नहेम्याह 1:1-4
नहेम्याह 1:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हकल्याहका छोरा नहेम्याहको विवरण: बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ, तब मेरा दाजुहरूमध्येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे। मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरें। तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्काइएको छ र त्यसका मूल ढोकाहरू आगोले नष्ट पारिएका छन्।” यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्म विलाप गर्दैरहें, र उपवास बसें अनि स्वर्गका परमेश्वरसित प्रार्थना गरें।
नहेम्याह 1:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हकल्याहका छोरा नहेम्याहका वचनहरू: अर्तसास्त राजाको शासनको बीसौँ वर्षको किसलेव महिनामा जब म फारसको राजधानी शूशनको सहरमा थिएँ, तब मेरा दाजुभाइहरूमध्येका एक जना हनानी केही मानिसहरूसित यहूदाबाट आए। तब मैले तिनीहरूलाई कैदबाट बाँकी रहेका यहूदीहरूको बारेमा र यरूशलेमको बारेमा पनि सोधेँ। तिनीहरूले मलाई भने, “कैदबाट बाँचेर निर्वासनबाट फर्कनेहरू अति कष्टमा र अपहेलनामा परेका छन्। यरूशलेमको पर्खाल भत्काइएको छ, र त्यसका ढोकाहरू आगोद्वारा जलाएर भस्म पारिएका छन्।” जब मैले यो खबर सुनेँ, तब म बसेर रोएँ। मैले केही दिनसम्म विलाप गरेँ, उपवास बसेँ र स्वर्गका परमेश्वरसँग प्रार्थना गरेँ।
नहेम्याह 1:1-4 पवित्र बाइबल (NERV)
यी नहेम्याह, हकल्याहका छोराका बचन हुन्; बीसौं बर्षको किसलेव महीनामा आर्ट-जारसेज राजा थिए। म राजधानी शहर शुशनमा थिएँ। अनि मेरा एकजना भाइ हनानी केही अन्य मानिसहरू सहित यहूदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहूदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यरूशलेमको बारेमा मैले सोधें। तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।” जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे।
नहेम्याह 1:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अर्तासास्त फारस देशका राजा छँदा उनले शासन गरेको बीसौँ वर्षमा किसलेव भनिने महिनामा म नहेम्याह फारस देशको राजधानी शूशनमा थिएँ। त्यसै बेला हनानी नाम भएको मेरो एउटा भाइ एक दल मानिसहरूसँग यहूदाबाट आइपुग्यो। मैले उनीहरूलाई यरूशलेमको बारेमा र बेबिलोनियाको कैदबाट फर्किगएका आफ्ना यहूदा भाइ-बन्धुहरूका बारेमा सोधपुछ गरें। ती कैदबाट बाँचेर घर फर्केका यहूदीहरू महासङ्कष्टमा छन्, छेउ-छाउमा बस्ने विदेशीहरूले तिनीहरूलाई हेला गर्छन्, यरूशलेमको पर्खाल अझै भत्केकै छ र आगाले नष्ट भएको दिनदेखि आजसम्म त्यसका फाटकहरू मर्मत भएका छैनन् भनेर तिनीहरूले मलाई भने। यी कुरा सुनेर म भूइँमा बसें र रोएँ। मैले धेरै दिन शोक गरें र केही खाइनँ। मैले परमेश्वरलाई प्रार्थना गरें