नहेम्याह 13:10-31
नहेम्याह 13:10-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
लेवीहरूले आफ्ना भागहरू पाएका रहेनछन् भन्ने कुरा पनि मैले थाहा पाएँ। यसैले मन्दिरका सेवाको जिम्मा लिने लेवीहरू र गवैयाहरू सबै आ-आफ्ना गाउँहरूमा फर्केछन् भन्ने पनि मैले सुनें। यसैकारण मैले अधिकारीहरूलाई हप्काएर प्रश्न गरें, “परमेश्वरका भवनको किन अवहेलना भएको छ?” अनि मैले ती मानिसहरूलाई बोलाएर फेरि तिनीहरूकै स्थानमा नियुक्त गरें। त्यसपछि सबै यहूदाले अन्नका आफ्ना दशौँ अंश, नयाँ दाखमद्य र तेल भण्डारमा ल्याए। मैले पूजाहारी शेलेम्याह, शास्त्री सादोक र पदायाह नाउँ गरेका एक जना लेवीलाई भण्डारका जिम्मावाल नियुक्त गरें, र जक्कूरका छोरा, मत्तन्याहका नाति हानानलाई तिनीहरूका सहायक नियुक्त गरें। किनभने तिनीहरू विश्वासी मानिसहरू गनिएका थिए। तिनीहरूको कामचाहिँ आफ्ना दाजुभाइहरूका भाग वितरण गर्नु थियो। हे परमेश्वर, यसको निम्ति मेरो सम्झना राख्नुहोस्, र मैले भक्तिसाथ मेरा परमेश्वरका भवनको र त्यसको सेवाको निम्ति गरेको काम नमेटाइदिनुहोस्। त्यस बेला यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, र खेतको अन्न जम्मा गरेर दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारी गधामा राख्दैगरेका मैले देखें। उनीहरूले यी सबै थोक शबाथमा यरूशलेममा ल्याउने गर्थे। त्यसैले त्यस दिनमा खाने कुरा बेचेको विरोधमा मैले तिनीहरूलाई चेताउनी दिएँ। यरूशलेममा बसोबास गर्ने टुरोसका मानिसहरूले पनि माछा र अरू सबै किसिमका व्यापारका मालहरू ल्याएर शबाथमा यहूदाका मानिसहरूलाई यरूशलेममा बेच्दारहेछन्। यहूदाका भारदारहरूलाई हप्काएर मैले भनें, “यस्तो दुष्ट चाल चलेर तिमीहरूले शबाथलाई अपवित्र गर्नुको अर्थ के हो? के तिमीहरूका पुर्खाहरूले पनि ठीक यस्तै काम गरेका हुनाले हाम्रा परमेश्वरले हामी र यस सहरमाथि यो विपत्ति ल्याउनुभएको होइन र? अब तिमीहरूले शबाथलाई अपवित्र पारेर झन् परमप्रभुको क्रोध जगाउँदैछौ।” शबाथका तयारीको निम्ति यरूशलेमका मूल ढोकाहरूमा साँझको छाया परेपछि प्रवेश-द्वारहरू थुन्नू र शबाथ नसिद्धिञ्जेल नखोल्नू भनी मैले आज्ञा गरें। शबाथमा कुनै पनि भारी भित्र लान नपाओस् भनेर मेरा कोही मानिसहरूलाई मूल ढोकाको जिम्मामा नियुक्त गरें। एक-दुई पल्ट व्यापारीहरू र सबै किसिमका सामान ल्याउने पैकारीहरूले यरूशलेमको बाहिर रात बिताए। तर मैले तिनीहरूलाई यसो भनेर चेताउनी दिएँ, “तिमीहरू किन सहरको पर्खालकै सामुन्ने रात बिताउँछौ? यदि तिमीहरूले फेरि यसो गर्यौ भने म तिमीहरूको विरुद्धमा कड़ा कारबाही गर्नेछु।” त्यसपछि तिनीहरू फेरि कहिल्यै शबाथमा आएनन्। अनि शबाथ-दिन पवित्र राख्न भनी मैले ती लेवीहरूलाई तिनीहरूले आफूलाई शुद्ध गरी मूल ढोकामा पहरा दिनू भन्ने आज्ञा गरें। हे मेरा परमेश्वर, यो पनि मेरो निम्ति सम्झना रहोस्, र तपाईंको महान् प्रेममा आफ्नो कृपा ममाथि रहोस्। त्यस बेला पनि कुनै-कुनै यहूदाका मानिसहरूले अश्दोद, अम्मोन र मोआबका स्त्रीहरूलाई विवाह गरेका मैले भेट्टाएँ। तिनीहरूका बालकहरूमध्ये आधा अश्दोदी भाषा बोल्थे अथवा अरू मानिसहरूको भाषा बोल्थे, र तिनीहरू यहूदाको भाषा बोल्न जान्दैनथे। मैले तिनीहरूलाई हप्काएँ र सराप दिएँ। मैले कुनै-कुनै मानिसहरूलाई पिटें र जगल्ट्याएँ। मैले यसो भनेर परमेश्वरको नाउँमा तिनीहरूलाई शपथ खान लाएँ, “तिमीहरू आफ्ना छोरीहरू उनीहरूका छोराहरूसित विवाह गरिदिनेछैनौ, अथवा उनीहरूका कुनै पनि छोरीहरू तिम्रा छोराहरूसित वा तिमीहरू आफै विवाह गर्नेछैनौ। के यस्तै स्त्रीहरूको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन्? समस्त जातिहरूमा तिनीजस्तै अरू कुनै राजा थिएनन्। तिनलाई आफ्ना परमेश्वरले प्रेम गर्नुभएको थियो, र परमेश्वरले तिनलाई सम्पूर्ण इस्राएलमाथि राजा तुल्याउनुभएको थियो। तापनि विदेशी स्त्रीहरूले नै तिनलाई पाप गर्न लाए। अहिले पनि हामीहरूले यो सुन्नुपर्छ कि तिमीहरूले पनि विदेशी स्त्रीहरूलाई विवाह गरी यो घोर अपराध गरेर हाम्रा परमेश्वरसितको विश्वास तिमीहरू तोड्दैछौ?” प्रधान पूजाहारी एल्यासीबका छोरा योयादाको एक जना छोराले होरोनी सन्बलतकी एउटी छोरीलाई विवाह गरेको रहेछ। यसैकारण मैले त्यसलाई मेरो सामुबाट निकालिदिएँ। हे परमेश्वर, तिनीहरूले पूजाहारी पदलाई र पूजाहारीगिरी र लेवीहरूको करारलाई अपवित्र गरेकामा तिनीहरूको सम्झना रहोस्। यसरी मैले पूजाहारीहरू र लेवीहरूलाई हरेक विदेशी कुराबाट शुद्ध गरें, र तिनीहरूलाई आ-आफ्नो काममा नियुक्त गरें। ठहरिएको समयमा दाउराको दान ल्याउने र अगौटे फलको निम्ति पनि मैले व्यवस्था मिलाइदिएँ। हे परमेश्वर, तपाईंको निगाहमा मेरो सम्झना रहोस्।
नहेम्याह 13:10-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले यो पनि थाहा पाएँ कि मन्दिरका गवैया र अरू लेवीहरू यरूशलेम छोडेर आ-आफ्ना खेतबारीमा फर्की गएका थिए, कारण तिनीहरूको जीविका चलाउन पुग्दो दान मानिसहरूले दिन छोडेका थिए। यसरी मन्दिरमा चासो लिन छोडेको निम्ति मैले भारदारहरूलाई हकारें अनि लेवी र गवैयाहरूलाई मन्दिरमा फर्काइल्याएँ र तिनीहरूलाई आ-आफ्ना काममा लाएँ। तब फेरि इस्राएलका सबै मानिसहरूले मन्दिरका भण्डारमा अन्न, दाखमद्य र भद्राक्षको तेलको दशौँ हिस्सा ल्याउन थाले। मन्दिरको भण्डारको रेख-देख गर्नलाई मैले पूजाहारी शेलेम्याह, व्यवस्था शास्त्री सादोक र लेवी पदायाहलाई जिम्मा दिएँ। जक्कूरका छोरा र मत्तन्याहका नाति हानानलाई तिनीहरूमुनि सहायक खटाएँ। म जान्दथें कि यी मानिसहरूले इमानदारीसाथ आफ्ना सहकर्मीहरूका बीचमा सबै थोक बाँड्नेछन्। हे मेरा परमेश्वर, मन्दिर र त्यसमा गरिने आराधनाको लागि मैले गरेका यी सबै कामहरू सम्झना राख्नुहोस्। त्यति बेला मैले यहूदाका मानिसहरूले विश्रामको दिनमा अङ्गुर कोलमा पेलेको देखें। अरू मानिसहरूले अन्न, दाखमद्य, अङ्गुर, नेभारा र अरू कुराहरूको भारी गधामा लादेर यरूशलेम लैजान्थे। तिनीहरूलाई मैले विश्रामको दिनमा केही कुरा बेच-बिखन नगर्न चेतावनी दिएँ। टुरोस सहरवासीहरू कति जना यरूशलेममा बस्थे। तिनीहरूले विश्रामको दिनमा बेच्न माछा र अरू सबै प्रकारका चीजबीज सहरमा ल्याउँथे। मैले यहूदी मुखियाहरूलाई हकारें र भनें, “तिमीहरूले गरेका दुष्ट काम हेर। तिमीहरूले विश्रामको दिनलाई अपवित्र गरेका छौ। यही कारणले गर्दा यस सहरको विनाश गराएर परमेश्वरले तिम्रा पिता-पुर्खाहरूलाई दण्ड दिनुभएको थियो। तरै पनि विश्रामको दिनलाई अपवित्र गरेर तिमीहरू परमेश्वरको अझ बढ्ता क्रोध इस्राएलमाथि ल्याउँछौ।” यसकारण विश्रामको दिन सुरु हुनासाथ साँझ हुन थाल्ने बित्तिकै सहरमा मूल-ढोकाहरू बन्द गर्नू र विश्रामको दिन नसिद्धिउञ्जेल ती नखोल्नू भनी मैले आज्ञा दिएँ। विश्रामको दिनमा कुनै थोक लिएर सहरभित्र कोही पस्न नपाओस् भनी हेर्नलाई मैले केही मानिसहरूलाई ढोका-ढोकामा खटाएँ। एक दुईपल्ट थरीथरीका चीज बेच-बिखन गर्ने व्यापारीहरूले पर्खालको बाहिरपट्टि नै शुक्रबारको रात काटेछन्। मैले तिनीहरूलाई चेतावनी दिएँ, “त्यसरी बाहिर बसेर बिहान पर्खने काम छैन, फेरि त्यसो गर्यौ भने म तिमीहरूलाई कडा कारबाही गर्नेछु।” त्यसपछि तिनीहरू विश्रामको दिनमा आउन छोडे। मैले लेवीहरूलाई आफैं शुद्ध हुन, त्यसपछि गएर मूल-ढोकामा पहरा दिन र यसरी विश्रामको दिन पवित्र राख्ने रीति ठीकसँग कायम राख्न आज्ञा दिएँ। हे परमेश्वर, यो पनि मेरो निम्ति सम्झना राख्नुहोस् र तपाईंको महान् प्रेममा मलाई कृपा गर्नुहोस्। त्यस बेला मैले यो पनि देखें कि धेरै यहूदी पुरुषहरूले अश्दोद, अम्मोन र मोआबका स्त्रीहरूलाई विवाह गरेका रहेछन्। तिनीहरूका आधासरो छोरा-छोरीहरूले अश्दोदी वा अन्य भाषा बोल्थे तर यहूदी भाषा बोल्न सक्दैनथे। मैले ती मानिसहरूलाई हकारें, सराप दिएँ, कुटें र केश जगल्ट्याइदिएँ। तब मैले तिनीहरूलाई हामी र हाम्रा छोरा-छोरीले अब उसो कहिल्यै पनि अरू जातिहरूसँग अन्तरजातीय बिहावारी गर्नेछैनौं भनेर परमेश्वरको नाममा शपथ खान लाएँ। मैले तिनीहरूलाई भनें, “विदेशी स्त्रीहरूले सोलोमन राजालाई पाप गर्न लाएका थिए। उनी अरू सबै देशका राजाहरूभन्दा महान् थिए। परमेश्वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो र सारा इस्राएलमाथि राजा बनाउनुभयो। तर तिनले यही पाप गरे। अब के हामीहरूले पनि तिम्रो नमुना लिएर विदेशी स्त्रीहरू विवाह गरी आफ्ना परमेश्वरको आज्ञा भङ्ग गर्नुपर्ने हो?” मुख्य पूजाहारी एल्यासीबको छोरो योयादाको एक जना छोरोले बेथ-होरोन निवासी सन्बलतकी छोरीसँग विवाह गरेको थियो। यसैकारण मैले योयादालाई यरूशलेम छोड्न लाएँ। हे परमेश्वर! यी मानिसहरूले कसरी पूजाहारीको उच्च स्थान र पूजाहारी र लेवीहरूसँग तपाईंले बाँध्नुभएको करारमाथि कलङ्क लाए, सो सम्झना राख्नुहोस्। मैले मानिसहरूलाई सबै विदेशी कुराहरूदेखि चोख्याएँ, पूजाहारी र लेवीहरू प्रत्येकले आ-आफ्नो कर्तव्य बुझोस् भनी तिनीहरूका निम्ति नियमहरू बनाइदिएँ। बलि चढाउन दाउरा ठीक ठहराएको समयमा मन्दिरमा ल्याउन पाउने प्रबन्ध मिलाएँ र मानिसहरूले पहिलो अन्न र फलफूल समयमा मन्दिरमा ल्याउने प्रबन्ध पनि मिलाएँ। यी सबै सम्झना गर्नुहोस्, हे परमेश्वर र मलाई आशिष् दिनुहोस्!
नहेम्याह 13:10-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले लेवीहरूलाई तोकिएका भागहरू नदिएको र सेवाको जिम्मामा रहेका लेवीहरू र सङ्गीतकारहरू आफ्नै खेतहरूतिर फर्किगएका थाहा पाएँ। यसकारण अधिकृतहरूलाई हप्काएँ, र तिनीहरूलाई सोधेँ, “परमेश्वरको घरको अवहेलना किन गरिएको?” तब मैले तिनीहरूलाई एकसाथ भेला पारेँ, र तिनीहरूलाई आ-आफ्ना काममा नियुक्त गरेँ। सारा यहूदाका मानिसहरूले अन्न, नयाँ दाखमद्य र जैतुन तेलका दशांशहरू भण्डारमा ल्याए। मैले पुजारी शेलेम्याहलाई, शास्त्री सादोकलाई, र पदायाह नाउँका लेवीलाई भण्डारको जिम्मा दिएँ; अनि हानान जक्कूरका छोरा, मत्तन्याहका नातिलाई तिनीहरूको सहायक बनाएँ; किनकि यी मानिसहरू विश्वासयोग्य थिए। तिनीहरूलाई आफ्ना लेवी दाजुभाइहरूलाई आवश्यक सर-सामान बाँडिदिने जिम्मेवारी दिइएको थियो। हे मेरा परमेश्वर, मलाई यो कुराको निम्ति स्मरण गर्नुहोस्, र मैले मेरा परमेश्वरका घर र त्यसका सेवाका निम्ति अति विश्वासयोग्यतासाथ जे गरेको छु, त्यो आफ्नो स्मरणबाट नमेट्नुहोस्। ती दिनहरूमा मैले यहूदाका मानिसहरूलाई शब्बाथमा दाखको कोल पेलिरहेका र अन्न जम्मा गरेर, दाखमद्य, अङ्गुर, नेभारा र अरू किसिमका भारीहरू गधाहरूमा लदाएका देखेँ। तिनीहरूले ती सबै कुरा शब्बाथमा यरूशलेम ल्याउने गर्थे। यसकारण तिनीहरूलाई शब्बाथमा खानेकुरा बेचेको कारण मैले चेतावनी दिएँ। यरूशलेममा बस्ने टायरका मानिसहरूले माछाहरू र सबै किसिमका व्यापारका सामानहरू यरूशलेममा ल्याए, र शब्बाथमा यहूदाका मानिसहरूलाई बेचिरहेका थिए। मैले यहूदाका अधिकारीहरूलाई हप्काएँ, र तिनीहरूलाई भनेँ, “तिमीहरूले शब्बाथलाई अपवित्र पार्दै यो कस्तो दुष्ट काम गरिरहेका छौ? के तिमीहरूका पुर्खाहरूले यस्तै काम गरेनन् र? त्यसकारण हाम्रा परमेश्वरले हामीमाथि र यस सहरमाथि सबै विपत्तिहरू ल्याउनुभएको होइन र? अब तिमीहरूले शब्बाथलाई अपवित्र पारेर इस्राएलमाथि उहाँको क्रोध बढाइरहेका छौ।” जब शब्बाथ अगि यरूशलेमका मूलढोकाहरूमा साँझको अँध्यारोको छाया पर्न थाल्यो, तब मैले शब्बाथ नबितेसम्म ढोकाहरू बन्द गर्न र नखोल्न आदेश दिएँ। मैले शब्बाथमा कुनै पनि भारी भित्र ल्याउन नसकून् भनेर मूलढोकामा मेरा आफ्ना केही मानिसहरूलाई राखिदिएँ। एक दुई पटक व्यापारीहरू र सबै किसिमका सामान बेच्नेहरू यरूशलेमबाहिर नै रात बिताए। तर मैले तिनीहरूलाई चेतावनी दिएर भनेँ, “तिमीहरू किन पर्खालको छेउमा रात बिताउँछौ? यदि तिमीहरूले फेरि पनि यसै गर्यौ भने म तिमीहरूलाई कारबाही गर्नेछु।” त्यस दिनदेखि उसो तिनीहरू शब्बाथमा आउन छोडे। त्यसपछि मैले लेवीहरूलाई आफूलाई शुद्ध पार्न लगाएँ, र शब्बाथलाई पवित्र राख्नलाई गएर मूलढोकामा पहरा दिन आज्ञा दिएँ। हे मेरा परमेश्वर, यसको लागि पनि मलाई स्मरण गर्नुहोस्, र तपाईंको अचुक प्रेमअनुसार ममाथि कृपा देखाउनुहोस्। यसबाहेक मैले ती दिनहरूमा यहूदाका मानिसहरूले अश्दोद, अम्मोनी र मोआबीहरूबाट स्त्रीहरूलाई विवाह गरिरहेका भेट्टाएँ। तिनीहरूका आधा सन्तानले अश्दोदका अथवा अरू जातिका भाषाहरू बोल्थे, तर तिनीहरूले यहूदाको भाषा बोल्न जान्दैनथिए। मैले तिनीहरूलाई हप्काएँ, र सरापको भागीदार बनाएँ। मैले केही मानिसहरूलाई पिटेँ; अनि तिनीहरूका केश उखेलिदिएँ। मैले तिनीहरूलाई परमेश्वरको नाममा शपथ खान लगाएर भनेँ, “तिमीहरूले आफ्ना छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिनेछैनौँ, न त तिमीहरूले आफ्ना छोराहरूका निम्ति अथवा आफ्नै निम्ति तिनीहरूका छोरीहरू विवाह गरेर ल्याउँनेछौ। के यस्तै विवाहको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन् र? धेरै जातिहरूका बीचमा तिनीजस्ता राजा अरू कोही थिएनन्। तिनलाई तिनका परमेश्वरले प्रेम गर्नुहुन्थ्यो, र परमेश्वरले तिनलाई सारा इस्राएलमाथि राजा बनाउनुभयो; तर तिनलाई समेत विदेशी स्त्रीहरूले पाप गर्न लगाए। के अब तिमीहरूले पनि विदेशी स्त्रीहरूसित विवाह गरेर हाम्रा परमेश्वरप्रति अविश्वासयोग्य भएर यस्ता सबै दुष्टता गरिरहेका कुरा हामीले सुन्ने?” प्रधान पुजारी एल्यासीबका एक जना छोरा यहोयादाचाहिँ होरोनी सन्बलतका जुवाइँ थिए। मैले त्यसलाई त्यहाँबाट निकालिदिएँ। हे मेरा परमेश्वर, तिनीहरूले पुजारी पदलाई, पुजारी र लेवीको करारलाई अशुद्ध पारेका कारण तिनीहरूलाई स्मरण गर्नुहोस्। यसकारण मैले पुजारीहरू र लेवीहरूलाई हरेक विदेशी कुराहरूबाट शुद्ध पारेँ; अनि तिनीहरू हरेकलाई तिनीहरूका आ-आफ्ना काम सुम्पिदिएँ। मैले तोकिएको समयको लागि काठको दान र अगौटे फलको व्यवस्था पनि गरिदिएँ।
नहेम्याह 13:10-31 पवित्र बाइबल (NERV)
तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए। मैले अधिकारीहरूलाई, “परमेश्वरको मन्दिरको किन उपेक्षा गरिएकोछ?” भनी हप्काएँ। त्यस पछि मैले तिनीहरूलाई भेला गरें। अनि तिनीहरूलाई फेरि काममा फर्काएँ। तब समस्त यहूदाले अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ। त्यसपछि मैले भण्डार कक्षमा कोषाध्यक्षको रूपमा पूजाहारी शेलेम्याह, शिक्षक सादोक अनि लेवी पदायहलाई नियुक्त गरें र हनान जाक्कूरका छोरा, मत्तन्याहका छोरालाई पनि तिनीहरूका सहायकको रूपमा नियुक्त गरे। किनकि तिनीहरू विश्वास योग्य थिए अनि यो यसकारण आफ्ना सहायकलाई अंश दिन तिनीहरूको कार्य भयो। हे मेरो परमेश्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेश्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि दिनुहोस्। त्यसबेला मैले मानिसहरूलाई यहूदामा विश्राम-दिनमा दाखरस पेल्ने काम गरिरहेको देखें। अनि अन्नका राश ल्याएका अनि त्यसलाई गधाहरू माथि लदाएको साथै दाखरस, दाख, नेभारा अनि सबै किसिमका भारी लदाएको अनि यी सबैलाई विश्राम-दिनमा यरूशलेममा ल्याएको देखें। अनि मैले तिनीहरूलाई भोजन बेच्दा चेतावनी दिएँ। यरूशलेम अथवा यहूदा छेउमा बस्ने सोरका मानिसहरूले बेच्नका निम्ति माछा अनि सबै किसिमका वस्तुहरू ल्याइरहेका थिए। विश्राम-दिनमा यहूदा अनि यरूशलेमका मानिसहरूलाई ती बेचिरहेका थिए। तब मैले यहूदाका मुख्य मानिसहरूलाई हप्काएँ। अनि मैले तिनीहरूलाई भने, “यो के दुष्कर्म तिनीहरू गरिरहे छौ विश्राम-दिनलाई अपवित्र तुल्याउँछौ? तिमीहरूका पुर्खाहरूले यसै गरेको हुँदा हाम्रा परमेश्वरले हामीमाथि अनि यो शहर माथि यी सबै विपद् ल्याउनु भएको होइन र? तर तिमीहरूले विश्रामलाई अपवित्र तुल्याएर। इस्राएल माथि अझ अधिक क्रोध ल्याउँदैछौ?” जब शबाथको अघि यरूशलेमको द्वारमा अन्धकार हुँदै थियो। मैले ढोका बन्द गर्ने आदेश दिएँ। विश्राम नसिद्धिए सम्म ती ढोका नखोल्ने आदेश दिएँ। अनि मैले ढोकाहरूमा मेरा केही मानिसहरूलाई बसाएँ, जसद्वारा विश्राम दिनमा कुनै पनि भारीहरू शहरमा पस्न नपाओस्। एक वा दुइपल्ट सबै थरिका व्यापारी अनि बिक्रेताहरूले यरूशलेम बाहिर रात बिताए। तिमीहरू पर्खालको अघि किन रात बिताउँदैछौ? “तिमीहरूले फेरी यसो गर्यौ भनें म तिमीहरू माथि बल प्रयोग गर्ने छु।” भनी तिनीहरूलाई चेतावनी दिएँ। त्यसबेला देखि तिनीहरू विश्राम-दिनमा आएनन्। त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भनें। हे मेरा परमेश्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्। ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें। तिनीहरूका आधा केटा-केटीहरूले अश्दोद वा अन्य मानिसका भाषा बोल्दथे अनि तिनीहरूले यहूदाको भाषा कसरी बोल्नु सो जान्दैन थिए। यसकारण मैले तिनीहरूसित बहस गरें अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाह्री तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाएँ, “तिनीहरूलाई आदेश दिएँ तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्। तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउँनु भयो तर विदेशी स्त्रीहरूले उहाँलाई परमेश्वरको विरूद्ध पाप गर्न लगाए। अनि आज हामीहरू सुन्दैछौं कि तिमीहरूले त्यस्तै ठूला पापहरू गरिरहेका छौं, तिमीहरूले परमेश्वरमा साँच्चो जीवन जीएका छैनौ। तिमीहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका छौ।” यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढ खेदि दिएँ। मेरो पिताले त्यस्तो मानिसहरूलाई सजाए दिनुहुन्छ, जसले अशुद्ध बनाउँछन्। तिनीहरूले यसलाई प्रधानताको मुख्य सम्झना रहोस्। तिनीहरूले पूजाहारीहरू र लेवीहरूको आज्ञाका पालन गरेनन्। मैले पूजाहारीहरू र लेवीहरूलाई विदेशीहरूबाट छुट्टाएँ अनि तिनीहरू प्रत्येकलाई विदेशी कुरा देखि शुद्ध पारे तिनीहरूको आफ्नै कामहरू अनि उत्तरदायित्वहरू दिएँ। मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयामा नै ल्याओस्। हे मेरो परमेश्वर, मैले यी असल कुराहरू गरेको निम्ति सम्झना गर्नु होस्।