गन्ती 13:25-33
गन्ती 13:25-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चालीस दिनको अन्तमा त्यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के। तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्पूर्ण वृत्तान्त बताइदिए, र तिनीहरूलाई त्यस देशका फलफूल देखाए। तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्यौं। साँच्ची नै त्यहाँ दूध र मह बग्दारहेछन्, अनि त्यसको फलफूल यही हो। तर त्यहाँ बस्ने मानिसहरू बलिया रहेछन् र सहरहरू पर्खालले घेरिएका र ज्यादै ठूला-ठूला रहेछन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तानहरू पनि देख्यौं। नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्दारहेछन्।” तब कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी तुरुन्त त्यहाँ गएर त्यो देश कब्जा गरौं, किनभने त्यो हामी अवश्य जित्न सक्छौं।” तर तिनीसँग जाने मानिसहरूले भने, “ती मानिसहरूका विरुद्धमा जान हामी सक्नेछैनौं, किनकि ती हामीभन्दा बलिया छन्।” भेद लिन गएको देशबाट नराम्रो खबर सुनाएर तिनीहरूले इस्राएलीहरूलाई भने, “हामीले भेद लिएर आएको देशले त आफ्नै बासिन्दाहरूलाई निलिहाल्दोरहेछ, र हामीले त्यहाँ देखेका मानिसहरू दैत्यजस्ता रहेछन्। त्यहाँ हामीले नेफिलीमहरू देख्यौं, जसबाट अनाकका सन्तान आएका छन्। उनीहरूका सामु त हामी आफैलाई फटेङ्ग्राजस्तै लाग्यो। तिनीहरूका नजरमा हामीहरू त्यस्तै देखिन्थ्यौं।”
गन्ती 13:25-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
चालीस दिनसम्म त्यस देशको भेद लिएर जासूसहरू फर्के। तिनीहरू पारानको बनमा मोशा, हारून र इस्राएलका सारा समुदाय बसेका कादेश भन्ने ठाउँमा आए। तिनीहरूले आफूले देखेका सबै कुरा तिनीहरूलाई सुनाए र ल्याएका फलहरू देखाए। तिनीहरूले मोशालाई भने, “हामीले त्यो देश घुमेर खोजी गर्यौं, देश धनी र मलिलो छ, त्यसका केही फलहरू यहाँ छन्। तर त्यहाँ बास गर्ने मानिसहरू बलवान् छन् र तिनीहरूका सहरहरू ठूला-ठूला पर्खाल र किल्लाले सुरक्षित गरिएका छन्। त्यस बाहेक त्यहाँ हामीहरूले अनाकका सन्तान देख्यौं। देशको दक्षिण भागमा अमालेकीहरू बस्छन्, हित्ती, यबूसी र एमोरीहरू पहाडमा बस्छन्। अनि कनानीहरूचाहिँ भूमध्य सागरको नजिक र यर्दन नदीको किनारमा बस्दा रहेछन्।” मोशाको विरुद्धमा कुरा गर्न मानिसहरूलाई चुप गराएर कालेबले भने, “हामीहरूले तुरुन्तै हमला गरेर त्यो देश लिनुपर्छ। हामीमा त्यो देश जित्ने शक्ति छ।” तर कालेबसित जाने अरू मानिसहरूले भने, “होइन, तिनीहरूमाथि हमला गर्ने शक्ति हामीसित छैन। त्यहाँका मानिसहरू हामीभन्दा शक्तिमान् रहेछन्।” यसरी तिनीहरूले आफूले खोजी गरी आएका देशको बारेमा इस्राएलीहरूका माझमा झूटा वर्णन दिए। तिनीहरूले भने, “त्यस देशमा त्यहाँ बस्ने मानिसहरूलाई खान पुग्ने गरी अन्न-पानी उब्जँदैन। हामीले त्यहाँ देखेका मानिसहरू सबै अग्ला-अग्ला थिए। अनि त्यहाँ हामीले दैँत्यहरूजस्ता पनि देख्यौं, तिनीहरू अनाकका सन्तान रहेछन्। हामी आफैंलाई त फट्याङ्ग्राजस्ता साना पो लाग्यो। तिनीहरूका नजरमा हामीहरू सायद फट्याङ्ग्राजस्तै देखिन्थ्यौं।”
गन्ती 13:25-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
चालीस दिनको अन्त्यमा तिनीहरू त्यस कनान देशको बारेमा जाजुसी गरेर फर्के। कनान देशको भेद लिन गएकाहरू पारानको मरुभूमिमा भएको कादेशमा मोशा, हारून र इस्राएलीहरूका सारा समुदायकहाँ फर्केर आए। त्यहाँ तिनीहरूले सारा समुदायलाई सम्पूर्ण कुरा बताए। अनि तिनीहरूलाई त्यस देशका फलफूल देखाए। तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो। तर त्यस देशमा बस्ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ। अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।” त्यसपछि कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यो देशमा जानुपर्छ, र त्यस देशमाथि अधिकार गर्नुपर्छ। किनकि हामीले निश्चय नै विजय हासिल गर्न सक्छौँ।” तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।” तिनीहरूले जासुसी गरी आएको देशको बारेमा इस्राएलीहरूका बीचमा नकारात्मक कुराहरू फैलाए। तिनीहरूले भने, “हामीले जासुसी गरेर आएको देशले आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। हामीले त्यहाँ देखेका सबै मानिसहरू ठूला-ठूला कदका छन्। हामीले त्यहाँ नेफिलीमहरूलाई देख्यौँ (अनाकका सन्ततिहरू नेफिलीमहरूबाट आएका हुन्)। हामी आफ्नै दृष्टिमा फट्याङ्ग्राझैँ देखिन्थ्यौँ। अनि तिनीहरूले पनि पक्कै हामीलाई त्यस्तै ठान्छन्।”
गन्ती 13:25-33 पवित्र बाइबल (NERV)
चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमिको बारेमा खोजी गरी फर्के। पारान मरुभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए। तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्। जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं। नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।” त्यसपछि कालेबले मोशाकै नजीक मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यहाँ तुरून्त जानु पर्छ र यसलाई लिनु पर्छ। किनभने निश्चय नै त्यसमाथि हामीले विजय हासील गर्नेछौं।” तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुनेछैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।” यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृतान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, “त्यस भूमिमा धेरै बलिया-बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्। हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान देख्यौं र तिनीहरूको अगाडी हामीहरू त मसिनो फट्यांग्राहरू झैं देखिन्थ्यौं। साँच्चै तिनीहरूको सामुन्ने हामी फट्यांग्राहरू झैं लाग्थ्यौं।”