थाहा नपाएकोले तिनीहरूले त्‍यसलाई थुनामा राखे। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यो मानिसलाई मार्नुपर्छ। सारा समाजले त्‍यसलाई छाउनी बाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।” यसकारण परमप्रभुले आज्ञा गर्नुभएअनुसार सारा समाजले त्‍यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हानेर मारे।

शेयर गर्नुहोस्
गन्ती 15 पढ्नुहोस्