YouVersion लोगो
खोज आइकन

मर्कूस 7:1-13

मर्कूस 7:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यरूशलेमबाट आएका फरिसीहरू र शास्‍त्रीहरू येशूका चारैतिर भेला भए। येशूका कतिपय चेलाहरूले अशुद्ध हात, अर्थात्‌ नधोएको हातले खाएका तिनीहरूले देखे। फरिसीहरू र सबै यहूदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्‍पराअनुसार हात नधोई भोजन खाँदैनन्‌। बजारबाट आएपछि स्‍नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्‌। यति मात्र होइन, तिनीहरूले यस्‍ता धेरै अरू परम्‍परा मान्‍दछन्, अर्थात्‌ कचौराहरू, भाँड़ाहरू र काँसोका भाँड़ाहरू धुने परम्‍परा। तब फरिसीहरू र शास्‍त्रीहरूले उहाँलाई सोधे, “तपाईंका चेलाहरू पितापुर्खाले राखिदिएका परम्‍परामा किन चल्‍दैनन्, तर अशुद्ध हातले खान्‍छन्‌?” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्‍तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ। तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌।’ तिमीहरू परमेश्‍वरको आज्ञालाई त्‍यागेर मानिसहरूका परम्‍परा मान्‍छौ।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ। किनभने मोशाले भनेका छन्, ‘आफ्‍ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्‍ट कुरा बोल्‍छ त्‍यो मारिनैपर्छ।’ यदि कुनै मानिसले आफ्‍ना बुबा वा आमालाई ‘मबाट जे-जति मद्दत तपाईंहरूलाई मिल्‍नुपर्ने त्‍यो कुर्बान हो,’ (अर्थात्‌ परमेश्‍वरलाई चढ़ाइएको) भन्‍छ भने, तिमीहरू त्‍यसलाई आफ्‍ना आमा-बुबाको निम्‍ति फेरि केही गर्न दिँदैनौ। यसरी तिमीहरू आफ्‍नो चलिआएको परम्‍परालाई कायम राखेर परमेश्‍वरको वचनलाई चाहिँ रद्द तुल्‍याउँछौ। अनि यस्‍तै अनेक कामहरू तिमीहरू गर्दछौ।”

शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्

मर्कूस 7:1-13 नेपाली समकालीन संस्करण (NCV)

एक दिन यरूशलेमबाट आएका फरिसी र व्यवस्थाका केही शिक्षकहरू येशूका चारैतिर भेला भए। अनि उहाँका केही चेलाहरूले अशुद्ध हात अर्थात् नधोइएका हातहरूले भोजन खाइरहेका देखे। (फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्। जब तिनीहरू बजारबाट आउँछन्, तिनीहरू स्‍नान नगरी खाँदैनन्। अनि तिनीहरू कचौरा, जग, कित्लीहरू पखाल्ने जस्ता अरू धेरै किसिमका परम्परा मान्दछन्।) यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?” उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठीक भनेका थिए; जस्तो लेखिएको छ: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि टाढो छ। तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, तिनीहरूका शिक्षा खाली मानवीय नियम मात्र हुन्।’ तिमीहरू परमेश्‍वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।” अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्‍वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ! किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’ अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’ तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुरबान हो’ अर्थात् परमेश्‍वरलाई चढाइसकिएको भेटी भनेर, अनि तिमीहरू त्यसलाई आफ्नो बुबा वा आमाको लागि केही गर्न दिँदैनौ। यसरी तिमीहरूले आफ्नो चलिआएको परम्पराद्वारा परमेश्‍वरको वचनलाई व्यर्थको तुल्याउँछौ। अनि तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”

शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्

मर्कूस 7:1-13 पवित्र बाइबल (NERV)

फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए। तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)। फरिसीहरू र सबै यहूदीहरूले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरू आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्। यहूदीहरूले बजारमा केहि चिजहरू किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि। यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ। यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन्: ‘यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्। तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ, किनभने तिनीहरूले सिकाएका कुराहरू, केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’ तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ। मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ।’ फेरि उनले भनेका छन् ‘कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।’ तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु। तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन। यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यस्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”

शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्

मर्कूस 7:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यरूशलेम सहरबाट आएका फरिसी र धर्म-गुरुहरू येशूको वरिपरि भेला भए। अनि येशूका कुनै-कुनै चेलाहरूले हात नधोई खाइरहेका तिनीहरूले देखे। अर्थात् ती चेलाहरूले इस्राएलीहरूका रीतिथितिअनुसार हात चोख्‍याउने काम नगरी खाइरहेका थिए किनभने फरिसीहरू र सबै इस्राएलीहरू आफ्‍ना पुर्खादेखि चलिआएका शिक्षा मानेर हात नचोख्‍याई खाँदैनन्। बजारबाट आएपछि पनि तिनीहरूले आफूलाई नचोख्‍याई केही खाँदैनन् अनि अरू धेरै रीतिथितिहरू पनि मान्‍छन्, जस्‍तै: थाल, बटुका, भाँडा-कुँडा पनि नचोख्‍याई चलाउँदैनन्। त्‍यसैकारण फरिसी र धर्म-गुरुहरूले येशूलाई सोधे, “किन तपाईंका चेलाहरू पुर्खाको चलनलाई नमानेर हातै नचोख्‍याई खान्‍छन्?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यशैया अगमवक्ताले लेखेका यो कुरा तिमी कपटीहरूलाई ठ्याक्‍कै मिल्‍छ– ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्, तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ। तिनीहरूले मलाई पुजेको त व्‍यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएका नियमहरू मात्र सिकाउँछन्,’ साँच्‍चै तिमीहरूले परमेश्‍वरका धार्मिक आज्ञालाई पन्‍छ्याएर मानिसहरूको रीतिथिति पो मान्‍छौ।” येशूले अझै भन्‍नुभयो, “अँ, तिमीहरू कति सिपालु भएर आफ्‍ना रीतिथिति चलाउन परमेश्‍वरको आज्ञालाई पन्‍छ्याइराख्‍छौ। जस्‍तो, मोशाले दिएका यी आज्ञा त छँदैछन्– ‘आफ्‍ना आमा-बुबाको आदर गर्नू।’ अनि ‘आफ्‍ना आमा-बुबालाई सराप्‍नेलाई चाहिँ ज्‍यान सजाय दिनू।’ तर तिमीहरूले भने यस्‍ता कुरा सिकाउँदा रहेछौ– कसैले आफ्‍नो आमा-बुबालाई, ‘हेर्नुहोस् तपाईंहरूले मबाट पाउने कुरा ‘कुर्बान’ हो अर्थात् ‘यो कुरा मैले परमेश्‍वरलाई नै चढाइसकें’ भन्‍यो भने त्‍यसले चाहिँ आफ्‍ना आमा-बुबाको सेवा गर्नुपर्दैन भनेर त्‍यसलाई रोक्‍छौ! यसरी तिमीहरू आफ्‍ना रीतिथितितिर लागेर परमेश्‍वरको आज्ञालाई बेकामको ठान्‍छौ अनि त्‍यस्‍ता अरू धेरै कुरा तिमीहरूले गरिरहेका छौ।”

शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्