मर्कूस 8:22-26
मर्कूस 8:22-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे। उहाँले त्यस अन्धो मानिसको हात समातेर त्यसलाई गाउँबाट बाहिर ल्याउनुभयो, र त्यसका आँखामा थुकेर त्यसमाथि आफ्ना हात राखी त्यसलाई सोध्नुभयो, “के तिमी केही देख्छौ?” अनि माथितिर हेरेर त्यसले भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँड़िरहेका देख्छु।” तब उहाँले फेरि त्यसका आँखामा हात राख्नुभयो, र त्यसले एक टक लाएर हेर्यो। त्यसले आफ्नो दृष्टि प्राप्त गर्यो र सबै थोक छर्लङ्ग देख्न लाग्यो। तब उहाँले त्यसलाई गाउँतिर नपस्ने हुकुम गरी त्यसको घरमा पठाउनुभयो।
मर्कूस 8:22-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एक जना दृष्टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन बिन्ती गरे। येशूले त्यस दृष्टिविहीन मानिसलाई आफ्नो हातमा समातेर गाउँदेखि बाहिर लानुभयो। जब उहाँले त्यसको आँखामा थुकेर आफ्ना हात त्यसमाथि राख्नुभयो, र सोध्नुभयो, “के तिमीले केही देख्यौ?” त्यसले मास्तिर हेरेर भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।” येशूले आफ्ना हात फेरि एक पल्ट त्यस मानिसको आँखामा राख्नुभयो। तब त्यसका आँखाहरू खोलिए, त्यसको दृष्टि फर्केर आयो; अनि त्यसले सबै थोक स्पष्टसँग देख्यो। येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, “गाउँमाचाहिँ जाँदै नजाऊ।”
मर्कूस 8:22-26 पवित्र बाइबल (NERV)
येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे। अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानु भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अंन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?” उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।” फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो। येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”
मर्कूस 8:22-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू चेलाहरूसँगै बेथसेदामा आइपुग्नुभयो। त्यहाँ मानिसहरूले एउटा अन्धोलाई उहाँकहाँ ल्याएर “यसलाई छोइदिनुहोस्,” भनी बिन्ती गरे। येशूले त्यस अन्धो मानिसलाई डोर्याउँदै गाउँदेखि बाहिर ल्याउनुभयो। अनि उसको आँखामा थुकी आफ्नो हात उसमाथि राखेर सोध्नुभयो, “केही देख्न सक्छौ?” उसले फेरि हेर्दै भन्यो, “मानिसहरूलाई देख्न त देख्दै छु, तर तिनीहरू रूख हिंडेजस्ता पो देखिन्छन्।” येशूले फेरि उसको आँखा आफ्नो हातले छुनुभयो। अनि त्यस मानिसले नियालेर हेर्दा सबै कुरा छर्लङ्गै देख्न सक्यो। त्यसपछि येशूले उसलाई घर पठाउँदै भन्नुभयो, “यस गाउँमा फेरि नपसी सरासर घर जाऊ।”