YouVersion लोगो
खोज आइकन

गन्ती 14:25-35

गन्ती 14:25-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अमालेकी र कनानीहरू बेँसीहरूमा बसेका हुनाले भोलि नै तिमीहरू फर्क र लाल समुद्रको बाटो भएर उजाड़-स्‍थानतिर जाओ।” परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “मेरो विरुद्धमा यस दुष्‍ट समुदायले कतिसम्‍म गनगनाउने? तिनीहरूले मेरो विरुद्धमा गनगनाएका मैले सुनेको छु। तिनीहरूलाई भनिदेओ, ‘जस्‍तो म जीवित छु, परमप्रभु घोषणा गर्नुहुन्‍छ, मैले सुन्‍ने गरी तिमीहरूले जे-जे भनेका थियौ, म त्‍यही नै गर्नेछु। तिमीहरूका लाश यही उजाड़-स्‍थानमा छोड़िनेछन्, अनि यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक गणना भएको र मेरो विरुद्धमा गनगनाउने बीस वर्षदेखि उँभोको कोही पनि वासको निम्‍ति दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा जान पाउनेछैन। लूट स्‍वरूप पक्रिनेछन्‌ भनी तिमीहरूले भनेका तिमीहरूका छोराछोरीहरूलाई चाहिँ म त्‍यहाँ पुर्‍याउनेछु, र तिमीहरूले अवहेलना गरेको ठाउँ तिनीहरूले प्राप्‍त गर्नेछन्‌। तर तिमीहरूका लाशचाहिँ यही उजाड़-स्‍थानमा छोड़िनेछन्‌। तिमीहरूमध्‍येको अन्‍तिम मानिसको मृत्‍यु नभएसम्‍म तिमीहरूको अविश्‍वासको कारण आफ्‍ना छोराछोरीहरू चालीस वर्षसम्‍म गोठाला भएर उजाड़-स्‍थानमा डुल्‍नेछन्‌। तिमीहरूले त्‍यस देशको भेद लिन चालीस दिन बिताएका थियौ, यसकारण दिनको एक वर्ष गरी चालीस वर्षसम्‍म तिमीहरूले आफ्‍नो अधर्मको फल भोग्‍दै रहनेछौ, र तिमीहरूप्रति म नाराज भएको तिमीहरूले थाहा पाउनेछौ’। यो बोल्‍ने म परमप्रभु हुँ, र मेरो विरुद्ध भेला हुने यस दुष्‍ट समुदायलाई म यसै गर्नेछु। यसै उजाड़-स्‍थानमा तिनीहरू मरेर मेटिजानेछन्‌।”

शेयर गर्नुहोस्
गन्ती 14 पढ्नुहोस्

गन्ती 14:25-35 पवित्र बाइबल (NERV)

अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरुभूमिमा फर्की जाऊ।” परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु। तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो। तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस बर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरुभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ। यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस्न पाउने छैन्। केवल यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पस्नेछन्। तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ। तर तिनीहरूको निम्ति तिमीहरू यही मरुभूमिमा नै मर्ने छौ। “‘तिमीहरूका नानीहरू मरुभूमिमा चालीस बर्ष सम्म गोठाले भई बस्नेछन्। तिमीहरू म प्रति अविश्वासी हुनाको कारणले ती तिमीहरूका नानीहरूले तिमीहरू मरुभूमिमा सबै जना नमरून्जेल सम्म कष्ट भोग्नेछन्। त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक बर्षको हिसाबले तिमीहरूले चालीस बर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।’ “म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विरूद्ध यी कुराहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मरुभूमिमा यिनीहरू मर्छन्।”

शेयर गर्नुहोस्
गन्ती 14 पढ्नुहोस्

गन्ती 14:25-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अहिले अमालेकी र कनानीहरूले बास गरेको त्‍यस देशमा अधिकार गर्नेछन्। भोलि फर्केर लाल समुद्रको खाडीतिर भएको उजाड-भूमिमा जाओ।” परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “अब कहिलेसम्‍म यी दुष्‍ट मानिसहरूले मेरो विरुद्धमा गनगन गर्ने हुन्? मैले यिनीहरूको गनगन धेरै सुनिसकेको छु! अब तिनीहरूलाई यो जवाफ दे, ‘म यो शपथ खाँदछु कि म जीवित छु भन्‍ने स्‍वयम् साक्षी राखी म भन्‍दछु, त्‍यसरी नै म तिमीहरूले मागेअनुसार गर्नेछु। तिमीहरू मर्नेछौ र तिम्रा लाश यस बनभरि छरिनेछन्। तिमीहरूले मेरो विरुद्धमा गनगन गरेका छौ। त्‍यसकारण तिमीहरूमध्‍ये बीस वर्षभन्दा बढ्ता उमेर हुनेहरू कोही पनि त्‍यस देशमा पस्‍न पाउनेछैनन्। मैले तिमीहरूलाई त्‍यहाँ बस्‍न दिने प्रतिज्ञा गरेको थिएँ तर अब कालेब र यहोशूबाहेक अरू कोही त्‍यहाँ बस्‍न पाउनेछैनन्‌। तिमीहरूले हाम्रा छोरा-छोरीहरू कैदमा पर्नेछन् भनी भन्‍यौ तर म तिनीहरूलाई तिमीहरूले इन्‍कार गरेको यस देशमा ल्‍याउनेछु र त्‍यो तिनीहरूको बासस्‍थान हुनेछ। तिमीहरू यही जङ्गलमा मर्नेछौ। तिम्रा सन्‍तानहरू यस जङ्गलमा चालीस वर्षसम्‍म घुमफिर गरिबस्‍नेछन् र तिमीहरूका पापको निम्‍ति तिमीहरू सबै नमरुञ्‍जेल तिनीहरूले कष्‍ट भोग्‍नेछन्। त्‍यस देशको भेद बुझ्‍न चालीस दिन लागेको थियो र हरेक दिनको लागि एक वर्षको हिसाबले चालीस वर्षसम्‍म तिमीहरूले आफ्‍ना पापको फल भोग्‍नुपर्नेछ। मेरो आफ्‍ना विरुद्धमा खडा भएको खण्‍डमा के हुन्‍छ, त्यो तिमीहरूले बुझ्‍नेछौ। मेरा विरुद्धमा भेला भएका तिमीहरू दुष्‍ट मानिसहरूलाई म यसो गर्नेछु भनी कसम खाँदछु। यहाँ, यस जङ्गलमा तिमीहरू एक-एक गरी मर्नेछौ। म परमप्रभुले यी कुरा भनेको छु’।”

शेयर गर्नुहोस्
गन्ती 14 पढ्नुहोस्