गन्ती 11:4-30
गन्ती 11:4-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तिनीहरूसँग भएको एक हुल्याहा समूह साह्रै लालची भयो, र इस्राएलीहरूले फेरि रोएर भन्न लागे, “हामीले मासु खान पाए त हुन्थ्यो! हामीले मिश्रदेशमा सित्तैमा खान पाएका माछा हामी सम्झन्छौं— अनि काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन पनि। तर अब त हाम्रो रुचि हराएको छ। यो मन्न छोड़ी अरू केही कुरा देखिँदैन।” मन्नचाहिँ धनियाँजस्तो थियो, र हेर्दा खोटोजस्तै देखिन्थ्यो। मानिसहरू गएर त्यो जम्मा गर्थे, जाँतोमा पिँध्थे वा ओखलीमा कुट्थे, र भाँड़ामा पकाएर फुरौला बनाउँथे। त्यसको स्वाद भद्राक्षको तेलले पकाएको कुरोजस्तो थियो। छाउनीमा राती शीत झर्दा मन्न पनि सँगै झर्थ्यो। आ-आफ्नो पालको ढोकामा उभिएर हरेक परिवारका मानिसहरू रोइरहेका मोशाले सुने। परमप्रभु ज्यादै क्रोधित हुनुभयो, र मोशा दु:खित भए। मोशाले परमप्रभुलाई भने, “तपाईंले किन आफ्नो दासलाई यो दु:ख दिनुभएको छ? अनि किन मैले तपाईंको दृष्टिमा अनुग्रह पाएको छैनँ, र तपाईं मलाई यी सब मानिसहरूको भार बोकाउनुहुन्छ? के यी मानिसहरूलाई मैले कोखमा राखेर जन्माएको हुँ? के तिनीहरूका पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा दूधे-बालकलाई धाईले बोकेझैँ यिनीहरूलाई बोकेर लैजान मलाई लगाउनुहुन्छ? यी सब मानिसले खाने मासु म कहाँ पाऊँ? ‘हामीलाई मासु खान देऊ’ भनी तिनीहरू मकहाँ आएर रुन्छन्। म एकलै यी मानिसहरूको भार सहन सक्दिनँ, किनभने यो भार मलाई साह्रै चर्को छ। तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ भने, र मैले तपाईंको निगाह पाएको छु भने, बिन्ती छ, बरु मलाई मारिदिनुहोस्, र मैले आफ्नो विनाश आफै हेर्नु नपरोस्।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका धर्म-गुरुमा सत्तरी जना जम्मा गर्, जो मानिसहरूमा नायक र अधिकारीहरू छन् भन्ने तँलाई थाहा छ, अनि तिनीहरूलाई भेट हुने पालमा ले, र तिनीहरू त्यहाँ तेरो साथमा उभिऊन्। म तल आएर त्यहाँ तँसँग कुरा गर्नेछु। तँमाथि भएका आत्माबाट केही लिएर तिनीहरूमाथि राखिदिनेछु। तिनीहरूले तँसँगसँगै ती मानिसहरूको भार बोक्नेछन्, र तैंले एकलै बोक्नु नपरोस्। “तैंले मानिसहरूलाई भन्: ‘भोलिको निम्ति तिमीहरूले आफूलाई चोख्याउनू, जब तिमीहरूले मासु खानेछौ। तिमीहरूले परमप्रभुको कानमा यसो भनेर रोएका छौ, “हामीले मासु खान पाए त हुन्थ्यो! हामीलाई मिश्रदेश नै असल थियो।” अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ, र तिमीहरूले त्यो खानेछौ। दुई-चार या दश-बीस दिन मात्र होइन, तर नाकबाट निस्केर वाक्क लागेसम्म तिमीहरूले महिनाभरि त्यो खानेछौ। किनभने तिमीहरूले आफ्ना बीचमा हुनुहुने परमप्रभुलाई अस्वीकार गरेर उहाँकै सामुन्ने “हामी किन मिश्रबाट निस्केर आयौं नि?” भनी रोएका छौ’।” तर मोशाले भने, “मसँग यस यात्रामा पैदल हिँड्ने छ लाख छन्, तापनि महिनाभरि म तिनीहरूलाई मासु दिनेछु भनी तपाईं भन्नुहुन्छ। के यी सबै भेड़ाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू मारेर यतिका मान्छेलाई पुग्छ र? अथवा समुद्रका सारा माछाहरू पक्रेर पनि तिनीहरूलाई पुग्छ र?” परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति कम भएको छ र? अब मैले तँलाई भनेको कुरा हुन आउँछ कि आउँदैन त्यो तैंले देख्नेछस्।” यसकारण मोशाले बाहिर गएर परमप्रभुले भन्नुभएको वचन मानिसहरूलाई सुनाइदिए। तिनले धर्म-गुरुहरूबाट सत्तरी जनालाई पालको वरिपरि उभ्याए। तब परमप्रभु बादलमा तल आउनुभएर तिनीसित कुरा गर्नुभयो, र तिनले आफूसित भएका आत्माबाट केही लिएर ती सत्तरी जना धर्म-गुरुहरूमाथि राखे। अनि तिनीहरूमाथि आत्मा आएपछि तिनीहरूले अगमवाणी गरे। तर पछिपछि त तिनीहरूले त्यसो गरेनन्। तर त्यहाँ छाउनीमा एल्दाद र मेदाद नाउँ भएका दुई जना मानिस थिए। तिनीहरूको नाउँ पनि दर्ता भएको थियो, तर तिनीहरू पालमा भने गएका थिएनन्। तर आत्मा तिनीहरूमाथि पनि आए, र तिनीहरूले छाउनीमा नै अगमवाणी गरे। तब एउटा जवान मोशाकहाँ दौड़ेर गई भने, “एल्दाद र मेदादले छाउनीमा अगमवाणी गर्दैछन्।” युवावस्थादेखि मोशाका सहायक, नूनका छोरा यहोशूले मोशालाई भने, “हजूर, तिनीहरूलाई रोक्नुहोस्।” तर मोशाले तिनलाई भने, “के मेरो खातिर तिमी डाह गर्ने भयौ? परमप्रभुले आफ्ना आत्मा आफ्ना सबै मानिसमाथि राखिदिएर ती सबै अगमवक्ता भइदिए त कति असल हुनेथियो।” तब मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्के।
गन्ती 11:4-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलीहरूसँग यात्रा गरिरहेका विदेशीहरूले अरू खानेकुराको निम्ति लालसा गर्न थाले। अनि फेरि इस्राएलीहरूले विलौना गर्दै भन्न थाले, “यदि हामीसँग खानलाई मासु मात्र भइदिए हुन्थ्यो! हामीले इजिप्टमा सित्तैँमा माछा खान्थ्यौँ। साथै काँक्रा, खरबुजा, कन्दमूल, प्याज र लसुनहरू खाएको सम्झना आउँछ। तर अब त हाम्रो भोक नै हराएको छ। हामीले यो मन्नबाहेक अरू केही देख्न पाएका छैनौँ!” मन्नचाहिँ धनियाँको बिउजस्तो र हेर्दा गोमेदको खोटोजस्तो देखिन्थ्यो। मानिसहरू त्यसलाई बटुल्न बाहिर जान्थे; र त्यसलाई जाँतोमा पिँध्थे अर्थात् ओखलीमा कुट्थे। तिनीहरूले त्यसलाई भाँडामा पकाउँथे, अथवा रोटी बनाउँथे। अनि त्यसको स्वाद जैतुनको तेलमा पकाएको खानेकुराको जस्तो हुन्थ्यो। जब राति छाउनीमा शीत झर्थ्यो, तब मन्न पनि खस्थ्यो। मोशाले हरेक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा विलाप गरिरहेका सुने। याहवेह असाध्यै क्रोधित हुनुभयो, तब मोशा दुःखित भए। मोशाले याहवेहलाई सोधे, “तपाईंले आफ्नो सेवकमाथि किन यस्तो दुःख ल्याउनुभयो? किन मैले तपाईंको दृष्टिमा अनुग्रह पाएको छैनँ? मैले के गरेर तपाईंलाई अप्रसन्न तुल्याएको छु र तपाईंले यी सबै मानिसहरूको भार ममाथि राखिदिनुभयो?” “के मैले यी सबै मानिसहरूलाई गर्भधारण गरेको हुँ र? के मैले तिनीहरूलाई जन्माएको हुँ र? तपाईंले किन मलाई तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएको देशमा पुर्याउनलाई एउटी धाईआमाले बालकलाई बोकेझैँ, यिनीहरूलाई मेरो अँगालोमा बोक् भन्नुहुन्छ? मैले यी सबै मानिसहरूका निम्ति मासु कहाँबाट ल्याऊँ? यिनीहरू ‘हामीलाई मासु खान देऊ!’ भनेर मसँग बिलौना गरिरहन्छन्। यी मानिसहरूलाई म एकलैले बोक्न सक्दिनँ। यो भार मेरा लागि अति गह्रौँ भएको छ। यदि तपाईंले मसँग यस्तै व्यवहार गर्नुहुन्छ भने कृपया बिन्ती छ, बरु मलाई मारिदिनुहोस्। यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मेरो विनाश म आफैँले हेर्न नपरोस्।” यो सुनेपछि याहवेहले मोशालाई भन्नुभयो: “तैँले इस्राएली मानिसहरूबाट अगुवाहरू र अधिकृतहरू भनी जानिएका सत्तरी जना प्रधानहरूलाई मकहाँ भेला गर्। तिनीहरू भेट हुने पालमा आऊन्, ताकि त्यहाँ तिनीहरू तँसँग खडा होऊन्। अनि म तल ओर्लिआउनेछु, र त्यहाँ तँसँग बोल्नेछु। म तँसँग भएको आत्माको शक्ति लिएर त्यो तिनीहरूमाथि हालिदिनेछु। तिनीहरूले तँसँग भएका मानिसहरूको भार बेहोर्नेछन्, र तँ एकलैले त्यसलाई बोक्नुपर्नेछैन। “मानिसहरूलाई भन्, ‘भोलि तिमीहरूले मासु खाने तयारीका निम्ति आफूलाई शुद्ध बनाउनू। तिमीहरूको यस्तो गुनासो याहवेहले सुन्नुभएको छ, “यदि हामीसित खानलाई मासु मात्र भइदिए त! हामीलाई इजिप्टमा अझ राम्रो थियो!” अब याहवेहले तिमीहरूलाई मासु दिनुहुनेछ, र तिमीहरूले त्यो खानेछौ। तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच, दश अथवा बीस दिनसम्मलाई मात्र खानेछैनौ। तर पूरा एक महिनासम्म नाक लागेर वाक्क भइन्जेलसम्म खान पाउनेछौ। किनकि तिमीहरूले आफ्ना बीचमा हुनुभएका याहवेहलाई इन्कार गरेका छौ, र उहाँको सामु “हामीले किन इजिप्ट छोडेर आयौँ होला?” भनी रोएका छौँ।’ ” तर मोशाले याहवेहलाई भने, “यहाँ मसँग पैदल हिँड्नेहरू छ लाख पुरुषहरू छन्। अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई एक महिनासम्म मासु खानलाई दिनेछु!’ के तिनीहरूका लागि बगाल र बथान मारे तापनि तिनीहरूलाई पर्याप्त गरी पुग्ला र? के समुद्रमा भएका सबै माछा पक्रिए तापनि तिनीहरूका लागि पर्याप्त पुग्ला र?” याहवेहले मोशालाई जवाफ दिनुभयो, “के याहवेहको हात त्यति छोटो छ? म जे भन्छु, त्यो तिमीहरूका निम्ति साँचो हुन्छ कि हुँदैन, सो अब तैँले देख्नेछस्।” यसकारण मोशा बाहिर गएर याहवेहले भन्नुभएको कुरा मानिसहरूलाई भने। मोशाले तिनीहरूका प्रधानहरूमध्ये सत्तरी जनालाई एकसाथ ल्याएर तिनीहरूलाई पालको वरिपरि उभ्याए। त्यसपछि याहवेह बादलमा ओर्लिआउनुभयो, र मोशासँग बोल्नुभयो। अनि उहाँले तिनमा भएका आत्माको शक्तिबाट केही लिएर सत्तरी जना प्रधानहरूलाई दिनुभयो। जब आत्मा तिनीहरूमाथि आएर बस्नुभयो, तब तिनीहरूले अगमवाणी गरे। तर त्यसपछि भने तिनीहरूले फेरि कहिल्यै त्यसो गरेनन्। तर पनि एल्दाद र मेदाद नाम भएका दुई जना मानिसहरूचाहिँ छाउनीमै बसेका थिए। तिनीहरू दुवैका नाम प्रधानहरूका सूचीमा थिए। तिनीहरू बाहिर पालमा गएनन्। तर पनि तिनीहरूमाथि आत्मा बस्नुभएको थियो। अनि तिनीहरूले छाउनीमै अगमवाणी गरे। तब एक जना जवान दौडेर गयो, र मोशालाई भन्यो, “एल्दाद र मेदादले छाउनीभित्र अगमवाणी गरिरहेका छन्।” नूनका छोरा यहोशू, जो युवावस्थादेखि नै मोशाका सहायक थिए, तब तिनले भने, “हे मेरा प्रभु मोशा, तिनीहरूलाई रोक्नुहोस्!” तर मोशाले यहोशूलाई जवाफ दिए, “के तिमी मेरो खातिर डाही भएका छौ? याहवेहले आफ्ना आत्मा सबै मानिसहरूमाथि राखिदिनुभएको भए ती सबै अगमवक्ता भइदिए कति असल हुनेथियो!” त्यसपछि मोशा र इस्राएलका प्रधानहरू पालमा फर्के।
गन्ती 11:4-30 पवित्र बाइबल (NERV)
इस्राएलीहरूसँग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाँडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला? हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आउँछ। तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।” देख्दा मन्न धनिंयाको मसिनो दाना जस्तो हुन्छ र यसको रंग रूखको चोप जस्तो देखिन्छ। मानिसहरूले मन्न बटुलेर ढुङ्गाले पिध्थे र भाँडामा पकाउँथे अथवा यसलाई धूलो पारेर फुरौलो बनाउँथे। यसको स्वाद भद्राक्षको तेलमा पकाएको फुलौरोको जस्तो थियो। जब राती भूँइ शीतले भिज्छ मन्न भूईँमा झर्थ्यो। प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए। मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो? के मैले गर्भधारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोगी-सेविकाले नानी बोकेर हिंडे झैं यी मानिसहरूलाई छात्तीमा राखेर लैजानु भन्नुहुन्छ। जब यी मानिसहरू ‘हामीलाई मासु खान दिनुहोस्’ भन्दै मसँग रून्छन् त मैले यिनीहरूलाई खुवाउने मासु कहाँ पाउनुँ? यी मानिसहरूको हेरचाह गर्न म आफैं योग्य छैनँ कारण ममाथि जिम्मावारी एकदमै धेरै भयो। यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनुहोस् ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।” परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ। अनि म तल आएर त्यहाँ तिमीसँग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन। “अनि मानिसहरूलाई भन तिमीहरूले आफैंलाई पवित्र बनाएर राख भोलि तिमीहरूले मासु खानेछौ। ‘हामी मासु खान चाहन्छौ! हाम्रो लागि मिश्रमा नै राम्रो थियो।’ भनी तिमीहरू रोएको परमप्रभुले सुन्नु भएको थियो। यसर्थ अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र खान सक्ने छौ। तिमीहरूले एक दिन, अथवा दुइ दिन, अथवा पाँच दिन मात्र होइन दश दिन अथवा बीस दिन भन्दा बढी मासु खानेछौ। तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिमार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरूद्ध आरोप लगायौ। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयौ अनि उहाँलाई आरोप लगायौ तिमीहरूले भन्यो, ‘हामी किन मिश्रमा सदा रहेनौं?’” तब मोशाले भने, “अहिले मसित पैदल हिँड्ने 6,00,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’ के यी सबै भेंडा तथा बाख्राको बगाल तथा गाई-गोरूको बथान मार्दा पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र? के समुद्रका सबै माछाहरू मारे पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र?” परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।” यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बूढा-प्रधानहरूबाट सत्तरी जना भेला पारेर तिनीहरूलाई पालको वरिपरि उभ्याए। तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिनीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि। त्यहाँ छाउनी भित्र दुइजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बूढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे। एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।” युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।” तर मोशाले उत्तर दिए, “के तिमी मेरो डाह गर्छौ? म इच्छा गर्छु कि परमप्रभुले उहाँको आत्मा सबै मानिसहरूलाई खन्याउनुँ हुनेछ अनि सबै मानिसहरू अगमवाणी गर्न सक्छन्।” त्यसपछि मोशा अनि सबै इस्राएलका बूढा-प्रधानहरू छाउनीमा फर्के।
गन्ती 11:4-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलीहरूसँग केही विदेशीहरू पनि यात्रा गर्दै थिए। तिनीहरूले मासु खान ठूलो इच्छा गरेकाले इस्राएलीहरू पनि गनगन गर्न थाले, “मासु खान पाए कस्तो हुन्थ्यो! मिश्रमा हामीले चाहे जति माछा खान पाउँथ्यौं र दाम पनि दिनुपर्दैनथ्यो। हामीले त्यहाँ खाएका काँक्रा, खरबुजा, प्याजको साग, प्याज र लसुन याद छ? अब हाम्रो बल घटिसक्यो। केही खानेकुरा छैन। हरेक दिन यो मन्न छोडी अरू केही खान पाइँदैन!” (मन्न पहेँलो रङ्गको धनियाको दानाजस्तो थियो। राती यो शीतसित छाउनीमा खस्थ्यो। भोलिपल्ट बिहान मानिसहरू गएर ती बटुल्थे, त्यसलाई पिँधेर वा कुटेर पीठो बनाउँथे र पानीमा पकाएर वा रोटी बनाएर खान्थे। त्यसको स्वाद जैतुनको तेलमा पकाएको रोटीजस्तो हुन्थ्यो।) मानिसहरू आ-आफ्ना तम्बुको ढोकामा हुल बाँधी उभिएर गनगन गरेका मोशाले सुने। तिनी दु:खित भए किनभने परमप्रभु तिनीहरूसित रिसाउनुभएको थियो र तिनले परमप्रभुलाई भने, “किन तपाईंले यस्तो कुव्यवहार मसित गर्नुभयो? किन मसित असन्तुष्ट हुनुभयो? किन तपाईंले यी सबै मानिसहरूको भार मलाई दिनुभयो? न मैले तिनीहरूलाई बनाएँ न मैले जन्माएँ। किन तपाईंले मलाई धाई-आमाले जस्तै काम गर्न लगाउनुहुन्छ र तिनीहरूलाई हातले बालकलाई झैँ बोकेर तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा पुर्याउन लगाउनुहुन्छ? यी सबै मानिसहरूका लागि पर्याप्त मासु कहाँदेखि म पाउन सक्छु? तिनीहरू मासु मागेर कराइरहन्छन्। म एक्लै यी सबै मानिसहरूको जिम्मा लिन सक्दिनँ। त्यो मेरो लागि साह्रै बोझ हुन्छ। यदि तपाईंले मसित त्यस्तै व्यवहार गर्नुहुन्छ भने मलाई दया गरेर मार्नुहोस् र मैले अबदेखि तपाईंको निष्ठुरीपना सहननपरोस्।” परमप्रभुले मोशालाई भन्नुभयो, “जनताका अगुवा भनी मानिएका सत्तरी जना आदरयोग्य मानिसहरूलाई भेला गर् र तिनीहरूलाई म बास गर्ने पवित्र पालमा मकहाँ ल्याएर आफ्नो छेउमा उभिन लगा। म त्यहाँ आएर तँसित कुरा गर्नेछु र मैले तँलाई दिएको आत्माबाट कसैलाई निकालेर तिनीहरूलाई दिनेछु। तिनीहरूले तँलाई यी मानिसहरूको जिम्मा लिने काममा सहायता गर्न सक्नेछन् र तँ एक्लैले त्यो जिम्मा लिनुपर्नेछैन। अब मानिसहरूलाई यस्तो भन्, ‘भोलिको लागि तिमीहरू आफैंलाई पवित्र गर, तिमीहरूले मासु खान पाउनेछौ। तिमीहरूले मासु खाने इच्छा गरेर हामीलाई बरु मिश्रमा राम्रो थियो भनेर कराएका परमप्रभुले सुन्नुभएको छ। अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र त्यो तिमीहरूले खानुपर्नेछ। तिमीहरूले मासु एक-दुई दिन होइन, पाँच, दश वा बीस दिन होइन, तर एक महिनासम्म खाएको मासु नाकबाट ननिस्कुञ्जेल र तिमीहरू वाक्क नभइञ्जेलसम्म खानुपर्नेछ। त्यसो हुनुको कारण तिमीहरूले आफ्ना बीचमा हुनुहुने परमप्रभुलाई अस्वीकार गर्यौ र हामीले मिश्र नछोड्नुपर्ने भनी दु:ख प्रकट गर्यौ’।” मोशाले परमप्रभुलाई भने, “म यहाँ ६,००,००० मानिसहरू लिएर हिँड्दै छु अनि तिनीहरूलाई एक महिनासम्म पुग्ने मासु दिनेछु भनी तपाईं भन्नुहुन्छ। के तिनीहरूलाई सन्तोष भइञ्जेल पुग्ने गरी गाई-गोरु र भेडाहरू काट्न सकिन्छ? समुद्रका सबै माछाले पनि तिनीहरूलाई पुग्ने हो र?” “के मेरो शक्तिको सीमा छ र?” परमप्रभुले जवाफ दिनुभयो, “मैले भनेको कुरा पुग्ने हो कि होइन, त्यो तैँले छिट्टै देख्नेछस्!” यसकारण मोशा बाहिर गए र परमप्रभुले भन्नुभएको कुरा मानिसहरूलाई सुनाए। तिनले सत्तरी जना अगुवाहरूलाई भेला गरेर पवित्र पालका चारैतिर उभ्याए। तब परमप्रभु बादलमा त्यहाँ ओर्लनुभयो र तिनीसित बोल्नुभयो। उहाँले मोशालाई दिनुभएको आत्माबाट केही लिएर ती सत्तरी जना अगुवाहरूलाई दिनुभयो। अनि तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरू अगमवाणी गर्न थाले। तर त्यो धेरै बेरसम्म रहेन। सत्तरी अगुवाहरूमध्ये दुई जना, एल्दाद र मेदाद छाउनीमा नै बसिरहेका थिए। तिनीहरू पवित्र पालमा गएका थिएनन्। त्यहीँ छाउनीमा तिनीहरूमाथि आत्मा उत्री आउनुभयो र तिनीहरू पनि अगमवाणी गर्न थाले। एल्दाद र मेदादले के गर्दै थिए, त्यो मोशालाई सुनाउन एउटा केटा दगुरेर गयो। तब नुनका छोरा यहोशू, जसले आफू किशोर हुँदादेखि मोशालाई मद्दत दिइरहेका थिए, मुख खोलेर मोशालाई भने, “हजुर, तिनीहरूलाई रोक्नुहोस्!” मोशाले जवाफ दिए, “के तँ मेरो कारण चिन्ता गर्दै छस्? मेरो परमप्रभुले आफ्ना आत्मा सबै मानिसहरूलाई दिऊन् र तिनीहरू अगमवक्ता बनून् भन्ने इच्छा छ!” तब मोशा र सत्तरी जना अगुवाहरू छाउनीमा फर्केर गए।