YouVersion लोगो
खोज आइकन

मर्कूस 4:30-41

मर्कूस 4:30-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरका राज्‍यको तुलना केसँग गरौं? अथवा कुन दृष्‍टान्‍तमा यसको व्‍याख्‍या गरौं? यो त रायोको बीउको दाना जस्‍तो छ, जो जमिनमा छरिन्‍छ। पृथ्‍वीभरिमा सबै बीउहरूमा साना भए तापनि जब त्‍यो छरिन्‍छ, तब त्‍यो बढ्‌छ, र सबै सागपातहरूभन्‍दा त्‍यो ठूलो हुन्‍छ, र त्‍यसले ठूला-ठूला हाँगाहरू हाल्‍छ, र आकाशका पक्षीहरूले त्‍यसका छहारीमा गुँड़ लाउँछन्‌।” तिनीहरूले बुझ्‍न सकेसम्‍म उहाँले यस्‍तै धेरै दृष्‍टान्‍तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो। दृष्‍टान्‍तविना उहाँ तिनीहरूसँग बोल्‍नुभएन, तर आफ्‍ना निज चेलाहरूलाई उहाँले गुप्‍तमा सबैको अर्थ खोलिदिनुहुन्‍थ्‍यो। त्‍यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।” अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्‍नुभएको थियो त्‍यसैमा उहाँलाई चेलाहरूले आफ्‍नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए। अनि त्‍यहाँ ठूलो हुरी-बतास चल्‍यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्‍म कि डुङ्गा पानीले भरिन लाग्‍यो। उहाँ आफैचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्‍दै बिउँझाए, “गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं भन्‍ने के तपाईंलाई वास्‍ता छैन?” तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्‍काउनुभयो, र समुद्रका छालहरूलाई भन्‍नुभयो, “शान्‍त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्‍नाटा छायो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्‍छौ? तिमीहरूमा विश्‍वास छैन?” तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्‍न लागे, “यिनी को हुन्‌? बतास र समुद्रले पनि यिनको हुकुम मान्‍छन्‌।”

शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्

मर्कूस 4:30-41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

उहाँले फेरि भन्‍नुभयो, “हामी परमेश्‍वरको राज्यको तुलना केसँग गरौँ? अथवा यसलाई वर्णन गर्नलाई हामीले कुन दृष्‍टान्त प्रयोग गरौँ? यो एउटा रायोको बिउजस्तो हो, जुन माटोमा रोपिने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ। तैपनि रोपेपछि यो बढेर बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो हुन्छ, जसका हाँगाहरू ठूला हुन्छन्, र चराचुरुङ्गीहरू यसको छहारीमा गुँड बनाएर बस्छन्।” यस्ता अरू धेरै दृष्‍टान्तहरूद्वारा येशूले तिनीहरूलाई बुझ्न सक्नेअनुसार वचनहरू सुनाउनुभयो। उहाँले तिनीहरूसित दृष्‍टान्तहरू प्रयोग नगरी केही भन्‍नुभएन; तर उहाँ आफ्ना चेलाहरूसित एकलै हुँदा तिनीहरूलाई सबैको अर्थ बताइदिनुहुन्थ्यो। त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी पारिपट्टि जाऔँ।” अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्‍नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए। त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो। येशूचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्‍न?” उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्‍नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो। उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्‍वास छैन?” तिनीहरू निकै डराए, र आपसमा भने, “यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!”

शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्

मर्कूस 4:30-41 पवित्र बाइबल (NERV)

त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सक्छौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौं? परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ। तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगउँछन्।” येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो। मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो। त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।” येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए। समुद्रमा त्यस बेला डरलाग्दो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो। येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के तपाईं हाम्रो वास्ता गर्नुहुन्न?” तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस! शान्त हो!” अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो। येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझपनि विश्वास छैन?” चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”

शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्

मर्कूस 4:30-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“फेरि परमेश्‍वरको राज्‍य अरू केसँग दाँजौं? कुन दृष्‍टान्‍त भनेर यसबारे बुझाऊँ? यो यस्‍तो छ। रायोको बीउ संसारमा सबैभन्दा सानो बीउ हो। एउटा मान्‍छेले त्‍यो बीउ बारीमा रोप्‍छ। त्‍यो केही दिनमै बढेर सागपातहरूमा सबैभन्दा ठूलो बोट हुन्‍छ। यसले ठूला-ठूला हाँगाहरू फैलाउँछ र चरा-चुरुङ्गी आएर यसको हाँगा-बिँगामा गुँड बनाएर बस्‍छन्।” मानिसहरूले परमेश्‍वरको शिक्षा बुझ्‍न सकून् भनेर येशूले यस्‍तै धेरै दृष्‍टान्‍त बताउनुभयो। मानिसहरूलाई शिक्षा दिनुहुँदा उहाँले दृष्‍टान्‍त नभनी सिकाउनुभएन। तर आफ्‍ना चेलाहरू मात्रै भएको बेलामा चाहिँ उहाँले सबै दृष्‍टान्‍तको अर्थ बुझाइदिनुहुन्‍थ्‍यो। त्‍यही दिन बेलुकीपख येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “लौ हिंड, अब हामी तालको पारिपट्टि जाऔं।” चेलाहरू मानिसको घुँइचोलाई छोडेर येशू भएको नाउमा चढे अनि उहाँलाई लिएर पारि जान लागे। अरू नाउहरू पनि उनीहरूसँगै गए। अचानक तालमा ठूलो आँधी चल्‍यो र छालहरू उर्लिएर नाउ पानीले भरिन लाग्‍यो। येशूचाहिँ सिरानी हालेर नाउको पछाडिपट्टि निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई उठाएर भने, “गुरु, हामी त मर्न लाग्‍यौं, तपाईंलाई केही फिक्री छैन?” येशूले उठेर आँधी र छालहरूलाई हप्‍काउँदै भन्‍नुभयो, “शान्‍त भइजा! रोकिहाल्!” त्‍यति नै खेर आँधी थामियो र एकदमै शान्‍त भइहाल्‍यो। येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यसरी आतिएका? खै तिमीहरूको विश्‍वास?” अनि तिनीहरू अचम्‍म मानेर डराउँदै आपसमा भन्‍न लागे, “उहाँ को हुनुहुन्‍छ? आँधीबेहरी र छालले समेत उहाँको आज्ञा मान्‍दा रहेछन्!”

शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्