मर्कूस 15:22-27
मर्कूस 15:22-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए— गलगथाको अर्थ खोपड़ीको स्थान हो। अनि तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य दिए। तर उहाँले त्यो ग्रहण गर्नुभएन। तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अनि कसले कुन भाग पाउने सो निश्चय गर्न चिट्ठा हालेर तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँड़े। तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। उहाँको दोष-पत्रमा “यहूदीहरूका राजा” भन्ने लेखिएको थियो। तिनीहरूले उहाँसँग दुई जना डाँकूहरू क्रूसमा टाँगे— एउटालाई उहाँको दाहिनेपट्टि, र अर्कालाई उहाँको देब्रेपट्टि।
मर्कूस 15:22-27 नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउनुभएन। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले उहाँको वस्त्रहरूका लागि कसले के पाउँदोरहेछ भनेर चिट्ठा हालेर ती भाग गरे। तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा। तिनीहरूले उहाँसित दुई डाँकूहरूलाई पनि क्रूसमा टाँगे, एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।
मर्कूस 15:22-27 पवित्र बाइबल (NERV)
तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”) गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन। तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे। तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो। येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।” तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए।
मर्कूस 15:22-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा लगे। गलगथा भनेको चाहिँ ‘खप्परे ठाउँ’ हो। त्यहाँ पुगेर तिनीहरूले येशूलाई मूर्र मिसाएको दाखमद्य दिए। तर येशूले पिउनुभएन। त्यसपछि तिनीहरूले येशूलाई किला ठोकेर क्रूसमा झुण्ड्याए। उहाँको लुगाहरू कस-कसको भागमा पर्ने हो भनेर तिनीहरूले चिट्ठा हालेर बाँडे। येशूलाई क्रूसमा झुण्ड्याउँदा बिहानको नौ बजेको थियो। उहाँलाई दोष लाएको कुरा क्रूसमा यसरी लेखिएको थियो— ‘यहूदीहरूका राजा’। येशूलाई झुण्ड्याउँदा तिनीहरूले दुई जना डाकुहरूलाई पनि येशूको दाहिने र देब्रेपट्टि क्रूसमा झुण्ड्याए।