YouVersion लोगो
खोज आइकन

मर्कूस 9:1-13

मर्कूस 9:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यहाँ उभिएकाहरूमध्‍ये कोही-कोही छन्, जसले परमेश्‍वरको राज्‍य शक्तिमा आएको नदेखुञ्‍जेल कुनै किसिमले मृत्‍यु चाख्‍नेछैनन्‌। त्‍यसको छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई उहाँको साथ लिई एउटा उच्‍च पहाड़मा लैजानुभयो। त्‍यहाँ उहाँहरू मात्र हुनुहुन्‍थ्‍यो, अनि तिनीहरूका सामुन्‍ने उहाँको रूप बद्‌लियो। अनि उहाँका वस्‍त्र उज्‍ज्‍वल र अति सेता भए, यस्‍तो कि पृथ्‍वीमा कसैले पनि धोएर त्‍यतिको सेतो पार्न सक्‍दैन। त्‍यहाँ तिनीहरूकहाँ एलिया र मोशा देखा परे, र उनीहरू येशूसँग बातचीत गरिरहेका थिए। पत्रुसले येशूलाई भने, “गुरुज्‍यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्‍थान बनाऔं, एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।” तिनीहरू ज्‍यादै डराएको कारणले के भन्‍ने हो सो तिनले जानेनन्‌। अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्‍यो, र बादलबाट एउटा आवाज निस्‍क्‍यो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन।” अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्‍ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्‌। उहाँहरू पहाड़बाट ओर्लंदैगर्नुहुँदा येशूले तिनीहरूलाई “मानिसको पुत्र मृतकबाट पुनरुत्‍थान नहोउञ्‍जेल तिनीहरूले जे देखेका थिए त्‍यो कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो। तिनीहरूले त्‍यो कुरा आफ्‍नो मनमा राखे, तर मृतकबाट पुनरुत्‍थान हुनु भनेको के हो भनी आपसमा बातचीत गर्न लागे। अनि तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “पहिला एलिया आउनुपर्छ भनी व्‍यवस्‍थाका शास्‍त्रीहरू किन भन्‍छन्‌?” येशूले भन्‍नुभयो, “निश्‍चय नै, एलिया पहिले आउँछन्, र सबै कुराको पुनर्स्‍थापना गर्छन्‌। तर मानिसको पुत्रले धेरै कष्‍ट भोगेर अरूबाट तिरस्‍कृत हुनेछ भनी कसरी धर्मशास्‍त्रमा लेखिएको छ त? तर म तिमीहरूलाई भन्‍दछु, एलिया आइसकेका छन्, र उनको विषयमा लेखिएबमोजिम उनीसँग जे मन पर्‍यो तिनीहरूले त्‍यसै गरे।”

शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्

मर्कूस 9:1-13 नेपाली समकालीन संस्करण (NCV)

अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य शक्‍तिसित आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।” अनि छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र यूहन्‍नालाई लिनुभयो, अनि तिनीहरूलाई एउटा अग्लो पर्वतमा लैजानुभयो, जहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। त्यहाँ तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो। उहाँको वस्त्र चहकिलो सेतो भयो; अर्थात् संसारमा कसैले धोएर सेतो बनाउनै नसक्ने गरी सेता भए। अनि त्यहाँ तिनीहरूका सामुन्‍ने एलिया र मोशा देखा परे; उनीहरू येशूसित कुरा गरिरहेका थिए। अनि पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीं रहनु असल छ। हामी तीनओटा वासस्थान बनाऔं; एउटा तपाईंको लागि, एउटा मोशाको लागि अनि एउटा एलियाको लागि।” तिनीहरू यति साह्रो डराएका थिए, के भन्‍ने हो सो तिनले जानेनन्। तब बाक्लो बादल देखा पर्‍यो र तिनीहरूलाई ढाक्यो, अनि बादलबाट यसो भन्‍ने आवाज आयो: “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु, यिनको कुरा सुन!” अचानक जब तिनीहरूले चारैतिर हेरे, तिनीहरूले आफूसित येशूबाहेक अरू कसैलाई पनि देखेनन्। उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले तिनीहरूलाई तिनीहरूले देखेका कुरा, मानिसका पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो। तिनीहरूले “मरेकोबाट जीवित हुनु” भनेको के हो भन्‍ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे। अनि तिनीहरूले उहाँलाई सोधे, “किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?” येशूले जवाफ दिनुभयो, “अवश्य, एलिया पहिला आउनेछन्, अनि सबै कुरा पुनर्स्थापन गर्नेछन्। त्यसो भए किन मानिसका पुत्रले धेरै कष्‍ट भोग्नुपर्छ, अनि तिरष्कृत हुनुपर्छ भनी लेखिएको? तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, अनि जस्तो तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”

शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्

मर्कूस 9:1-13 पवित्र बाइबल (NERV)

त्यसपछि येशूले भन्नुभयो, “म तिमी हरूलाई साँच्चो भन्दछु, यहाँ उभिरहेका मध्ये कोही मानिसहरूले मर्नभन्दा अघिबाटै परमेश्वरको राज्य आएको देख्नेछन्। परमेश्वरको राज्य शक्तिमा आएको देख्नेछन्।” छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बद्लियो। येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन। जब तिनीहरूले हेरिरहेका थिए दुइजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशूसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए। पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।” के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफैं र अरू दुइजना चेलाहरू डराएका थिए। त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!” अचानक जव पत्रुस, याकूब र यूहन्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येशू मात्र उनीहरूसित थिए। येशू अनि चेलाहरू डाँडाबाट ओर्लंदै हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नु। मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म पर्ख। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौ ती मानिसहरूलाई भन्न सक्छौ।” तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरीनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए। तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?” येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन् अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछन्। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन् तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा ऊमाथि यस्तै घट्नाहरू हुनेछ भनेर लेखिएको छ।”

शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्

मर्कूस 9:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अनि येशूले अझै भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍य ठूलो शक्तिमा आएको नदेखेसम्‍म यहाँ हुनेहरूमध्‍ये कति जनाचाहिँ मर्नेछैनन्।” छ दिनपछि येशू पत्रुस, याकूब र यूहन्‍नालाई मात्रै साथमा लिएर एउटा अग्‍लो पहाडमा जानुभयो। अनि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप नै बदलियो। उहाँको लुगा यति चम्‍किलो सेतो भयो कि सफासँग धोए पनि संसारमा कसैले पनि त्‍यस्‍तो सेतो पार्न सक्‍नेथिएन। त्‍यसै बेला मोशा र एलिया देखा परे र येशूसँग कुरा गर्न लागे। यो देखेर पत्रुसले येशूलाई भने, “गुरु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। हामीले यहाँ तीन वटा छाप्रो बनाऔं है, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!” पत्रुस र अरू चेलाहरू डरले आतिएका हुनाले पत्रुसलाई के भनूँ के भनूँ भएको थियो। त्‍यतिखेर बादल आयो र त्‍यसको छायाँले उहाँहरूलाई ढाक्‍यो। अनि बादलभित्रबाट एउटा आवाज आयो, “यिनी मेरा प्‍यारो पुत्र हुन्, यिनले भनेको तिमीहरूले मान!” यस्‍तो भनेको सुनेर चेलाहरूले यताउति हेर्दा त कसैलाई पनि देखेनन्। तिनीहरूसँग त येशू मात्र हुनुहुन्‍थ्‍यो। ओरालो झर्दैगर्दा येशूले चेलाहरूलाई भन्‍नुभयो, “म मानव पुत्र मरेर नबिउँतिएसम्‍म आज देखेका कुरा तिमीहरूले कसैलाई पनि नभन्‍नू!” तिनीहरूले उहाँले भनेको माने तर आपसमा चाहिँ यस्‍ता कुरा गर्न लागे, “मरेर बिउँतनु भनेको यो के हो?” अनि येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्‍छन्?” येशूले भन्‍नुभयो, “साँच्‍चै हो, एलिया पहिले आएर सबै कुरा सच्‍याउनु नै पर्नेछ। त्‍यसो हुँदा मानव पुत्रले धेरै दु:ख सहनु र सबैबाट त्‍यागिनुपर्छ भन्‍ने कुराचाहिँ धर्मशास्‍त्रमा किन लेखिएको होला? हेर, म तिमीहरूलाई भन्‍छु, एलिया त आइसकेका छन्। उनको बारेमा धर्मशास्‍त्रमा लेखिएअनुसार मानिसहरूले उनलाई जे मन लाग्‍यो, त्‍यही गरे।”

शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्